नवसर्जकले गरायो ६ किमी दौड प्रतियोगिता

इनेप्लिज २०८२ कार्तिक १० गते १८:४६ मा प्रकाशित

रौतहट

नवसर्जक साहित्य चौतारी नेपाल, मधेश प्रदेशले ६ किमी दौड प्रतियोगिता गराएको छ । नवसर्जकले रौतहटको माधव नारायण नगरपालिकाको विशुनपूर्वा गाउँमा पुरुष र महिलाको छुट्टाछुट्दै दौड प्रतियोगिता गराएको हो । दुवै प्रतियोगितामा गरी ७६ जनाको सहभागिता रहेको अध्यक्ष अभिजीत कुमार रामले जानकारी गराएका छन् । पुरुषतर्फ ५९ र महिलातर्फ १७ जना गरी ७६ जनाले भाग लिई प्रतियोगितालाई भव्यतापूर्वक सफल बनाएकामा युवाहरुलाई अध्यक्ष रामले धन्यवाद दिएका छन् ।

पुरुषतर्फ गरुडा नगरपालिका ५ का अशोक साह प्रथम, गरुडा नपा ४ का कबिन्द्र शर्मा दोस्रो र माधव नारायण नपा ३ का सुशान्त मुखियाले तेस्रो स्थान प्राप्त गरेका छन् । यसै गरी महिलातर्फ माधव नारायण नपा ४ की लालबेबी कुमार यादव प्रथम, गरुडा नपा ४ की रबिना चौधरी द्वितीय र चन्द्रपुर नपा १० की निर्मला चौधरीले तृतीय स्थान प्राप्त गरेका छन् ।

प्रथमलाई पंखा, द्वितीयलाई प्रेसर कुकर र तृतीयलाई हिटरसहित प्रमाणपत्र तथा मेडल दिइएको प्रतियोगितामा माधव नारायण नपाका प्रमुख बैजनाथ प्रसाद यादव तथा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादवले युवाहरुका लागि अति राम्रो कार्यक्रम भएकोले आगामी दिनमा नगरपालिकाको तर्फबाट अझ बढी प्रोत्साहन गरिने प्रतिबद्धता जनाएका छन् ।

नवसर्जकका प्रदेश संरक्षक सञ्जय साह मित्रले रौतहटको धेरै ठाउँमा विभिन्न किसिमका दौड प्रतियोगिताहरु आयोजना हुन थालेकोले अन्य खेलकुदजस्तै दौडमा पनि रौतहटले राम्रो गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।

शिक्षक, साहित्यकार, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारण गरी दुई सयभन्दा बढीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता स्थानीय संयोजक राकेश यादवले गरेका थिए ।

प्रतिक्रिया