अमेरिकी सुपर बाउलमा ब्याड बनीको जादू: ट्रम्पद्वारा कडा आलोचना, ‘यो देशकै अपमान’ भएको दाबी

इनेप्लिज २०८२ माघ २७ गते १२:०९ मा प्रकाशित

गत राती फेब्रुअरी ८ का दिन सम्पन्न ‘सुपर बाउल ६०’ अर्थात् अमेरिकी भकुण्डोको अन्तिम निर्णायक खेलको बीचमा हुने मध्यान्तर प्रस्तुतिमा पुर्टोरिकन गायक ब्याड बनीको प्रस्तुतिलाई लिएर ठूलै विवाद सुरु भएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा उक्त प्रस्तुतिको कडा आलोचना गर्दै यसलाई “अहिलेसम्मकै सबैभन्दा खराब” र “देशको गालामा थप्पड” हानेको बताए ।

ट्रम्पका अनुसार यो कार्यक्रमले अमेरिकाको स्तर र गौरवलाई प्रतिनिधित्व गर्दैन। उनले लेखेका छन्, “यो मान्छेले के भनिरहेको छ कसैले बुझ्दैन, र नृत्य पनि हेर्न लायक छैन।” तर अर्कोतिर, धेरैले यसलाई ल्याटिन संस्कृतिको ठूलो सम्मानका रूपमा लिएका छन्।

ब्याड बनीले क्यालिफोर्नियाको रंगशालामा आफ्नो पुर्टो रिकन पहिचानलाई गर्वका साथ प्रदर्शन गरे। उनले आफ्ना चर्चित गीतहरू प्रायः स्पेनी भाषामा गाए। मञ्चको सजावट उखुका खेतहरू र क्यारेबियन टापुका बजारहरू जस्तै देखिन्थ्यो। कार्यक्रमको अन्त्यमा उनले दक्षिण अमेरिकादेखि उत्तर अमेरिकासम्मका झण्डाहरू देखाएर सबैलाई समेट्ने प्रयास गरेका थिए।

खेलकै दौरान एउटा हृदयस्पर्शी दृश्य पनि देखियो, जुन सामाजिक सञ्जालमा व्यापक (भाइरल )भइरहेको छ। ब्याड बनीले मञ्चमा रहेका एक ५ वर्षीय बालक लिङ्कन फक्सलाई आफ्नो ‘ग्रामी पदक ‘ हस्तान्तरण गरे। यसको अर्थ थियो— जसले पनि आफ्नो सपना पूरा गर्न सक्छ र ठूलो सफलता पाउन सक्छ। हालै मात्र ब्याड बनीको एउटा स्पेनी भाषाको गीतिसंग्रहले इतिहासमै पहिलो पटक वर्षकै उत्कृष्ट गीतिसंग्रह (एल्बम)को ग्रामी पुरस्कार जितेको थियो।

यस प्रस्तुतिमा लेडी गागा, रिकी मार्टिन, र कार्डी बी जस्ता विश्वप्रसिद्ध कलाकारहरूले पनि साथ दिएका थिए। लेडी गागाले साल्सा संगीतको धुनमा गीत गाएर माहोल तताएकी थिइन्।

ट्रम्पले यसलाई अमेरिकी मानक विपरीत माने पनि, करोडौँ युवा र ल्याटिन समुदायका मानिसहरूका लागि भने यो प्रेरणाको स्रोत बनेको छ।

प्रतिक्रिया