सुरक्षाबाट राजावादीमा बढेको असुरक्षा: दास मानसिकताबाट उन्मुक्ति कहिले ?

मदन बस्नेत, टोरोन्टो २०८२ वैशाख १६ गते २१:४५ मा प्रकाशित

गत साता रिलिज भएको अभिनेत्री सुरक्षा पन्तद्वारा अभिनीत नेपाली कथानक चलचित्र ‘’खेल’’ व्यावसायिक रुपमा त्यति धेरै नचले पनि राजनीतिक रुपमा भने त्यसले निकै धेरै चर्चा पायो र अभिनेत्री सुरक्षा पन्तको बारेमा त सामाजिक सन्जालमा उधुम नै मच्चियो।

चर्चा उनले अभिनय गरेको र सिनेमा घरमा प्रदर्शन भएको सिनेमाको भन्दापनि चर्चित टिलिभिजन कार्यक्रम रजतपटमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यकाबारेमा दिईएको अभिनेत्रीको अभिव्यक्तिको कारण भएको थियो जुन यद्यपि कायमै छ।

हुँदोनहुँदो पद र पाउँदै नपाएको पदावीले कसैलाई जबर्जस्ती सम्मान गर्नैपर्छ भन्ठान्ने र एउटा विरासत प्राप्त वंश परम्पराको व्यक्ति र संस्था जसलाई मुलुकको अहिलेको संबिधान, कानून र राजनीतिक प्रणाली कसैले पनि चिन्दैन जान्दैन उनीहरूका बारेमा बोल्दा अभिनेत्रीद्वारा जी हजुर, आइस्योस, खाइस्योस, गइस्योस, बक्सियोसको सामन्ती भाषा प्रयोग नगरिएको अभियोगमा एकथरी अतिबादी झुण्डहरुको मनपेट भतभती पोलेको देखिन्छ।

गणतन्त्र आएको यतिका बर्ष भईसक्दा पनि अझै एउटा वंशलाई सर्वोच्च धरोहर मानेर उनीहरूका छायालाई देख्दा पनि आफ्नो शीरको टोपी नै भुइँमा झर्ला जस्तोगरी धनुषटंकार शैलीमा जदौ दर्शन गर्ने आदत बसेका रैतीहरुको त्यो पुरानो चाकरी स्वभाव र दरिद्र मानसिकतामा खासै कुनै परिवर्तन आएको रहेनछ भन्ने तथ्यलाई उजागर गरिएको छ – सुरक्षा पन्तको फिल्म “खेल” बहिष्कारबादीहरुको पछिल्लो हर्कतले।

हुक्के ढोके बैठके द्वारेको आदत बसेका सामन्ती ब्यबस्थाका रैतीहरुलाई उनीहरुका ख्वामितहरुलाई अरु जनता सरह व्यबहार गर्दा पिँधबाट धुँवा आउनु अस्वाभाविक हैन। त्यो उनीहरूको ब्यक्तिगत गल्ती भन्दा पनि संस्कारगत स्वभाव नै हो। त्यसैले रैतीका मनपेट भतभती पोल्यो भन्दैमा अरुले मन गर्हुंङ्गो गर्न भने आवश्यक छैन। नेपाली सिनेमा कोही राजाबादीले हेरेर चल्ने अनि नहेरेर फ्लप हुने भन्ने होईन। के हिजो चलेका अनि व्यावसायिक रुपमा सफल ठहरिएका सबै सिनेमाहरु राजाबादीको उर्दीले सफल भएका हुन् र ? चलचित्र “पूर्णबहादुरको सारंगी” “१२ गाउँ” “छक्कापन्जा” ती सबै राजाबादीले गर्दा हिट भएका अनि अरु व्यावसायिक रुपमा असफल चलचित्रहरु कथित राजाबादीहरुको बिरोध वा प्रतिरोधले गर्दा डुबेका हुन् र ? कहिलेदेखि लिन थालेको हो राजाबादीको झुण्डले नेपाली सिनेमा चलाउने नचलाउने, हिट गराउने वा फ्लप गराउने ठेक्का ?

सुरक्षा पन्तको अभिव्यक्ति राजपरिवारका सदस्य प्रत्ति गरिएको निकै भद्दा र अपमानजनक टिप्पणी लाग्ने अनि सार्बजनिक रुपमा माफी माग्न उर्दी जारी गर्ने रैतीहरुले उनीहरूले आदर्श मानेको पूर्व युवराजको हाउभाउ र दैनन्दिनको ब्यबहार प्रती खेद प्रकट गर्न पर्ने कि नपर्ने ? श्रीमतीको भन्दा लामो जुल्ठो पाल्ने, शरीरभरि टाटु खोपाउने, दिनदहाडै नशामा मातेर हिंड्ने, कानून धज्जी उँडाउदै बिना हेल्मेट बाईक कुदाउने, ड्युटीमा खटिएका ट्राफिक जवानमाथी हातपात गर्ने, घरकि बुढीको बेवास्ता गरेर युवती फेरिफेरी खुलेयाम डेटिङ गर्दै हिंड्ने पूर्व युवराजको चर्तीकला ठिक अनि अभिनेत्री सुरक्षा पन्तको अभिव्यक्तिको स्वतन्त्रता बेठिक ? मात्र एउटा परिवारमा जन्म लिएको भरमा सबैले तलुवा चाट्नु पर्ने र जयजयकार गर्नै पर्ने सामन्ती बिचारलाई किमार्थ उचित ठहर्याउन सकिन्न।

सुरक्षा पन्तलाई राजा मान्ने वा नमान्ने त्यो ब्यक्तिगत अधिकार छ। उनले आफ्नो अधिकार प्रयोग गरेर राजा नमान्न पनि मज्जाले सक्छिन्। तर राजा नमानेकै भरमा उनलाई नीच शब्द प्रयोग गरेर गाली दिन हुन्न, पाईन्न। राजाबादी भन्ने र दावी गर्नेहरुले जे जस्तो बोल्छ्न् वा रुचाउँछन् ठिक त्यस्तै भाषा वा शैली अरुले पनि अपनाउनु पर्छ भन्नू सर्वथा गलत हो, अबको यो आधुनिक युगमा त्यो संभव छैन। जबर्जस्ती कसैका पक्ष मै बोल्नु पर्छ, आफुलाई लागेको बिचार स्वतन्त्रपूर्वक निर्धक्क राख्न पाईन्न, धक मानिमानी बोल्नु पर्छ भन्ने दिन अब गए, त्यो कालरात्रीको इतिहास टुंगिसकेको छ।

सुरक्षा पन्तलाई एउटा कलाकार भएको नाताले सबैलाई मन पराउनै पर्छ वा उनले अभिनय गरेको फिल्म हेर्नै पर्छ वा चल्नै पर्छ भन्ने होईन। उनलाई मन नपराउन पनि पाईन्छ तर निर्भीक भएर स्वतन्त्रतापूर्वक अभिव्यक्ति राखेकै कारण उनीमाथी आक्रोश पोख्न, ब्यक्तिगत लान्छना लगाउन, मानमर्दन गर्न र सामाजिक रुपमा ह्यारेसमेन्ट र डिजिटल्ली बुलिंग गर्न भने पाईन्न।

मुलुकले जीवन पद्धतिको रुपमा अवलम्बन गरिसकेको संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा खुलेर वोल्न सार्बजनिक रुपमा लब्धप्रतिष्ठित कतिपय ब्यक्तित्वहरु अझै पनि “कम्फर्ट फिल’’ नगरिरहेका वेला पुर्व राजपरिवारवारे अभिनेत्री सुरक्षा पन्तको अभिब्यक्ति विल्कुल स्वाभाविक, सहज र साहसिक छ। पूर्वनवयुवराज हृदयन्द्र शाह सम्बन्धी विषयमा उनले गरेको टिप्पणी एउटा कलाकारको नजरले हेर्दा त्यहाँ आपत्ति जनाउने पर्ने कुनै कारण नै छैन। युवा पुस्तामा उनको फ्यानफलोवर्स छ्न् भन्नू अपराध हैन, त्यो यथार्थ हो।

पूर्वनवयुवराज हृदयन्द्र शाहलाई उनले चलचित्र क्षेत्रमा आउन गरेको आव्हानमा आपत्ति किन ? एउटा कलाकारले हेर्ने, बुझ्ने, देख्ने भनेकै आफ्नै क्षेत्र कलाकारिता हो। रातदिन अभिनयमा ब्यस्त कलाकारले कलाको बारेमा नबोलेर के अब उनले पूर्वनवयुवराज हृदयन्द्र शाहलाई श्रीपेच लगाउन निम्तो दिनु पर्थ्यो? अनि, उनले श्रीपेच लगाउन निम्तो दिएको भए वा नारयणहिटीमा गद्दी आरोहण गरौं भनेर अनुरोध गरेको भए हृदयेन्द्र यो देशमा राजा भईहाल्थे ? सुरक्षाले अन्यथा बोलेकैले के अब पूर्वनवयुवराज हृदयन्द्र शाहको सदासर्वदाकालागी राजगद्दी खोसिएको हो ? सत्य यदि त्यसो हैन भने कथित राजाबादीहरुले छाती पिटिपिटी रोईलो मच्याउनुको अर्थ के ?

टाढा किन जानू ? ती पारी भारतका कलाकार हेरे कुरा स्पष्ट छ त। भारतका हिजोका राजपरिवारका सदस्यहरु बलिउडमा यतिखेर राम्रै जमेका छ्न्, हिरो हिरोईन भएका छ्न् ! सेफ अलिखान अनि उनकै छोरी सारा अलि खान हिन्दी सिनेमामा राम्रै चलेका छ्न्। ज्योतिराज्य सिन्धिंया अहिले भारत सरकारको केन्द्रीय मन्त्री छ्न्, उनी आफै हिजोका राजघरानाका रोलक्रम चढेका ब्यक्ती हुन्। उनी राजनीतिमा सकृय छ्न, सफल छ्न्। नेपालकै उदाहरण हेर्ने हो भने पनि हृदयेन्द्रका बूढा हजुरबुबा राजा महेन्द्र पनि कलाकार हुनुहुन्थ्यो, सर्जक हुनुहुन्थ्यो। हजुरआमा चाँदनी शाह नामले साहित्यिक रुपमा परिचित छिन्। हजुरबुबा ज्ञानेन्द्रको “जि शाह” अर्को उदाहरण हुनसक्छ।

त्यसरी हेर्दा अभिनेत्री पन्त आफू जुन क्षेत्रसंग सम्बन्धित छिन्, उनले पूर्वनवयुवराज हृदयन्द्रलाई आफ्नो त्यही क्षेत्रमा आउन अनुरोध गरिन्, आपत्ति किन ? डाक्दैमा जानै पर्छ भन्ने पनि छैन। हेक्का रहोस, संसारका धेरै देशमा अझै पनि राजतन्त्र छ । कति राजपरिवारका सदस्य कला क्षेत्रमा छन् । तर त्यहाँ राजपरिवारबारे यत्तिको टिप्पणीलाई कत्ति पनि अनैतिक मानिन्न । यहाँ सकिनसकी बिरोध गरेर एउटा कलाकारको मानमर्दन गर्न एउटा झुण्ड हात धोएरै पछी लागेको छ। गणतन्त्रको दुई दशक पछी पनि कतिपय मानिसमा गडेको हिजोको त्यो दास मानसिकता सुरक्षा पन्त प्रकरणमा ह्वांग भएको छ।

हो, यो साँचो हो कि युवा पुस्तामा पूर्वनवयुवराज हृदयन्द्र शाहको लोकप्रियता एकदम धेरै छ। उनलाई मनपराउने धेरै छ्न् फ्यान फलोवर्स उच्च छ। उनी शारीरिक रुपमा आकर्षक छ्न् र सिनेमा खेल्न एकदम लायक देखिन्छन्। एउटा कलाकारका रूपमा उनले ह्रुदयन्द्रमा त्यस्तै देखिन्। जे देखिन् त्यस्तै भनिन् । त्यसमा असम्मानको कुनै गन्ध छैन । सुन्दर हुनुहुन्छ, लोकप्रिय हुनुहुन्छ, त्यो उमेर समूहमा ठूलो फ्यान फलोइङ् छ, सिनेमा या कलाको कुनै क्षेत्रमा सफल हुन सक्नुहुन्छ भन्नु कसरी गाली हो ? कसरी अपमान भो ? एउटा कला क्षेत्रको मान्छेले आउनुस् सिनेमा क्षेत्रमा भन्दा अपराधै गरे जस्तो बिचरा ती राजसेवकहरुलाई कोलाहल नै किन मच्याउन परेको ?

सुरक्षा पन्त राजनीतिक ब्यक्तित्व भएको भए शायद उनले प्रधानमन्त्री बन्न वा रास्ट्रपति बन्न वा पार्टी खोलेर चुनाव लड्न भन्थिन होला तर उनी आफू कला क्षेत्रकि भएकी हुनाले कला क्षेत्रमा आउन निम्तो दिइन्। अब उनको त्यो निम्तो मान्नै पर्छ, जसरी पनि कलाकार बन्नै पर्छ, अन्य पेशा वा रोजगारीमा जानू हुन्न भनेर उनले उर्दी जारी गरेकी त हैनन् नि ? अनि सुरक्षा पन्तले भनेको नमाने, नसुने वा त्यसको पालना नगरे के कुनै ठुलै दण्ड वा जरिवाना हुने हो र ? होईन भने, एउटा कलाकारले अभिव्यक्त गरेको धारणालाई लिएर आकाशै खसेजस्तो त्राहिमाम् किन ?

एक छिनलाई मानौं कि राजतन्त्र फर्कियो रे, त्यसो भयो भने हृदयेन्द्र शाह राजकुमार बन्ने लाईनमा आउलान्। हैन, त्यस्तो भएन भने र अहिलेकै गणतान्त्रिक ब्यबस्था नै जारी रह्यो भने हृदयेन्द्र शाहले के यी र यस्तै अन्धोभक्त रैतीहरुको जयजयकारमा मख्ख भएर यत्तिकै डुकुलन्ठ भएर बसिरहने हो र ? आफ्नो योग्यता, दक्षता, रुचि र क्षमता अनुसारको कुनै क्षेत्र या पेशामा नलाग्ने ? किन उनलाई निकम्मा बनाउन उद्द्त छ्न् कथित राजाबादीहरु ?

अभिनेत्री सुरक्षा पन्तको अभिव्यक्तिलाई आवश्यभन्दा बढी उछालेर उनलाई सबक सिकाउन उद्द्त एउटा झुण्डलाई लागेको होला कि उनको करियर सकियो, फिल्म डुब्यो। तर बास्तबिकता उनीहरुले सोचे भन्दा ठिक बिपरित भएको छ। विवाद र कन्ट्रोभर्सीका बीच सुरक्षा पन्त भाईरल भएकी छिन, उनको चर्चा परिचर्चा चुलिएको छ। एउटा स्वतन्त्र विचार राख्ने हिम्मतलाई विकृत र दुस्साहस साबित गर्ने सम्पूर्ण प्रयास अन्ततः असफल भएको छ।

एउटा फिल्मकर्मीमाथि नियोजित र व्यक्तिगत रुपमा एकोहोरो आक्रमण भइरहँदा पनि सहकर्मी सिनेकलाकारहरुले ऐक्यबद्धता जनाएका छैनन्। बरु उल्टै मौनता साँधिरहेका छ्न्। फिल्मकर्मीहरूको हकहितका लागि खोलिएका सम्बन्धित संघसंस्थाहरू पनि खै कुन स्वार्थले हो कुन्नि कानमा तेल हालेर बसेका छ्न्।

हिजोका दिनमा प्रकाश सपूत, त्यसअघि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी, दिपकराज गिरी, दिपाश्री निरौला, पूजा शर्मा, सौगात मल्ल, आँचल शर्मा, बर्षा राउत, रजतपट कार्यक्रमका प्रकाश सुबेदी लगायत अन्य थुप्रै सिनेकर्मी विरुद्ध व्यक्तिगत आक्रमण गरियो, साईबर बुलिंग भयो र डिजिटल हिंसा गरियो तर बिडम्बना फिल्मकर्मी कसैले पनि चुँईक्क बोलेनन्। सबै मुखमा भोटेताल्चा लगाएर बसे। चिन्ता बुढी मरी भन्ने हैन, काल पल्कियो भन्ने हो। चेतना भया !

मदन बस्नेत, टोरोन्टो

प्रतिक्रिया