वरिष्ठ पत्रकार स्व. पुष्करलाल श्रेष्ठको सातौं पुण्य तिथिको सन्दर्भमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

इनेप्लिज २०८३ वैशाख ३ गते २२:२७ मा प्रकाशित

नेपालको अग्रणी निजी प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा वरिष्ठ पत्रकार स्व. पुष्करलाल श्रेष्ठको सातौं पुण्य तिथिको सन्दर्भमा बिहीबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा कामना परिवार, इमेज परिवार, द रोलिङ स्टोन्स् स्कुल परिवार, स्थानीय बासिन्दा लगायतले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिको आयोजना, नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा र इमेज गु्रप अफ कम्पनिज, द रोलिङ स्टोन्स् स्कुलको सहआयोजनामा भीमसेनस्थानस्थित कामना न्यूज पब्लिकेसन्स् प्रा.लि., कामनाको केन्द्रीय कार्यालयमा आयोजित स्वास्थ्य शिविरमा कामना परिवार, इमेज परिवार, द रोलिङ स्टोन्स् स्कुलका विद्यार्थी तथा अभिभावकसहित स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो । स्वास्थ्य शिविरमा सहभागीलाई विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण, परामर्श लगायतको सेवा प्रदान गरिएको थियो ।

हामीले समाचार लेख्ने मात्र होइन समुदायमा गर्न सक्ने सामाजिक उत्तरदायित्वका लागि पनि काम गर्नुपर्छ भन्ने संथापकहरूले सिकाउनुभएकाले सोही अनुसार कार्य गर्दै आएका छौं । कामना न्यूज पब्लिकेसन्स्ले पब्लिकेसनको वार्षिकोत्सव, संस्थापकहरुको पुण्य तिथिका अवसरमा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम जस्ता जनहितमा केन्द्रित स्वास्थ्य कार्यक्रमहरु वर्षभरि नै गर्दै आएको छ । सोहीअन्तर्गत बिहीबार सो कार्यक्रम आयोजना गरिएको हो । कामना न्यूज पब्लिकेसन्स्मा आबद्ध सदस्यको बेला–बेलामा विभिन्न किसिमको स्वास्थ्य परीक्षण गरिँदै आएको छ ।

त्यस्तै, विशेषज्ञ चिकित्सकबाट मुटुरोग (ईसीजी), भिडियो एक्सरे, मधुमेह, नाक, कान, घाँटी, आँखा, दाँत, ल्याब, बालरोग, सामान्य चिकित्सा, सामान्य चिरफार लगायतका परीक्षण गरिएको थियो । जसमा १ हजार ६ सय जनाले सेवा लिएका थिए । यसअघि पनि काठमाडौं मेडिकल कलेज (केएमसी) को प्राविधिक सहयोगमा बृहत् स्वास्थ्य शिविर गरिएको थियो । त्यस्तै, गत वर्ष २०८१ साल वैशाख ४ गते पनि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा निःशुल्क आँखा शिविर कार्यक्रम गरिएको थियो ।

स्वास्थ्य शिविर आयोजना समितिका संयोजक तथा कामना न्यूज पब्लिकेसन्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आएको बताउनुभएको छ । उहाँले वार्षिक कार्यतालिका नै बनाएर यस्तो कार्यक्रम गर्ने गरेको जनाउनुभयो । कामना परिवार, विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाको स्वास्थ्यलाई महत्व दिएर यस किसिमको कार्यक्रम आयोजना गरिएको श्रेष्ठको कथन छ ।

त्यस्तै, नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका निम्ति सहयोग गर्ने केएमसी अस्पताल, विशेषज्ञ चिकित्सक लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

यसै गरी, केएमसी अस्पताल सिनामंगलका शिविर इन्चार्ज प्रेमलाल सुवालले शिविरमा धेरै बिरामीको फरक–फरक समस्या पत्ता लागेको जानकारी दिँदै थप उपचारका लागि केएमसी अस्पतालले सक्दो सहयोग गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले सहभागीहरूलाई स्वागत गर्दै आगामी दिनमा सञ्चारकर्मी तथा उनका परिवारका सदस्यहरूको हितका निम्ति विभिन्न कार्यक्रम गर्दै जाने बताउनुभयो । उहाँले सरकारले विज्ञापन सरकारी मिडियालाई मात्र दिने नीति बनाएको प्रति पनि असन्तुष्ट व्यक्त गर्दै निर्णय सुधारको माग राख्नुभएको थियो । शिविर बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको थियो ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि कामना परिवार, नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा, द रोलिङ स्टोन्स् स्कुल परिवार, स्थानीय तह, जनप्रतिनिधि लगायतले सहजीकरण गर्नुभएको थियो । शिविरमा प्राविधिक सहयोग गर्ने केएमसी अस्पताल सिनामंगल तथा चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया