‘हार्भर्डमाथि ट्रम्पको रोक: अन्तर्राष्ट्रिय विद्यार्थीलाई निसाना बनाइनु गलत -चीन

इनेप्लिज २०८२ जेठ १० गते १०:५२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्भर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लगाएपछि चीनले कडा आलोचना गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार भने, “शैक्षिक सहकार्यलाई राजनीतिकरण गर्ने कुराको हामीले सधैं विरोध गरेका छौं। यो कदमले केवल अमेरिकाको बिश्व छवि र प्रतिष्ठालाई नै क्षति पुर्‍याउँछ।”

चीनका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि अमेरिकामाथि व्यंग्य गरेका छन्। एक प्रयोगकर्ताले लेखे, “आफ्नै शक्ति आफैं ध्वस्त पार्न रमाइलो लाग्छ।” अर्कोले टिप्पणी गरे, “ट्रम्प फेरि उद्धारकर्ता बने! अन्तर्राष्ट्रिय विद्यार्थी भनेको उत्कृष्ट प्रतिभा आकर्षित गर्ने मुख्य माध्यम हो। यो बाटो बन्द भएपछि के हार्भर्ड उही हार्भर्ड रहनेछ ?”

अमेरिकी गृह सुरक्षा विभागको यो निर्णय अमेरिका र चीन बीचको चर्किंदो प्रतिस्पर्धाको प्रतिबिम्ब हो। ट्रम्प प्रशासनले देशभरका सयौं अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेशाज्ञा रद्द गरिसकेको छ। हार्भर्ड र ट्रम्प प्रशासन बीच महिनौं देखि विवाद चलिरहेको छ, विशेषतः इजरायल-हामास युद्धका सम्बन्धका प्रदर्शनहरूपछि।

अमेरिकी गृह सुरक्षा विभागकी सचिव क्रिस्टि नोएमले हार्भर्डमाथि हिंसा र चिनियाँ बामपन्थी दलसँग सहकार्यको आरोप लगाएकी छिन्। साथै, हार्भर्डका केही साझेदारीहरू सैन्य अनुसन्धान र मानव अधिकार उल्लंघनमा संलग्न संस्थाहरूसँग जोडिएको दाबी गरिएको छ।

हार्भर्डले यस विषयमा प्रतिकृया दिन अझै बाँकी छ। यद्यपि, विश्वविद्यालयले आफ्नो संजालस्थल (वेबसाइट)मा भनेको छ, “हामी १४० भन्दा बढी देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आतिथ्यता गर्न प्रतिबद्ध छौं।”

प्रतिक्रिया