इजरायलमा क्षेप्यास्त्र आक्रमण: अमेरिकी सेनापतिको आकस्मिक भ्रमण र सैन्य रणनीतिमा छलफल

घाइतेहरूको उद्धार, हर्मुज जलडमरूमा चिनियाँ जहाजको प्रवेश

इनेप्लिज २०८२ चैत १७ गते १०:२७ मा प्रकाशित

इजरायलमा मङ्गलबार फेरि क्षेप्यास्त्र (मिसाइल) आक्रमण भएको छ। इजरायली सेनाका अनुसार देशको मध्य भागमा क्षेप्यास्त्रहरू खसेका छन् र त्यहाँ आपतकालीन टोलीहरू पठाइएको छ। इजरायलको स्वास्थ्य सेवा ‘मागेन डेभिड अडोम’ ले केही मानिसहरू सामान्य घाइते भएको जानकारी दिएको छ।

यसैबीच, अमेरिकी सैन्य कमाण्डका सेनापतिब्राड कुपरले मार्च २९ र ३० तारिखमा इजरायलको महत्वपूर्ण भ्रमण गरेका छन् । उनले इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल अर्थात् रथी इयाल जामिरसँग भेटघाट गरे । उनीहरूबीच मुख्य गरी इरानको शक्तिलाई कसरी कम गर्ने भन्ने विषयमा छलफल भएको थियो।

इरानले आफ्नो सीमाभन्दा बाहिर शक्ति प्रदर्शन नगरोस् भन्ने उद्देश्यले दुई देशका सेना मिलेर काम गर्ने सहमति भएको छ। सेनापति कुपरले अमेरिका र इजरायलबीचको रक्षा सम्बन्ध निकै बलियो रहेको कुरामा जोड दिए ।

आफ्नो भ्रमणको क्रममा कुपरले इजरायलमा खटिएका अमेरिकी सैनिकहरूलाई पनि भेट गरे । ‘अपरेशन एपिक फ्युरी’ को सुरुवाती हप्ताहरूमा राम्रो काम गर्ने ४० भन्दा बढी सैनिकहरूलाई उनले सम्मान गरे ।

अर्कोतर्फ, चीनले पनि समुद्री मार्गमा आफ्नो सक्रियता बढाएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मङ्गलबार जानकारी दिए अनुसार तीनवटा चिनियाँ जहाजहरू ‘हर्मुज जलडमरू’ भएर अगाडि बढेका छन्। यो समुद्री बाटो व्यापार र इन्धन ओसारपसारका लागि संसारकै सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

चीनले यस क्षेत्रमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै खाडी क्षेत्रमा तुरुन्तै युद्ध रोकियोस् र शान्ति स्थापना होस् भन्ने अपिल पनि गरेको छ।

अहिले मध्यपूर्वमा एकातिर क्षेप्यास्त्र आक्रमण भइरहेको छ भने अर्कोतिर ठूला देशहरू आ–आफ्नो सैन्य रणनीति बनाउन र समुद्री बाटो सुरक्षित राख्न व्यस्त छन्।

प्रतिक्रिया