गैरआवासीय नेपाली संघको प्रेस विज्ञप्ति

इनेप्लिज २०८२ असार ५ गते २२:३८ मा प्रकाशित

गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि नै विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई नेपालमा भित्र्याउने काम भइरहेकोमा त्यसलाई अझ बढी संगठित रुपमा साना तथा मझौला लगानीलाई समेत नेपालमा भित्र्याउने संघको उद्देश्य अनुरुप नेपाल सरकार तथा गैरआवासीय नेपालीको संयुक्त लगानीमा एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड स्थापना गरिएको अवगत नै छ । संघले उक्त फण्डको स्थापनाकालदेखि व्यवसायिक सञ्चालनका लागि नेपाल सरकारको विभिन्न निकायमा निरन्तर रुपले पहल गर्दै आइरहेको छ ।

गत मिति २०८१ मंसिर ६ तदअनुसार सन् २०२४ नोभेम्बर २१ तारिखको दिन धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ लाई नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरी निर्देशिकाको ११(ञ) मा . शेयर आवेदन सम्बन्धी व्यवस्था गरेकोमा उक्त संशोधनमा व्यवस्था भएअनुसार नै नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकाबाट थप सहजीकरण गरेबाट लगानीका लागि गैरआवासीय नेपालीहरु अत्यन्त उत्साहित भएको व्यहोरा अवगत गराउँदछौँ।

यस व्यवस्थाबाट विश्वभरिका गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी हुन तथा आफ्नो ज्ञान, सीप र पूँजी नेपालमा भित्र्याउन सहज वातावरण निर्माण भएको यस संघको ठहर छ । साथै यस फण्डलाई व्यापक रुपमा विस्तारका लागि हामी केही समयमै रोडशो आयोजना गरी पूँजी संकलन कार्य अघि बढाउनेसमेत प्रतिबद्धता जनाउँदछौँ।

गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन आवश्यक वातावरण निर्माणमा सहयोग पुर्याउने श्री नेपाल सरकार, श्री अर्थ मन्त्रालय, श्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्री नेपाल धितोपत्र बोर्ड, श्री नेपाल राष्ट्र बैंक, तथा अन्य सम्बन्धित निकाय, र सम्पूर्ण साझेदारहरूप्रति गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा विश्वभरी ९० देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

यसका साथै, धितोपत्र बोंडबाट धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको दफा ९ लाई फण्डले माग गरेअनुसार सुधार गरी गैरआवासीय नेपालीलाई संरक्षित धितोपत्र निष्कासनमा थप सहजीकरण हुने विश्वास लिएका छौ ।

डा बद्री केसी
अध्यक्ष

प्रतिक्रिया