
मध्यपूर्वमा बढ्दै गएको युद्धको खतराका बीच केही आशाका संकेतहरू देखिएएको बिबिसी तथा एपीले जनाएको छ । बिश्व विख्यात दुवै पत्रिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीच शत्रुता अन्त्य गर्नका लागि वार्ता भइरहेको जानकारी दिएका छन्।
यसअघि ट्रम्पले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग खोल्न ४८ घण्टाको समय दिएका थिए। सो समयभित्र बाटो नखोले इरानका सबै पावर प्लान्ट (बिजुली घर) ध्वस्त पारिदिने चेतावनी उनले दिएका थिए। तर, अहिले वार्ता सुरु भएपछि उनले ती सम्भावित आक्रमणहरूलाई ५ दिनका लागि रोकेका छन्। उनले दुई देशबीच समस्या समाधानका लागि छलफल भइरहेको बताएका छन्।
एकातिर शान्तिको प्रयास भइरहँदा अर्कोतिर युद्ध रोकिने संकेत देखिएको छैन। इजरायलले दक्षिण लेबनानको लिटानी नदीमा रहेको अर्को एउटा महत्त्वपूर्ण पुल हवाई हमला गरी भत्काइदिएको छ।
लेबनानी राष्ट्रपति जोसेफ आउनले पुलहरू भत्काउनु इजरायलले जमिनबाट ठूलो आक्रमण गर्न लागेको संकेत भएको बताएका छन्। यसैबीच, इरानको राजधानी तेहरानका विभिन्न ठाउँमा ठूला विस्फोटका आवाजहरू पनि सुनिएका छन्।
रुसले अमेरिकालाई कडा चेतावनी दिँदै इरानको आणविक केन्द्रहरूमा हमला नगर्न भनेको छ। यस्तो हमला भएमा विश्वमै कहिल्यै नसुध्रिने गरी भयानक क्षति हुने रुसको भनाइ छ।
यसै सन्दर्भमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा बोल्दै यो युद्धलाई कोभिड-१९ महामारी जस्तै ठूलो चुनौती भएको बताए । उनले भारत यस्ता परिस्थितिहरूको सामना गर्न तयार रहेको र देशमा पर्याप्त इन्धन तथा मलको मौज्दात रहेको बताएका छन् । मोदीले भारत सधैँ शान्तिको पक्षमा रहेको र सबैलाई युद्ध रोक्न आग्रह गरिरहेको स्पष्ट पारेका छन् ।
प्रतिक्रिया