नेतान्याहुको चेतावनी: इरानसँग ९ परमाणु हतियार बनाउन पर्याप्त युरेनियम छ 

इनेप्लिज २०८२ जेठ ३२ गते १३:४२ मा प्रकाशित

जेरुसलेममा बोल्दै इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले इरानसँग अत्यधिक संवर्धित युरेनियमको पर्याप्त भण्डार भएको र त्यसबाट ९ वटा परमाणु बम बनाउन सकिने दाबी गरेका छन्। 

तर तेहरानले भने सधैं जस्तै आफू परमाणु हतियार निर्माण नगर्ने अडान दोहोर्‍याउँदै आएको छ।

संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था IAEA आईएइए ले मे ३१ मा सदस्य राष्ट्रलाई पठाएको प्रतिवेदनमा उल्लेख गरे अनुसार इरानसँग ६०% सम्म संवर्धन गरिएको युरेनियमको भण्डार छ। 

यद्यपि ६०% संवर्धन हतियार बनाउने तह (९०%) नपुग्ने भए पनि त्यसलाई अझ संवर्धन गरेर ९ वटा बम बनाउन सकिने सम्भावना छ।

गत शुक्रवार “राइजिङ लायन” नामको हवाई कारबाही घोषणा गर्दै नेतान्याहुले भने, “इरानले कुनै पनि बेला—शायद केही महिनाभित्र परमाणु बम बनाउने क्षमता हासिल गर्न सक्छ। यो इजरायलको अस्तित्वमाथि प्रत्यक्ष खतरा हो।”

इरानले आफ्नो युरेनियम संवर्धन कार्यक्रम राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा आणविक सम्झौताबाट अमेरिका फिर्ता गरेपछि तीव्ररूपमा बढाएको हो।

 सुरुमा ३.६% संवर्धन गरिएको १५० किलोग्राम युरेनियम भएको इरानसँग अहिले त्योभन्दा ५० गुणा बढी छ।

२०२३ मा आइएइएले ८३.७% सम्म संवर्धन भएको युरेनियम कणहरू पत्ता लगाएको थियो । 

यो बम बनाउने तहसँग धेरै नजिक हो। हाल इरानसँग ६०% संवर्धन गरिएको १२८.३ किलोग्राम युरेनियम छ, जुन अहिलेसम्मकै उच्च मात्रा हो।

यसै साता आइएइए समितिले २० वर्षपछि पहिलो पटक इरानलाई आणविक अप्रसार सम्झौताको उल्लंघन गरेको औपचारिक निर्णय गरेको छ। 

जवाफमा इरानले अझ आफ्नो परमाणु गतिविधि तीव्र बनाउने चेतावनी दिएको सिएनएनले आफ्नो समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया