तुलसीको ‘दिनभरि पानी परिरहन्छ’मा प्रयोग

इनेप्लिज २०८३ जेठ २६ गते १०:४७ मा प्रकाशित

‘दिनभरि पानी परिरहन्छ’का कवि डा.तुलसी आचार्यको जन्म अक्टुबर १, २०८१, मधुमल्ला—८, मोरङ्ग, नेपालमा भएको हो । उनले सन् २००३ मा अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरे । सन् २००८ मा अमेरिका आएका हुन् । उनले केनेसज स्टेट विश्वविद्यालयबाट प्राफेशनल राइटिङ्गमा स्नातकोत्तर सन् २०१०, र महिला अध्ययनमा स्नातकोत्तर २०१२, फ्लोरिडा एटलान्टिक विश्वविद्यालयबाट सार्वजनिक प्रशासन विषयमा विद्यावारिधि सन् २०१९, तथा जर्जिया कलेजबाट क्रिएटिभ राइटिङ्गमा एमएफए सन् २०२५ मा हासिल गरेका छन् । उनका दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । अंग्रेजी पुस्तक चगललष्लन running from the dreamland, Like Water on Leaves of Taroतथा नेपाली उपन्यास मोचन र स्वप्नभूमि चर्चित छन् । उनले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट अनेसास होमनाथ सुवेदी डायस्पोरा वाङ्मय उत्कृष्ट साहित्य पुरस्कार प्राप्त गरेका छन् । नेपालमा भएको नै बेला युनिभर्सल कलेज र अन्य कलेजमा अङ्ग्रेजी तथा पत्रकारिता पढाएका थिए र समावेसी नामक पत्रिका सम्पादन गरी कतिपय पुस्तकहरू पनि प्रकाशन गरिसकेका थिए । त्यसैले अमेरिका आएपछि पनि लेखन र प्रकाशनमा निरन्तरता उत्प्रेरित गरिरह्यो ।

यो पृष्ठभूमिका लेखकको यो कृतिमा डायस्पोराको चेतना नहुने त कुरै भएन । विचारमा प्रयोगवादको छाप पाइन्छ । डा.तुलसी आचार्यको ‘दिनभरि पानी परिरहन्छ’ कविता सङ्ग्रह— रूढ परम्पराको विरुद्ध, शाश्वत सत्यको विरुद्ध, कल्पित आदर्शको विरुद्ध— नवपर्वतन, परिवर्तनशील सत्य र व्यावहारिक यथार्थको बुलन्द आबाज बोकेर ध्वनि, व्यञ्जना र शब्दचित्रको नवीनतम रीतिमा छापिको छ । यो विधिमा दुर्बोधता यौटाकलङ्क हो तर यो कृतिमा त्यसको परिहार गरिएको छ । सुबोध छ र पाठकमा रुचि जगाउने र शिक्षाप्रद पनि छ । अलिकति स्तरीय कृतिमा शब्दचित्र र अर्थगाम्भीर्य त हुन्छ नै यसको लागि त पाठक पनि आधिकारिक अध्येता हुनैपर्छ । यसमा कुनै विवाद भएन । डा.तुलसी आचार्यको ‘दिनभरि पानी परिरहन्छ’ कविता सङ्ग्र, अनेसासको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, कोलोराडोमा गत मई २३, २०२६ को दिन विमोचन भएको थियो ।

‘दिनभरि पानी परिरहन्छ’मा ५ खण्ड छन्—परम्परा, संस्मरण, प्रबन्ध, शब्दचित्र, छोटा कविता । यिनमा क्रमशः २६, २०, ७, ९, १३ गरी जम्मा ७५ वटा कविता छन् । १५१ पानाको पुस्तक यौटा यौटा फर्काएर पढ्दापढ्दै पाना सकिन्छन् । लेखकको भाषामा भएको दखल र दर्शनमा भएको नवीनतम चिन्तनका दीपशिखामा दन्किएको नयाँ यथार्थ सत्यले पाठकको मन नतान्ने कुरै भएन । पुस्तक खोजी खोजी अध्ययन गर्न लायक छ ।

प्रयोग, प्रयोग र प्रयोगैले एलेनमस्कको स्टारलिङ्कको नवौँ रकेट लक्ष्य भेद गरेर पनि आएर आफ्नै गराजमा छुपुक्क चरो जस्तै बस्न सक्यो । असफल भए त्यसबाट नयाँ सत्यको खोज गर्दै जानुपर्छ । यो यो कविको पनि आदर्श हो । कविको आफ्नो आत्मस्वीकृति छ—

एउटा सपना छ — यस्तो कर्म गर्न सकौँ

जसले मान्छेको आँसु पुछ्न सकोस्, भरोसाको भ¥याँङ बनोस्

यस्तो कृति लेख्न सकौँ जसले मान्छेमा आस ल्याओस्

विश्वास बढाओस्, यस्तो विचार जन्माउन सकौँ

जसले समाजको जडतालाई जरैसँग उखेल्न सकोस् ।

—एउटा सपना छ

यो कविको काव्य सिर्जनाको उत्प्रेरक शक्ति पनि हो । कविले जीवन र कवितामा धेरै प्रकारका प्रयोग गर्दै आएका छन् र यो कृति पनि प्रयोगशील नै । त्यसैले यो नवीनतम लाग्छ । मलाई लाग्छ पेगको भित्रयौटा लाग्ने कविता भरिएको छ । त्यसैमा डुब्छु, स्कच जस्तै लाग्छ कविता पेगमा भरिएको, पिउन नसक्नेलाई त नपचेर वाक्क आउला यो दुरुहता नै पाठकको स्तरको परीक्षा पनि हो । कविता स्वभावैले बौद्धिक खेल हो । वाइनको प्यालामा कविताको नमुना—नयाँ वर्षको सङ्कल्प—

शब्दचित्र खण्डमा प्रयोगको स्पष्ट आकार र सार दुवै छर्लङ्ग देखिन्छ । ‘जब कवि जेल पर्छ’ कवितामा यौटै चार हरफको गद्यको यौटै पूर्णविराममा कविता सकिन्छ । अर्थको घनत्त्व यसमा चुलिएको छ । ‘क्यान्भासमा एक सुन्दर नारीकोचित्र’ कवितामा सीमान्तकृत नारीको शब्द र विभिन्न आकार र अवस्थितिमा राखेर प्रस्तुत गरिएको यो कविता र शब्द, अर्थ र चित्रात्मक विचित्रता प्रयोगपरक छ । प्रयोगशील कविताको अनुपम नमुनहो यो कविता ‘कोही बाँचोस् त धुपीको बोट जस्तो’ । कविताको आकार प्रकार पनि धुपीको नै बोट जस्तो बनाएर प्रयोग गरिएको छ । प्रयोगवादी साहित्यमा पाइने यो शैली अत्यन्त आकर्षक छ । मानवमा पनि सदा ठाडो शिर गरेर र हरियो नै बनेर बाँच्ने कामना धुपीको बोटको काव्यचित्रमा पारदर्शी बनेर अवतरित भएको छ ।

‘गर्भभित्रकी छोरीलाई बाउको सम्बोधन’ कवितामा चित्र त छँदै छ, त्यो त काव्यचित्र सँस्कृतमा नै पनि थियो तर यहाँ बिम्बको रूपमा शब्द र वाक्यको रखाइमा पनि गर्भभित्रको बालक जस्तै देखाएको छ । यी शब्द र चित्रका प्रयोग भए । यिनैमा अर्थचित्रको व्याप्ति छ, घनत्व छ । घटना देखाएरपछि त्यसको फलको स्वतन्त्रताको उद्घोष गर्दछन् कवि । जनतान्त्रिक, सामाजिक विचार बोकेको छ यो कविताले । ‘कान्छी’ कविता रोमान्टिक छ तर यो पनि रोमान्सेली कविताभन्दा प्रयोगवादी कविता नै हो । प्रस्तुति चित्राकारमा नै छ यद्यपि परम्पराभिन्न देखिन्न । प्रेम यौटा व्यबहार (Performance) को रुपमा प्रस्तुत छ । कुनै ईश्वरीय शक्तिको कारण होइन । स्वास्थ्यमा ‘आँसु’ पनि यौटा क्याथर्सिस हो । ‘आँसु’ कविताको लेखन पिरामिड शैलीमा छु । अरबका खाडीमा ठिङ्ग उभिएका पिरामिड जस्तै तलेजु भवानीको मन्दिर जस्तै भवानीको सार हैन आकार जस्तै पाठन नगर्दै यौटा उत्तेजना दिइसक्छ, र पाठकलाई कविता पढ्न उत्प्रेरित गर्दछ । कविताको आत्मा पुष्ट हुँदै जादा कविताको गज पनि बढ्दैजान्छ । जब खडेरी पर्छ र आत्मा सञ्कुचित हुन्छ त्यो प्रसङ्गमा कविताको धाड सुक्छ — केवल यौटा शब्द शेषरहन्छ ‘झर्छन्’ । ती ऑसुको विरेचनले नै शीतलता दिन्छ, निराशाले पनि आशाको दियो बाल्छ अनि कविताको गज बढ्छ धाड फुक्दै जान्छ र ढम्म बस्छ । झन्डै सिँगारिएको क्रिस्मस ट्री जस्तै । अनि साधारणीकरण गर्दछन् आँसु जीवनको क्याथर्सिस हो । अक्षर, शब्द र वाक्यको रखाइ र अर्थको बिच कन्क्रिट अनुबन्धन गरिएको छ । प्रयोजनपरक कविताको उल्लेख्य विशेषता हो यो । ’भत्किएको म‘ कविता हस्तलिखित छ र त्यसमा पनि विभिन्न फन्टका विभिन्न साइजका अक्षर र शब्दको तालमेल र सङ्गठनले प्रस्तुतिलाई आलङ्कारिक र बिम्बमय बनाएको छ । ‘बूडो उमेर’ यो ईश्वरीय हैन कवि तुलसीको कलाले उमारेको तुलसीको बोट हो । ‘बूडो उमेर’ शीर्षक भएका दुईवटा कविता छन् । यौटाशब्दचित्र खण्डभित्र अर्को छोटा कविताको खण्डभित्र । यौटै कविता पनि शब्दचित्रमा कस्तो देखिन्छ, परम्परतिमा कस्तो देखिन्छ भन्ने उदाहरण पनि होतर अर्थले त दुवै ठाउँका कविताले बूढो उमेर वेद जस्तै देखिन्छ । वेद यौटा मिथकीय बिम्ब हो । यसको आधारमा यो कविताको धेरै प्रकारका प्राप्तिको व्याख्या गर्न सकिन्छ । यो कविता शिक्षापरक पनि छ जोहन डिबीले भने जस्तै । वास्तवमा यो एक्सपेरिमेन्ट नै हो । सत्य सधैँ एकैनास हुदैन । यो परिर्तनशील हुन्छ । प्रयोग गरी समय र परिस्थितिको सापेक्षतामा उपयोगी प्रमाणित भएपछि त्यो सत्य हुन्छ । अप्रत्यक्ष रूपमा विद्यार्थी वा पाठकलाई दिने सन्देश पनि यही हो । कविले प्रयोगशील कविता लेखेर एकपटक नेपाली साहित्यमा अमेरिकाबाट नै डायस्पोरिक उपन्यास ‘स्वप्नभूमि’ लेखे र त्यसमा डायस्पोरा पुरस्कार पनि पाए जस्तै यो प्रयोगवादी सौन्दर्य शास्त्रको लागि यौटा गतिलो उदाहरण पनि पेश गरेका छन् । यस कृतिमा मन्तव्य लेख्नेहरूले पनि यस्तै सङ्केत गरेर भन्छन्— कङ्क्रिट पोइट्रीको शब्दचित्रजन्यप्रयोग गरी लेखिएका कवितामा आचार्यको काव्यसाधनाको फराकिलो पक्ष भेटिन्छ (डा.अभि सुवेदी) । यो नौलो प्रयोगले नेपाली कविताको परिभाषामा फेरबदलको सम्भावनालाई इङ्गित गरेको देखिन्छ (सुरेश हाचेकाली)। प्रस्तुत कविता—सँगालोमा तुलसी आचार्य प्रतिनिधि प्रयोगधर्मी कविका रूपमा उभिएका छन् । प्रचलित काव्यविधानलाई छाडेर नवीन वा अतिरिक्त काव्यसत्य चम्काउने उनको सत्प्रयास छ (राजकुमार बानियाँ)। यी कुरा कृति पढेर लेखिएका हुन् र सत्य हुन् । यति मलाई भन्न मन लाग्यो— अमेरिकामा अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकाले पनि उनलाई यो प्रयोगवाद र बिम्बवादको प्रयोगधर्मी बनायो । प्राग्मेटिज्मका जनक चाल्र्स सैन्डर्स पियर्स (Charles Sanders Peirce),, विलियम जेम्स (William James),, जोहन डेबी (John Dewey) हरूको साहित्य र शिक्षाको दर्शनलाई अँगालेका छन् । हुन त यो धारा हिन्दीमा पनि अज्ञेयले उतारेका थिए । तारसप्तक विविध खण्डमा प्रकाशित भए । तर छायाबादलाई पेलेर आएको यो वाद पनि दुर्बोध भयो भनेर आलोचित भएकै थियो । नेपालीमा आयामेली र मोहन कोइरालाको साहित्यमा पाइन्छ तर डा.तुलसी आचार्य शैली मात्र हैन दर्शनमा पनि व्यबहारवादी छन् । यौटा उनको कविता छ—

आमा भन्नुहुन्छ

‘छोरा तैँले ईश्वरको नाम ली’ ।

म भन्छु

खोइ कहाँ छ ईश्वर?

जति बेला खोलाले खेत बगायो र

हामीलाई सुकुम्बासी बनायो

खोइ कहाँ थियो ईश्वर?

—खोइ कहाँ थियो ईश्वर?

कविले आमालाई ‘ईश्वर छैन, आमा ! म नाम लिन्न!’ मात्र भनेर मन्जुर गराएको भए पनि हुन्थ्यो । तर त्यो त्यो विधि राम्रो मान्दैनन् । प्रयोगवादीहरू यी विधि मान्छन्— १.निगमात्मक तथा आगमनात्मक, २. सँस्लेषण तथा विश्लेषण, ३. वस्तु विधि, ४. दृष्टान्त विधि, ५. कथन, व्याख्यान ६. प्रश्नोत्तर ७. गरेर सिक्नु ८. शोध विधि । त्यसैले त धेरै घटना प्रतुत गरेर ईश्वर नभएको बाँच्न र प्रगति गर्न ईश्वरको भर पर्न नहुने कुराको पुष्टि गरेका छन् । तुलसीका कविताले आदर्श वा ईश्वरभन्दा यथार्थ व्यबहारिक सत्यको भाषा बोल्छन् । शब्दचित्र, बिम्ब प्रधानता र अर्थगाम्भीर्य यिनका कविताका विशिष्टता हुन् । नयाँ शिल्प, छन्दमुक्त कविता र आदर्शभन्दा आफू व्यक्तिमा विश्वास आचार्यका कविताका सोपान हुन् ।

परम्पराबाट मुक्त र नयाँ शैलीको पक्षमा कवि आचार्यको कविता बोल्छ—

एक छिन दिमाग दुखाऊ’ मैले भने

‘पूर्वाग्रह भत्काउन गाह्रो हुन्छ ।’

वर्षौँ भयो

मैले आफैले लेखनमा पूर्वाग्रह भत्काउन खोजेको ।

—लेखन कक्षको समय

परम्परा तोडेर र परम्परामा क्रमभङ्ग उपन्यासमा क्रमोच्छेद कथानक भएका अनुभूतिपरक साहित्य १९८१ देखि १९९०सम्म मैले पनि लेखेँ उपन्यास र परम्परावादी समालोचकहरुलाई भूमिकासम्म लेखाइनँ र प्रेस, प्रुफरिडर र सम्पादकलाई धेरै नियन्त्रण गर्नुपथ्र्यो कि नयाँ प्रयोगलाई गल्ती भएछ भनेर उनीहरुले सच्याएर परम्परावादी नै नबनाइदिउन् भनेर । नयाँलाई स्थापित हुन त्यसमा पनि साहित्यमा त पचाए पछि यसको स्वाद हदै मीठो हुन्छ । प्रयोगवादीहरु छरिए पनि शिक्षामा यसका मान्यताले दिगो स्थान बनाए पछि साहित्यमा सहजताको खोजी हुँदै गर्दा प्रयोगशील साहित्यले बेला बेलामा पुनर्जागरणको काम गरिरहेको हुन्छ । त्यही कामको प्रतिनिधित्व डा.तुलसीका कविताले गरेका छन् । यी कविताले पाठकलाई अमेरिका, बेलायत, भारत र नेपालका प्रयोगवादका तरङ्गहरूसित पौडिखेलाइदिन्छ । यी बिम्बात्मक कविता भावसम्वेद्य छन् । ध्वनि, गुणीभूत व्यङ्ग्य र चित्र कविता यसमा पाइन्छ । यो कविता सङ्ग्रहलाई गहिरिएर अध्ययन गर्ने हो भने त डायस्पोरा अध्ययनको क्षेत्र फराकिलो छ । प्रबन्ध कवितामा ल्याएर विधाभञ्जनको कथा नेपाली साहित्यसित अरू साहित्यको तुलनात्मक अध्ययन हुनसक्छ । स्मरण कविताको आफ्नै धारा छ । यस्ता विविध विषयमा यसको अध्ययन हुनसक्छ तर यो सानो लेखमा कवितामा प्रयोग र चित्रकविताको मात्र विवृत्ति दिइएको छ । कविता स्वान्तसुखाय पनि लेखिन्छ यदि त्यो अरूको लागि पनि स्वान्तसुखाय भयो भने त्यो साहित्य उपयोगी हुन्छ, यथार्थ हुन्छ त्यसैमा सत्यको उद्घोष हुन्छ जुन डा.तुलसी आचार्यको ‘दिनभरि पानी परिरहन्छ’ कृतिले आत्मसात् गरेको छ । डायस्पोराबाट सिर्जित यो कृतिको नेपाली साहित्यको मूलधारका समसामयिक साहित्यसित तुलनात्मक अध्ययन कुनै पनि अध्येताले गरेमा त्यो एकदम सराहनीय कार्य हुनेछ । प्रयोगवाद आफैमा उद्देश्य होइन बरु साधन हो । प्रयोगवाद अन्तर्शास्त्रीय शास्त्र हो र यो जीवनका हरएक पक्षमा लागुहुनसक्छ । त्यस्तै यो कविता सङ्ग्रह जीवनलाई अवलोकन गर्ने एक नयाँ प्रयोग हो । प्रयोग सर्वदा भैरहन्छन् । यौटै आकार र प्रकारमा रहनुपर्छ भन्ने छैन बरु प्रयोग, प्रयोग र प्रयोग भै नै रहन्छ । त्यस अर्थमा यो डा.तुलसी आचार्यको ‘दिनभरि पानी परिरहन्छ’ कृतिले समयको प्रवाहलाई समातेको छ । ऐले यो उपयोगी छ, शाश्वत सत्य भन्ने कुनै हुदैन, ऐले यो सत्य छ र शिव र सुन्दर पनि छ । स्वर, सङ्गीत, शब्दचित्रका बिम्बको झरीमा कवि रुझेका छन् र स्वतःस्फूर्त रूपमा हल्लिएका छन् । अमेरिका भए पनि त्यो मूलघरको आँगनमा यो डायस्पोरिक चेतनाले पाठकलाई पनि नेपाल फर्काउँछ र नेपाली जातीय पहिचानको झन्डा विश्वग्राममा दिगो राख्न उद्यत छ यो कविता सङ्गग्रह । त्यसैले यसको नामकरण पनि सार्थक छ ‘दिनभरि पानी परिरहेछ’ । यो अकविता हो, नवकविता हो, प्रयोगशील कविता हो । लेख्न पर्ने नोट त प्रशस्त थिए । यसमा ऐलेलाई यति मात्र । यो पढेपछि त अझ कवि तुलसी आचार्यको ‘स्वप्नभूमि’ उपन्यास पढ्न हतार लागिसक्यो !

1727 Horner Road, Woodbridge, VA 22191

[email protected]

06/05/2026

प्रतिक्रिया