अमेरिका र इरानबीच वार्ताको दाबी: ट्रम्प भन्छन् ‘सफल कुराकानी’, इरानद्वारा यस्को खण्डन

इनेप्लिज २०८२ चैत ९ गते १६:५१ मा प्रकाशित

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको उर्जा केन्द्र(पावर प्लान्ट र )ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएको हवाई आक्रमण तत्कालका लागि स्थगित गरेको घोषणा गरे पछि इरानले खन्डन गरेको छ ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ट्रम्पले ‘हर्मुज जलडमरू मध्य’ पुनः खोल्ने विषयमा पछिल्लो दुई दिनदेखि भइरहेको “अत्यन्तै राम्रो र फलदायी कुराकानी” पछि यो निर्णय लिएको बताए ।

राष्ट्रपति ट्रम्पले युद्ध विभागलाई इरानका ऊर्जा संरचनाहरूमा गरिने सबै सैन्य कारबाहीलाई पाँच दिनका लागि रोक्न निर्देशन दिएको उल्लेख गरेका छन् । 

यो स्थगन हाल जारी रहेका छलफलहरूको सफलतामा निर्भर रहने उनको भनाइ छ। ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विट्कफ र ज्वाइँ जेरेड कुश्नरले आइतबार राति इरानसँग वार्ता गरेको दाबी गरेका छन् ।

उनका अनुसार इरान अहिले सम्झौताका लागि निकै आतुर देखिएको छ।

तर, इरानले भने अमेरिकाको यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयले अमेरिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि किसिमको वार्ता नभएको स्पष्ट पारेको छ। इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार ट्रम्पले गरेका वार्ताका दाबीहरू निराधार हुन्।

यसअघि सप्ताहन्तमा ट्रम्पले निकै कडा चेतावनी दिँदै यदि इरानले हर्मुज जलडमरू मध्य नखोलेमा इरानका उर्जा केन्द्र ठूला (पावर प्लान्ट)हरु ध्वस्त पारिदिने बताएका थिए।

 संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले पनि इरानको सैन्य क्षमता कमजोर पार्न सबै विकल्पहरू खुला रहेको बताएका छन् ।

अर्कोतर्फ, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले ऊर्जा पूर्वाधारमा आक्रमण गर्नु ‘युद्ध अपराध’ हुन सक्ने भन्दै चेतावनी दिएका छन् ।

तर, राजदूत वाल्ट्जले इरानले आफ्नै जनतालाई दमन गर्न र छिमेकीहरूमाथि आक्रमण गर्न यी पूर्वाधार प्रयोग गरिरहेकोले ती वैध सैन्य लक्ष्य हुने तर्क गरेका छन् ।

प्रतिक्रिया