चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना

इनेप्लिज २०८२ जेठ २५ गते १०:१६ मा प्रकाशित

काठमाडौँ ।

चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा सामीप्यराज तिमल्सेना निर्वाचित भएका छन् । काठमाडौँको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा बसेको साधारणसभाले तिम्लसेनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष तिम्लसेनाले संस्थाका योजनालाई कार्यान्वयन गर्ने र चलचित्र समीक्षालाई बढाउने बताएका छन् ।

उनले भने,‘हामी संस्थाका योजनालाई प्रभावकारी रूपमा अगाडि बढाउनेछौँ र रोकिएको ‘फिक्सन अवार्ड’लाई निरन्तरता दिनेछौँ ।’ नेपाल पत्रकार महासङ्घसँग आबद्ध एसोसियट संस्था ‘फिक्सन’को खुला उपाध्यक्षमा भेषराज कार्की र अनिल यादव, समावेशी उपाध्यक्षमा रीना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुला सचिवमा नरेश फुयाँल, समावेशी सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्री सर्वसम्मत चयन भएका छन्। यस्तै, कार्यसमिति सदस्यमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दीक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल चयन भए ।

नेपाल पत्रकार महासङघका सचिव प्रकाश धौलाकोटीले ‘फिक्सन’ लामो समयदेखि सक्रिय संस्था भएको उल्लेख गर्दै महासङघ सधैँ सहकार्य गर्न तत्पर रहेको बताए । उनले भने,‘फिल्म हेर्ने संस्कृति बढिरहेको सन्दर्भमा समीक्षा अपरिहार्य छ । यहाँका सदस्यले इमानदारीपूर्वक चलचित्रको निष्पक्ष समीक्षा गरी पाठकलाई सुसूचित गर्नुहुनेछ भन्ने विश्वास छ ।’

साधारणसभामा निवर्तमान अध्यक्ष दीपेन्द्र लामा, पूर्वअध्यक्ष यज्ञशर पण्डित, पूर्वमहासचिव नारायण अमृत, निवर्तमान उपाध्यक्ष स्मृति ढुङ्गाना लगायत सहभागी थिए । नयाँ कार्यसमितिले दुई वर्षसम्म ‘फिक्सन’को नेतृत्व गर्नेछ ।

प्रतिक्रिया