राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो १०० दिनभित्र अमेरिकी विदेश विभागले ४,००० विदेशी विद्यार्थीहरूको प्रवेशाज्ञा (भिसा )रद्द गरेको छ। तीमध्ये करिब ९० प्रतिशत विद्यार्थीहरूसँग गम्भीर आपराधिक इतिहास( अभिलेख) रहेको पुष्टि भएको छ।
विदेश विभागका एक वरिष्ठ अधिकारीले फक्सन्यूजसँग कुरा गर्दै भने, “हाम्रो भिसा प्रणालीमा लामो समयदेखि पारदर्शिता र जवाफदेहिताको अभाव थियो। अहिले ट्रम्प प्रशासनले प्रणाली सुधारको ठोस कदम चालेको छ।”
विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा राज्य विभागले ‘सर्जिकल भेटिङ(गहन पृष्ठभूमि जॅाच) प्रणाली लागू गरेको छ, जसले आपराधिक गतिविधिमा संलग्न विदेशीहरूको प्रवेशाज्ञा खारेज गर्ने काम गरिरहेको छ।
न्यूयोर्क पोष्टका अनुसार, रद्द गरिएका भिसाधारी विद्यार्थीहरूका आपराधिक गतिविधिहरूमा आगजनी, मानव तथा वन्यजन्तु तस्करी, बाल अधिकार उल्लंघन, घरेलु हिंसा, मद्यपान सेवम गरेर सवारी सञ्चालन, डकैती लगायतका गम्भीर अपराध समावेश छन्।
खासगरी ५०० भन्दा बढी विद्यार्थीहरूसँग आपराधिक आक्रमणको अभिलेथ रहेको छ।
विदेश विभागको भनाइ छ, “हामी कानूनको पालना नगर्ने विदेशी नागरिकलाई यहाँ रहन दिन्नौं। यो प्रभावकारी शासनको उदाहरण हो।”
यो कदमले आपराधिक प्रवृत्तिका विदेशी विद्यार्थीहरूको रोकथाम मात्र होइन, समग्र अमेरिकी सुरक्षा प्रणालीलाई बलियो बनाउने विश्वास ट्रम्प प्रशासनको छ।
प्रतिक्रिया