
अमेरिकाको राजधानी वाशिङ्गटन डीसीमा लेखिका निभा माथेमा प्रधान(NEEVA MATHEMA PRADHAN)द्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘बेस्ट अफ बोथ वर्ल्ड्स’ माथि एक विशेष साहित्यिक तथा प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ। गत मार्च २९ का दिन ‘आर्ट अफ लिभिङ’ को सभाकक्षमा आयोजित उक्त कार्यक्रममा साहित्य, संस्कृति र मानवीय सम्बन्धका विविध पक्षमा छलफल गरिएको थियो।

कार्यक्रममा पुस्तकका मुख्य विषयवस्तुमाथि चर्चा गर्दै वक्ताहरूले यसले आधुनिक विश्वमा घुलमिल हुँदा पनि आफ्नो मौलिक ‘जरा’ वा संस्कारलाई कसरी जोगाउन सकिन्छ भन्ने गहिरो सन्देश दिएको बताए। यो पुस्तक विदेशमा बस्ने र आफ्नो मातृभूमिलाई माया गर्ने हरेक व्यक्तिको साझा अनुभव र संघर्षको कथा भएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा राधिका प्रभुले सहजीकरण गरेकी थिइन् भने विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले पुस्तकमाथि आफ्ना धारणा राखेका थिए। जसमा विश्व बैंकका पूर्व राष्ट्रिय निर्देशक नाइजेल रोबर्ट्स, स्टार स्कलर्स नेटवर्कका अध्यक्ष डा. उत्तम गौली, एभिडेन्स एक्सनकी प्रबन्धक लिजा महर्जन र आइनोभा हेल्थ फाउन्डेसनकी सहायक निर्देशक डोरोथी जीन अबर्नाथी रहेका थिए । उनिहरूले पुस्तकका मर्मस्पर्शी अंशहरू र यसले बोकेको बहुसांस्कृतिक समाजको महत्वबारे प्रकाश पारे ।

कार्यक्रममा नेपाली दुताबास डिसीकी द्वितिय सचिव जीना अधिकारी लगायतले पुस्तक बारे बोलेका थिए ।
साहित्यिक चर्चाका साथै कार्यक्रममा आर्ट अफ लिभिङ फाउन्डेसनका गुरु क्रिश स्माइथ-म्याकालेद्वारा “विश्व शान्ति ध्यान” समेत गराइएको थियो। कार्यक्रमको अन्त्यमा रोबी प्रधानले धन्यवाद ज्ञापन गरे ।

को हुन् लेखिका निभा माथेमा प्रधान (NEEVA MATHEMA PRADHAN)?

लेखिका निभा एम. प्रधान व्यावसायिक नेतृत्व र सामाजिक सेवामा एक प्रभावशाली नाम हुन्। अमेरिकाको ‘फेडरल क्रेडिट युनियन’ मा पूर्व उपाध्यक्षको रूपमा सफल कार्यकाल सम्हालेकी उनीसँग वित्तीय व्यवस्थापनको लामो अनुभव छ। उनी नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय ‘दया फाउन्डेसन’ की सह-संस्थापक पनि हुन्।



प्रतिक्रिया