
केही हप्तादेखि युद्धमा रहेका अमेरिका र इरानबीच फेरि शान्ति स्थापनाका लागि पहल सुरु भएको सिबिएसन्यूजले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको विवाद सुल्झाउन आफू तयार रहेको संकेत दिएपछि दुवै देशका अधिकारीहरूबीच मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भएको छ।
इरानी विदेश मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, अमेरिकाले मध्यस्थकर्तामार्फत केही महत्त्वपूर्ण बुँदाहरू पठाएको छ, जसमाथि अहिले इरानले अध्ययन गरिरहेको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै दुवै पक्षबीच सकारात्मक कुराकानी भइरहेको र शत्रुता अन्त्यका लागि १५ वटा बुँदामा सहमति हुन लागेको बताएका छन् । ट्रम्पका अनुसार इरानी अधिकारीहरूले “हामी शान्ति चाहन्छौँ” भनेर सन्देश पठाएका छन्।
यसअघि ट्रम्पले इरानलाई चेतावनी दिँदै तेल ओसारपसार गर्ने मुख्य समुद्री मार्ग नखोलेमा इरानका बिजुली घरहरूमा बमबारी गर्ने बताएका थिए । तर अहिले वार्ताको वातावरण बनेपछि उहाँले ५ दिनका लागि यो आक्रमणको योजना स्थगित गरेका छन् ।
यो उत्साहजनक र सुखद खबर आउनेबित्तिकै विश्व बजारमा कच्चा तेलको मूल्य १० प्रतिशतले घटेको छ, जसले विश्व अर्थतन्त्रलाई राहत दिनेछ। अमेरिका र इरानको सिधा कूटनीतिक सम्बन्ध नभएकाले ओमान र पाकिस्तानजस्ता देशहरूले उनीहरूबीच कुरा मिलाउन मध्यस्थता गरिरहेका छन्।
सम्झौताको मुख्य बुँदा इरानले परमाणु हतियार नबनाउनेमा केन्द्रित छ। इरानले सधैँ आफूलाई परमाणु हतियार बनाउनु छैन भन्दै आए पनि अमेरिकाले पूर्ण रूपमा यस्तो प्रविधि त्याग्न दबाब दिइरहेको छ। यदि यो वार्ता सफल भयो भने विगत २३ दिनदेखि चलिरहेको भीषण तनाव अन्त्य हुने आशा गरिएको छ।
प्रतिक्रिया