
मे २१ । टोकियो
नेपाली र जापानी संस्कृतिमा हुर्किएकी प्रतिभावान सुन्दरी मीना योसिदा गुरुङले नेपाली रजतपटमा औपचारिक डेब्यु गर्ने भएकी छिन्। आगामी नयाँ नेपाली चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज’ (University of Gundas) मा उनी मुख्य अभिनेत्री (हिरोइन) को रूपमा देखिन लागेकी हुन्। यस चलचित्रमा उनले नेपाली सिनेमा जगतका चर्चित अभिनेताद्वय सलिन मान बनियाँ र सलोन बस्नेतसँग जोडी बाँध्नेछिन्।

५ फिट ७ इन्च अग्ली मीना जापानी नागरिक हुन्। नेपाली बुबा र जापानी आमाकी एक्ली सन्तान उनी जापानमा मोडलिङ, इभेन्ट डिरेक्सन र सोसल मिडिया इन्फ्लुएन्सरका रूपमा पहिलेदेखि नै सक्रिय छिन्। एक औपचारिक पार्टीमा भएको भेटघाटपछि उनलाई यस फिल्मको मुख्य भूमिकाका लागि चयन गरिएको चर्चा अहिले नेपाली चलचित्र जगतमा चलिरहेको छ ।
जापानमा रहे पनि उनको नेपाली भाषामा बलियो पकड र उत्कृष्ट ज्ञान रहेको निर्माण पक्षले जनाएको छ।
हामीले चलचित्र क्षेत्र रोज्नुको कारणबारे प्रश्न गर्दा मीनाले भनिन्, “मलाई सानैदेखि फिल्ममा निकै रुचि थियो। यसकै लागि मैले हाईस्कुलमा चार वर्षसम्म एक्टिङ क्लास (अभिनय कक्षा) लिएँ र अहिले विश्वविद्यालयमा पनि फिल्मसम्बन्धी कक्षाहरू लिइरहेकी छु।” उनी फरक-फरक पात्रहरूको भूमिकामा जीवन्त अभिनय गर्दै यो क्षेत्रमा अझै धेरै सिक्दै जाने सोचमा रहेको वताउछिन्।
भविष्यमा राम्रा र चित्तबुझ्दा कथाहरू अफर भएमा नेपाली फिल्म क्षेत्रमा निरन्तर केही गरिरहने उनको बलियो इच्छारहेको हामी संगको भेटमा ब्यक्त गरीन ।
म्युजिक भिडियोमा यसअघि नै हिट
नेपाली रजतपटमा डेब्यु गर्नुअघि नै मीनाले नेपाली भिडियोमा आफ्नो जादु देखाइसकेकी छिन्। केही वर्षअघि गायक केहर सिंह लिम्बूको चर्चित गीत ‘झ्यालैमा’ को आधिकारिक म्युजिक भिडियोमा उनी मुख्य मोडलको रूपमा फिचर भएकी थिइन्। उक्त भिडियोलाई युट्युबमा झन्डै ४ मिलियन (३८ लाख) भन्दा बढी पटक हेरिसकिएको छ।

लामो समयको अभिनय प्रशिक्षण, लोभलाग्दो उचाइ, र सुन्दरताका कारण मीनाको आगमनले नेपाली चलचित्र उद्योगमा नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ। ‘युनिभर्सिटी अफ गुण्डाज’ मार्फत उनको फिल्मी यात्रा कस्तो रहनेछ, त्यो भने हेर्न बाँकी नै छ।
प्रतिक्रिया