
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न तयार गरिएको शान्ति सम्झौतामा आफू सहभागी हुने वा नहुने विषयमा अझै निर्णय नगरेको बताएका छन्।
फ्रान्समा आयोजित जी–७ शिखर सम्मेलनका क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँगको संयुक्त उपस्थितिमा ट्रम्पले उक्त जानकारी दिएका हुन्।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “यो परिस्थितिमा भर पर्छ। म सहभागी हुन सक्छु, नहुन पनि सक्छु।” उनले उपराष्ट्रपति जेडी भान्स सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी हुन सक्ने संकेत पनि दिए।
ट्रम्पले अमेरिका र इरानबीच भएको भनिएको सम्झौताप्रति आशावाद व्यक्त गरे पनि यसको सफलता पूर्ण रूपमा निश्चित नभएको बताए। “हामीबीच राम्रो सम्बन्ध बनोस् भन्ने आशा छ। यदि त्यसो भएन भने, फेरि पहिलेको अवस्थामै फर्किन सक्छौं,” उनले भने।
जी–७ सम्मेलनमा बोल्दै ट्रम्पले मध्यपूर्वमा सकारात्मक परिवर्तन आउन सक्ने विश्वास व्यक्त गरे। उनका अनुसार सम्भावित शान्ति सम्झौताले विश्व ऊर्जा बजारमा पनि प्रभाव पारिरहेको छ। उनले तेलको मूल्य घट्न थालेको र शेयर बजार तीव्र रूपमा बढिरहेको दाबी गरे।
ट्रम्पले पछिल्ला दुई रात भएको सैन्य कारबाहीप्रति दुःख व्यक्त गर्दै अब शान्तिपूर्ण सम्बन्धको अपेक्षा गरेको बताए। “हामीले फेरि आक्रमण गर्नुपरेकोमा मलाई नराम्रो लागेको छ। अब राम्रो सम्बन्ध बन्ने आशा छ,” उनले भने।
यसैबीच, अमेरिकी सेनाले शुक्रबार कार्यान्वयन हुने भनिएको युद्धविराम सम्झौता पूर्ण रूपमा लागू नभएसम्म इरानी बन्दरगाहतर्फ जाने जहाजहरूमाथिको नाकाबन्दी यथावत रहने जनाएको छ।
व्यापारिक जहाजहरूलाई जारी गरिएको सूचनामा स्पष्ट निर्देशन नआएसम्म इरानी बन्दरगाहतर्फ नजान आग्रह गरिएको छ। जहाजका कप्तानहरूलाई आफ्ना चालक दलको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन पनि भनिएको छ।
अमेरिकी सेनाले नाकाबन्दी कार्यान्वयन गर्ने निकायको निर्देशन पालना गर्न चेतावनी दिँदै उल्लङ्घन गरेमा कडा कारबाही हुन सक्ने जनाएको छ।
यता, ट्रम्प फ्रान्स पुग्नुअघि आइतबार ह्वाइट हाउसमा आयोजित यूएफसी कार्यक्रममा आफ्नो ८०औँ जन्मदिन मनाएका थिए।
प्रतिक्रिया