अमेरिका युक्रेनमा युद्ध अन्त्य गर्न वार्ता तर्फ गम्भीर छ या छैन भन्ने मूल्यांकनका क्रममा रूसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग अमेरिकी विदेशसचिव मार्को रुबियोले शनिबार दूरवार्ता (टेलिफोन) गरेका छन्।
“हामीबीच थुप्रै विषयमा कुराकानी भयो,” रुबियोले सिबिएसद्वारा आइतबार प्रसारण हुने ‘फेस द नेशन’ कार्यक्रममा भने। “म उहाँसँग हिजोको वार्ता कस्तो रह्यो भन्ने जानकारी चाहन्थें। त्यो पूर्ण रूपमा समयको बर्बादी भने थिएन।”
यो कुराकानी मस्को र कीभबीच तीन वर्षपछि पहिलोपटक प्रत्यक्ष वार्ता भएको भोलिपल्ट भएको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले टर्कीमा भेटवार्ताको प्रस्ताव गरे पनि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसलाई अस्वीकार गर्दै तल्लो स्तरको प्रतिनिधि पठाएका थिए।
इस्तानबुलमा भएको वार्ता दुई घण्टामै बिना नतिजा सकियो, तर दुवै पक्षले १०००-१००० युद्धबन्दीहरूको आदानप्रदान गर्न सहमति जनाए।
युद्ध अन्त्यका लागि अमेरिका र युरोपेली साझेदारहरूले निरन्तर दबाब दिइरहेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता प्रगति नभएकोमा असन्तुष्टि जनाउँदै प्रतिबन्ध कडा पार्न सकिने चेतावनी दिएका छन्। उनले सोमबार पुटिनसँग दूरवार्ता (फोन) गर्ने र त्यसपछि जेलेंस्कीसँग पनि कुरा गर्ने बताएका छन्।
“रूसले समय लम्ब्याउने छ या छैन भन्ने चाँडै पत्ता लाग्नेछ,” रुबियोले भने। “हामी शान्ति चाहन्छौं, तर समय खेर फाल्ने अवस्था छैन।”
रुबियोले ट्रम्प र पुटिनको प्रत्यक्ष भेटवार्ता नै वार्तालाई अगाडि बढाउने एक मात्र उपाय भएको बताए। पवित्र शहर रोममा आयोजित नवनिर्वाचित पोप लियो चौधौंको उद्घाटनमा सहभागी हुन पुगेका रुबियोले भ्याटिकनले वार्ताका लागि स्थलको प्रस्ताव गरेको र सबै पक्षका लागि उपयुक्त स्थान हुने बताए।
पोप लियो चौधौं पहिलो अमेरिकी मूलका पोप(सर्वोच्च धर्मगुरु) जसले गत मे ८ मा पद ग्रहण गरेका हुन् । उनले आफ्नो पहिलो आइतबारको आशीर्वादमा युक्रेनमा “न्याययुक्त र दिगो शान्ति” स्थापना गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
प्रतिक्रिया