कला, संस्कृति र सम्मानको संगम:एनपिपिएद्वारा संरक्षक र आजीवन सदस्यहरू सम्मानित,’नवौँ विश्व नेवा: दिवस’ भव्य रूपमा सम्पन्न:

'हलिं नेवा: दूँ ११४६' को अवसरमा एनपिपिएको विशेष कार्यक्रम

इनेप्लिज २०८२ चैत १५ गते १२:५६ मा प्रकाशित

नेपाली कला, संस्कृति र विशेष गरी नेवा: पहिचानलाई प्रवासमा जीवित राख्न सक्रिय संस्था ‘नेपा पासा पुच: अमेरिकाय्’ ले ‘ संरक्षक र आजीवन सदस्यहरू सम्मान गरेको छ ।

साथै नवौँ विश्व नेवा: दिवस ११४६’ को अवसरमा एक भव्य सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार, मार्च २८ का दिन भर्जिनिया राज्यको फेयरफ्याक्समा नेपाली द्वारा संचालित ‘तान्दुरी नाइट्स’ चमेनागृहमा आयोजित उक्त समारोहमा संस्थाका संरक्षक र आजीवन सदस्यहरूलाई उनीहरूको निरन्तर सहयोग र योगदानका लागि विशेष सम्मान गरिएको थियो।

कार्यक्रमको सुरुवात अत्यन्तै उत्साहपूर्ण वातावरणमा परम्परागत धिमे बाजाको जुलुसबाट गरिएको थियो। नेवारी संस्कृतिको प्रतिक मानिने लाखे र गणेश जात्राको प्रदर्शनले सभाकक्षमा उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।

समारोहको विधिवत उद्घाटन एनपिपिएका संस्थापकराम मलाकारले गणेश पूजा र टिका-प्रसाद वितरण गरेर गरेका थिए । त्यसलगत्तै नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाइएको थियो ।

एनपिपिका अध्यक्ष शान्ति श्रेष्ठले स्वागत मन्तव्य राख्दै विश्वभरका नेवार समुदायलाई दिवसको शुभकामना दिईन र संस्थाको उद्देश्य प्राप्तिका लागि सहयोगी हातहरूको भूमिका महत्त्वपूर्ण रहने बताइन ।

समारोहमा विश्व नेवा: संगठन का अध्यक्ष मनोहर श्रेष्ठले विशेष सम्बोधन गर्दै प्रवासमा नेवा: भाषा र संस्कृति जोगाउनु आजको आवश्यकता रहेकोमा जोड दिए ।

सो अवसरमा नयाँ संरक्षक र आजीवन सदस्यहरूलाई बिल्ला (पिन), प्रमाणपत्र र संस्थाको मुखपत्र ‘दबू’ वितरण गरी सम्मान गरिएको थियो। मुख्य सम्पादक राजु तामोटले ‘दबू’ को महत्त्व र यसले समेटेका विषयवस्तुबारे प्रकाश पारे ।

आगामी अप्रिल २४ र २५ का दिन बाल्टिमोरमा हुने प्रथम युएसए नेवाः सम्मेलन तथा वार्षिक साधारण सभाबारे एनपिपिएकी पूर्व अध्यक्ष सरोजदेवी प्रजापतीले बोलेकी थिइन । 

समारोहलाई थप रोचक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। नव्या शाक्य र नेभा श्रेष्ठले आकर्षक ‘धिमे नृत्य’ प्रस्तुत गरेका थिए भने प्रबिन ताम्राकारले सुमधुर गीत गाएर सुनाएका थिए। त्यसैगरी अनुरा थापा मगरको ‘नेवारी नृत्य’ ले कार्यक्रमको रौनकता अझ बढाएको थियो।

कार्यक्रमको अन्त्यमा संस्थाका प्रथम उपाध्यक्ष सुमन तुलाधरले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । औपचारिक कार्यक्रमपछि सहभागीहरूलाई स्वादिष्ट परिकार सहितको रात्रीभोज गराइएको थियो।

प्रतिक्रिया