
शुक्रबार इरानका महत्त्वपूर्ण आणविक केन्द्रहरूमाथि हमला भएको छ।
इजरायलले तेहरान विरुद्धको आफ्नो अभियानलाई अझ “विस्तार र कडा” पार्ने धम्की दिएको केही घण्टाभित्रै यो आक्रमण भएको इरानी सञ्चार माध्यमहरूले जनाएका छन्।
इरानी समाचार संस्था ईर्नाका अनुसार, आक्रमणमा एक भारी जल प्लान्ट र ‘येलोकेक’ उत्पादन केन्द्रमा क्षति पुगेको छ।
एपिका अनुसार येलोकेक कच्चा युरेनियमलाई प्रशोधन गरेर बनाइने एक प्रकारको ठोस वस्तु हो, जुन आणविक इन्धन वा हतियार बनाउन प्रयोग गरिन्छ।
यद्यपि, इरानको आणविक ऊर्जा संगठनले यी आक्रमणहरूबाट रेडियोधर्मी विकिरण वा प्रदूषणको कुनै जोखिम नरहेको दाबी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए पछि यो आक्रमण भएको हो ।
ट्रम्पले तेहरानलाई रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्न थप समय समेत दिएका थिए।
यसैबीच, फ्रान्सेली विदेशमन्त्री जीन-नोएल बारोटले जी-७ राष्ट्रहरूले इरानका विषयमा एक विशेष घोषणापत्र जारी गरेको जानकारी दिएका छन्।
उक्त घोषणापत्रमा सर्वसाधारण नागरिक र पूर्वाधारहरूमाथि भइरहेका आक्रमणहरू तत्काल रोक्न माग गरिएको छ।
पेरिसमा आयोजित पत्रकार सम्मेलनमा बारोटले भने, “सशस्त्र द्वन्द्वको समयमा जानीजानी नागरिक वा कूटनीतिक केन्द्रहरूलाई निशाना बनाउनु न्यायोचित हुन सक्दैन।”
जी-७ राष्ट्रहरूले ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र र सुरक्षित जलयात्रा पुनः कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
अमेरिकी सैन्य लक्ष्यहरू पूरा भएपछि अन्तर्राष्ट्रिय जलक्षेत्रमा सुरक्षा सुनिश्चित हुनुपर्नेमा सबै पक्ष सहमत देखिएका छन्।
प्रतिक्रिया