अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलस (एल.ए.) शहरकी नगर प्रमुख (मेयर )करेन बासले ट्रम्प प्रशासनको आप्रवासन नीति र हालैको संघीय धरपकडलाई “डर र अशान्ति फैलाउने कदम” भन्दै कडा शब्दमा आलोचना गरेकी छिन्। शुक्रबार उनी आफैंले यस्ता कदमले समुदायमा डर बढाएको भन्दै विरोध जनाएकी थिइन् ।
शनिबार शहर बाहिरको क्षेत्र विशेषगरी प्यारामाउन्टमा देखिएको अशान्तिलाई “गम्भीर चिन्ताजनक” भन्दै प्रतिक्रिया दिइन्।
लस एन्जलस काउन्टीको प्यारेमाउन्ट शहरमा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन(आइसिइ)ले गरेको धरपकडपछि एक गाडीमा आगो लागेको घटनाले समुदायमा झनै तनाव सिर्जना गरेको छ।
नगर प्रमुख बासले एक्स मार्फत प्रकाशित वक्तव्यमा भनिन्, “यो हाम्रो शहरका लागि कठिन समय हो। हामी हालैको प्राकृतिक विपत्तिबाट उकासिन खोजिरहेका बेला संघीय आप्रवासन कारबाहीले फेरि समुदायमा डर र अशान्ति पैदा गरिरहेको छ। प्यारामाउन्ट लगायत शहर बाहिरका अशान्तिको खबर निकै चिन्ताजनक छन्।”
उनले अगाडी भनिन्, “हामी वाशिङ्टन डी.सी.का अधिकारीहरूसँग प्रत्यक्ष सम्पर्कमा छौं र स्थानीय सुरक्षाकर्मीहरूसँग मिलेर समस्याको समाधान खोजिरहेका छौं। सबै नागरिकलाई शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार छ, तर म स्पष्ट भन्न चाहन्छु — हिंसा र तोडफोड कुनै हालतमा स्वीकार्य छैन, र त्यसको जिम्मेवारलाई कडा कारबाही हुनेछ।”
यस घटनाले एल.ए. क्षेत्रमा आप्रवासी समुदायको सुरक्षाबारे गम्भीर बहस चर्किएको छ। संघीय धरपकड र त्यसपछिको प्रतिक्रियाले ट्रम्प प्रशासनको नीतिमा नगर प्रमुख बासको असन्तोष झन् प्रकट भएको देखिन्छ।
प्रतिक्रिया