
अमेरिकी तल्लो संसद अर्थात् हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार एउटा ठूलो र ऐतिहासिक निर्णय गरेको छ। संसदले इरानविरुद्ध भइरहेको अमेरिकी सैन्य कारबाहीलाई रोक्नका लागि ‘युद्ध शक्ति प्रस्ताव’पारित गरेको छ।
यो निर्णय राष्ट्रपति डोनल्ड ट्रम्पका लागि एउटा ठूलो झट्का हो। राष्ट्रपति ट्रम्पकै रिपब्लिकन पार्टी(दल )का केही नेताहरूले विपक्षी डेमोक्र्याट दलसँग हात मिलाएर यो युद्ध अन्त्य गर्ने पक्षमा मतदान गरे। विगत तीन महिनादेखि चलिरहेको यो युद्धले अमेरिका र विश्वकै राजनीतिमा हलचल मच्चाएको छ।
अमेरिकी संसदका सभामुख माइक जोनसनले यो प्रस्ताव पारित हुन नदिन निकै प्रयास गरेका थिए। दुई हप्ताअघि जब यो प्रस्ताव पारित हुने अवस्थामा पुगेको थियो, उनले अचानक संसदको बैठक नै बन्द गराएका थिए। तर, युद्ध लम्बिँदै जाँदा र राष्ट्रपति ट्रम्पले शान्ति सम्झौता गर्न नसक्दा नेताहरूमा असन्तुष्टि झन् बढ्दै गयो।
बुधबार भएको मतदानमा प्रस्तावको पक्षमा २१५ र विपक्षमा २०८ मत परेको थियो। एपीका अनुसार यद्यपि, यो नियम पूर्ण रूपमा लागू हुन्छ कि हुँदैन भन्ने कुरा अझै पक्का छैन। किनभने राष्ट्रपति ट्रम्पले आफ्नो सैन्य अधिकार कटौती गर्ने संसद्को यो निर्णयलाई अस्वीकार अर्थात् भिटो गर्न सक्छन्। तैपनि, आफ्नै दलका चार जना सांसदले विरोधमा मतदान गरेपछि संसद भवनमा खुसीयाली छाएको थियो।
डेमोक्र्याट दलका नेता हकिम जेफ्रिजले भने, “यो बिना सित्तिको र महँगो युद्ध आजै बन्द हुनुपर्छ। यस युद्धले अमेरिकी करदाताहरूको १०० बिलियन डलरभन्दा बढी पैसा स्वाहा पारेको छ र अमेरिकालाई इरानको अगाडि कमजोर बनाएको छ।”
संसदले ट्रम्पको युद्ध रोक्न प्रयास गरेको यो चौथो पटक हो। गत महिना माथिल्लो सदन (सनेट) ले पनि यस्तै प्रस्ताव अगाडि बढाएको थियो।
राष्ट्रपति ट्रम्पले चुनाव जित्दा विदेशी युद्धहरू अन्त्य गरेर आफ्नै देशको विकासमा लाग्ने वाचा गरेका थिए, तर यो युद्धले उनलाई फेरि मिडिल इस्ट (मध्य पूर्व) को संकटमा फसाएको छ।
प्रतिक्रिया