ट्रम्पद्वारा ‘गम्भीर वार्ता’ भइरहेको खुलासा, तर ‘पूर्ण विनाश’ को धम्की कायमै

इरानमा ३० दिनदेखि अन्तर्जाल (इन्टरनेट) ठप्प: स्पेनद्वारा आफ्नो आकाश र सैन्य अखडा बन्द गर्ने घोषणा

इनेप्लिज २०८२ चैत १६ गते १३:४४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सामाजिक सञ्जालमार्फत इरानसँगको युद्ध अन्त्य गर्न त्यहाँको “नयाँ र अझ समझदार” शासनसत्तासँग गम्भीर छलफल भइरहेको र यसमा राम्रो प्रगति भएको बताएका छन् । तर, वार्तासँगै ट्रम्पले कडा चेतावनी पनि दिएका छन् ।

ट्रम्प लेख्छन् , “यदि छिट्टै सहमति भएन र ‘हर्मुज जलसन्धि’ व्यापारका लागि तुरुन्तै खुला गरिएन भने, हामीले इरानका विद्युत् गृह, तेलका कुवा र खार्ग टापुलाई पूर्ण रूपमा ध्वस्त पारिदिनेछौं।” उनले विगत ४७ वर्षको ‘आतंकपूर्ण शासन’ मा मारिएका अमेरिकी सैनिकहरूको बदला लिन यी संरचनाहरू नष्ट गर्ने धम्की दिएका हुन्।

अर्कोतर्फ, इरानमा विगत ३० दिन (७०० घण्टा भन्दा बढी) देखि इन्टरनेट (अन्तर्जाल )पूर्ण रूपमा बन्द गरिएको छ। इजरायली अधिकारीहरूका अनुसार, इरानी शासनले हालैका हप्ताहरूमा अमेरिकी र इजरायली आक्रमणबाट भएको वास्तविक क्षति लुकाउनका लागि अन्तर्जालमा प्रतिबन्ध लगाएको हो। फक्स न्यूजसँग कुरा गर्दै एक वरिष्ठ इजरायली गुप्तचर अधिकारीले भने, “जब अन्तर्जाल खुल्नेछ, तब मात्र त्यहाँको शासनले भोगेको क्षतिको वास्तविक रूप संसारसामु प्रस्ट हुनेछ।”

यसैबीच, युरोपेली राष्ट्र स्पेनले इरानविरुद्धको युद्धमा प्रयोग हुने अमेरिकी युद्धक विमानहरूका लागि आफ्नो हवाई क्षेत्र र सैन्य अखडा प्रयोग गर्न रोक लगाएको छ। स्पेनकी रक्षामन्त्री मार्गरिटा रोबल्सले यो युद्ध “पूर्ण रूपमा अवैध र अन्यायपूर्ण” भएको बताउँदै सुरुदेखि नै स्पेन यसको विरुद्धमा रहेको स्पष्ट पारिन् ।

प्रतिक्रिया