सगरमाथामा हराएका दावा शेर्पा एक सातापछि जीवितै भेटिए

इनेप्लिज २०८३ जेठ २१ गते ९:४८ मा प्रकाशित

बेद प्रसाद घिमिरे

सगरमाथा आरोहण यामको अन्तिम समयमा सम्पर्कविहीन भएका ओखलढुंगाका दावा शेर्पा करिब एक सातापछि जीवितै फेला परेका छन्। ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–६ बन्से निवासी ५७ वर्षीय दावा शेर्पा, ‘हिलारी दावा’ नामले परिचित छन्।

दावा शेर्पा यही मे २८ तारिखमा दुई जना पोलिस आरोहीलाई सगरमाथा शिखरतर्फ लैजाने क्रममा माथिल्लो क्षेत्रमा पुगेका थिए। उनी Himalayan Traverse Adventure मार्फत परिचालित आरोहण टोलीसँग आबद्ध थिए भने व्यवस्थापनमा 8K Expeditions सँग सहकार्य गरिएको थियो।

प्राप्त जानकारीअनुसार दावा मूलतः दोस्रो शिविरका लागि खटाइएका कुक (भान्से) थिए। तर कम्पनीका नियमित माउन्टेन गाइड अनुपस्थित भएपछि उनलाई नै गाइडको जिम्मेवारी दिइएको बताइएको छ। यस विषयमा सम्बन्धित कम्पनीले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

मे २९ पछि उनी सम्पर्कमा नआएपछि सामाजिक सञ्जाल तथा पर्वतारोहण क्षेत्रमा उनको अवस्थाबारे चासो बढेको थियो। कतिपयले उनलाई दोस्रो शिविर आसपास देखेको बताएका थिए भने केहीले यलो ब्यान्ड क्षेत्रमा अन्तिम पटक देखिएको दाबी गरेका थिए।

यसबीच सगरमाथा प्रदूषण नियन्त्रण समितिले आधारशिविरदेखि दोस्रो शिविरसम्म राखिएका भर्याङ हटाइसकेको अवस्थामा दावा सम्पर्कविहीन भएको खबर बाहिर आएको थियो। उनका आफन्त तथा गाउँलेले सम्बन्धित कम्पनीले खोजीमा पर्याप्त चासो नदिएको आरोपसमेत लगाएका थिए।

लगभग जीवित फेला पर्ने सम्भावना न्यून मानिरहेका बेला बिहीबार बिहान उनी खुम्बु आइसफल क्षेत्रको क्रयाम्पन पोइन्ट नजिक आधारशिविरतर्फ घस्रिँदै आएको अवस्थामा फेला परेका हुन्। सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीहरूले उनलाई देखेपछि तत्काल उद्धार गरिएको बताइएको छ।

उद्धारपछि प्राप्त प्रारम्भिक विवरणअनुसार उनका हातका केही औँलामा हिउँले असर गरेको छ। अत्यधिक चिसो, अक्सिजनको कमी र लामो समयको शारीरिक संघर्षका बाबजुद उनी जीवितै रहन सफल हुनु पर्वतारोहण क्षेत्रकै लागि आश्चर्यजनक घटनाका रूपमा हेरिएको छ।

दावा शेर्पा यसअघि पनि गत वर्ष मनाङको चुली वेस्ट क्षेत्रमा केही दिन सम्पर्कविहीन भएपछि पुनः भेटिएका थिए। लामो समयदेखि ट्रेकिङ तथा हिमाली पर्यटन क्षेत्रमा सक्रिय उनी काठमाडौंमा बस्दै आएका थिए। उनका श्रीमती र एक छोरी छन्।

यस वर्षको सगरमाथा आरोहण यामलाई हालसम्मकै सफलमध्ये एक मानिएको अवस्थामा अन्तिम समयमा आएको यो घटनाले पर्वतारोहण क्षेत्रलाई स्तब्ध बनाएको छ। अहिले उनको स्वास्थ्य उपचार भइरहेको बताइएको छ भने परिवार, आफन्त र शुभेच्छुकहरूले शीघ्र स्वास्थ्य लाभको कामना गरेका

प्रतिक्रिया