
अफगानिस्तानको तालिवान सरकारले मंगलबार एक विज्ञप्ति जारी गर्दै सन् २०२५ को जनवरीदेखि आफ्नो नियन्त्रणमा रहेका अमेरिकी नागरिक डेनिस कोयललाई रिहा गरेको घोषणा गरेको छ।
तालिवानको विदेश मन्त्रालयका अनुसार, कोयलको परिवारबाट प्राप्त पत्र र मुस्लिम समुदायको महान् पर्व ‘इद’ (रमदानको समाप्ति) को अवसर पारेर उनलाई माफी दिई रिहा गरिएको हो।
सिविएसन्यूजका अनुसार ६४ वर्षीय कोयल अमेरिकाको कोलोराडोका एक प्राध्यापक हुन्। उनलाई तालिवान सुरक्षा बलले काबुलस्थित आफ्नै आवाशगृह(अपार्टमेन्ट)बाट नियन्त्रणमा लिएको थियो।
कोयललाई नियन्त्रणमा लिनु ठिक ६ दिनअघि मात्र अर्का अमेरिकी नागरिक रायन कोर्बेटलाई राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको सुरुवातमा रिहा गरिएको थियो।
बन्दी वार्तामा संलग्न एक वरिष्ठ तालिवान अधिकारीका अनुसार, फेब्रुअरीको अन्तिम सातादेखि नै अमेरिका र तालिवानबीच यस विषयमा घनिभूत छलफल भइरहेको थियो। तालिवानले कोयलको रिहाइलाई ‘मानवीय सहानुभूति र सद्भाव’ को संज्ञा दिएको छ।
यस कदमले दुई देशबीच विश्वासको वातावरण सुदृढ बनाउने र भविष्यमा रहेका अन्य समस्याहरू पनि रचनात्मक संवाद र आपसी समझदारीमार्फत हल हुने विश्वास तालिवान पक्षले व्यक्त गरेको छ।
अमेरिकी विदेश सचिव मार्को रुबियोले कोयलको रिहाइको पुष्टि गर्दै यसलाई ‘बन्धक कूटनीति’ अन्त्य गर्ने दिशामा एक सकारात्मक कदम बताएका छन्।
उनले कोयलका परिवारसँगको भेटलाई स्मरण गर्दै उनी अहिले घर फर्कने क्रममा रहेको जानकारी दिएका छन्।
यसअघि नै अमेरिकी विदेश बिभागले अफगानिस्तानलाई ‘गलत रूपमा बन्दी बनाउने देश’ को सूचीमा राखेको थियो।
यस रिहाइले लामो समयदेखि तनावपूर्ण रहेको अमेरिका र अफगानिस्तानको सम्बन्धमा केही सुधार आउन सक्ने संकेत गरेको छ।
प्रतिक्रिया