“बिनाशकाल बिपरीत बुद्धी”

इनेप्लिज २०८१ चैत १३ गते २२:३७ मा प्रकाशित

लक्ष्मी श्रेष्ठ

आकाश निर्मल छ। बादलका टुक्रा टुक्री पनि कतै देखिदैन। हरेक बिहान मलाई न्यानो स्पर्श गर्ने रबि सायद आजपनि मलाई सडकमा नदेखेर होला न्यास्रीएर मेरो ठेगानाको झ्यालबाट चिहाएर डाँडा माथि पुगिसकेको छ। मन्द-मन्द गतिमा बहेको पवन मेरो झ्याल बाहिरको रुखका हाँगाहरुसंग ठट्ठा मस्ती गर्दै कानेखुसी गर्दैछन्। हाँगाहरु पनि के कम? बसन्तको आगमनसंगै सोह्र बर्षे सुन्दरी झैं यौबनले मस्त हुँदैगरेका आफ्ना डालीहरुलाई हेर्दै, मुसार्दै पवनसंग मसक्क मस्कंदै पवनको लहरसंग प्रिति साट्दै जिस्कंदै-हल्लंदै नाचिरहेझैं देखिन्छन्।

हो बुढापाकाको भनाई छ नि “सबैको दिन फेरीन्छ यो संसारमा। यो संसार चलायमान छ। समय संधै एकनास हुँदैन। कुमालेको चक्र जस्तै संसारको चक्र एकनासले घुमिरहेको हुन्छ। त्यसैले त हिंजो-अस्तिसम्म कसैको नजर आफुमाथि नपरोस् भनेर लाजले खुम्चिएर शिर निहुराईरहेकी रुख आज खित्ख्ताउँदै, रमाउँदै मलाई पनि बिछ्यौनाबाट उठ्न हौसाउँदैछन् उनीहरुसंगै हास्न रमाउन।

समय संधै एकनास हुँदैन। कुमालेको चक्र जस्तै संसारको चक्र एकनासले घुमिरहेको हुन्छ।

बिछ्यौनाको छेउमै रहेको टेबलमा डेक्युल, नाईक्युल, एलर्जी को औषधि, नजल ड्रपले मलाई हेर्दै मेरो खिस्सी उडाईरहेझैं लाग्छ। म चुपचाप आफ्नो बिछ्यौनामा सिरानीको अडेस लगाएर ३ वटा झ्यालबाट देखिने दृष्यहरु धित् मरुन्जेल हेरिरहेछु। बाटोको पेटीमा फाट्ट-फुट्ट मान्छेहरु हिंडीरहेछन्। सेभेन ट्रेनको आवाज बेला-बेला मेरो कानमा ठोक्कीरहेछ। काममा नगई घरमा नै डेरा जमाएको पनि ४ दिन भैसकेकोछ। रुघा-खोकीले गएको आईतबार देखि नै ग्रस्त पारेर ओछ्यानमा ढालेकोछ। घरि-घरि घरभित्र पनि मास्क लगाएर भित्र बाहिर ओहरदोहर चलिरहेछ। आमा भन्नुहुन्थ्यो “मान्छे पो आफ्नो हुन्छ रोग-ब्याध त आफ्नो हुँदैन बाबै!”

परिवारको अरु सदस्यहरुलाई सर्ला भन्ने चिन्ताले सकेसम्म आफ्नो बिछ्यौनामा नै सिमित भैरहेछु म। यसमै सबको भलाईछ। विचरा छोरा अनुज कलेजको १ हप्ताको छुट्टीमा शनिवार घर आएको फर्किने समय भैसक्यो एक छाक आफ्नो हातले पकाएर खुवाउन पनि पाएको छैन। सकेसम्म आफ्नो अगाडिनै पर्न दिएको छैन।

श्रीमान को काम तै-तै रिमोट्ली चलिरहेको छ र पो बेला बेला तातो पानी, चिया खान पाईन्छ। विचरा श्रीमान कामबाट फुर्सद निकालेर ब्रेकफास्ट, लन्च तयार पारेर खुवाउनुहुन्छ। समयको कस्तो तालमेल? चार बर्ष अगाडि २०२० को मार्चद्खि घाँटी दुखेर, खस्खस् गरेर १५ महिना घरबाट काम गरेर नै बिताएको थिएँ अनि यो मार्चमा पनि ठीक त्यै स्थितीबाट गुज्रनुपरिरहेकोछ। फरक यत्ति छ त्यत्तिबेला कोरोनाको प्रकोपले चाहेर पनि घरबाट निस्कन सकिंदैनथ्यो भने यो पाली निस्कन मिल्छ तर शरीर कमजोर परेकोले निस्कने शक्ति नै छैन। गज्जब छैन त?

यसपाली फेरी मार्च १३ तारीख देखि नै मेरो रक्तचाप बढेर पनि हैरान पार्यो। रक्तचाप घटाउन के मात्रै खाईंन होला। सुनेजति, देखेजति अनि जानेजति सबै पात पतिंगरको जुस, निम पत्ताको जुस सबै आँखा चिम्लेर पिएँ।एकदिन मर्नु नै पर्छ भनेर जान्दा जान्दै पनि यो मान्छेलाई मरिएला भन्ने कत्रो पीर!

बल्ल-बल्ल अस्ति गएको शनिवार मार्च २० तारीख श्रीमानको सक्रियतामा डा.को एपोईन्टमेन्ट पाएर जचाउन गएँ। यहाँ त डा. को एपोईन्टमेन्ट पाउन पनि गाह्रो पो छ त। तै-तै डा. को बुढीलाई अनुरोध गरेपछि कसैले एपोईन्टमेन्ट क्यान्सल गर्यो भने फोन गरिहाल्नुहुन्छ र पो त डा. साबको दर्शन पाईन्छ। नत्र त महिनौं पनि कुर्नुपर्छ। डा. साबले ईसीजी गराउनुभयो सबै ठीक छ भन्नुभयो।

१२ तारीख गरेको मामोग्राम र मेरो अल्ट्रासाउण्डको रिपोर्ट पनि आएछ त्यो पनि ठीक छ भन्नुभयो अनि यसपाली उच्च रक्तचापको औषधि पनि फेरीदिनुभयो र वालग्रिनमा आएर औषधि लियौं र रक्तचाप नाप्ने नयाँ मेशीन पनि किन्यौ। घर आएर नापेको त गज्जबको कुरा रक्तचाप घटेछ! यो देखेर श्रीमान खुसीले मुसुक्क मुस्कुराउनुभयो। उहाँको अनुहारमा छाएको खुसी र ओंठको मुस्कुराहट देखेर मेरो मनमा शान्ति छायो। एक-अर्काको अनुहार हेर्दै हामी “डा. साबको करामत भन्दै खित्खितायौं।” आखिर हामी मान्छेको जीवन यीनै आशा, भरोषाको त्यान्द्रो र झिना-मसिना खुसीहरुको वरिपरी नै त अल्झिरहँदोरहेछ नि!

मेरो बाबा-आमा त भगवानको घर जानुभएको धेरै समय बितिसकेकोछ। आफ्नो देशमा बुढा-बुढ़ी भएका सासु आमा र शसुरा बाको याद आउँछ।

यो माया भन्ने कुरा संधै किन ओरालो लाग्छ? उकालो पनि लागोस् न कहिले काँही त झैं लाग्छ। मेरो बाबा-आमा त भगवानको घर जानुभएको धेरै समय बितिसकेकोछ। आफ्नो देशमा बुढा-बुढ़ी भएका सासु आमा र शसुरा बाको याद आउँछ। मैले धर्म बा मानेको मलाई आफ्नै छोरी झैं माया गर्ने पृथ्बी मान बा र धर्म आमा सरस्वती आमा, मैतिदेबीको ममीहरु, रुक्मणी ममीको याद आउँछ। मामा-बाजे-माईजु बज्यै र सबै परिवार, साथी-संगीहरुको याद आउँछ।
मन भुरुरु उडेर नेपाल पुग्छ।

अस्ति भर्खरै बित्नु भएको मिठु निनीको सम्झना ताज़ा भएर फिल्मको रिल झैं झलझली आँखा वरपर घुम्छ।खाउँ-खाउँ, लाउँ-लाउँ भन्ने उमेरमा भगवानले चुँढेर लगेको काका-काकीको एउटै सन्तान निश्चल बाबुको सम्झनाले सताउँछ। त्यसमाथि काका-काकीलाई लागेको गहिरो चोट सहन कति गाह्रो भैरहेको होला भन्ने सम्झेर मन भत्भती पोल्छ। तर बत्ती बालेर उहाँहरुको लागि भगवानसंग प्रार्थना गर्नु सिबाय अरु बिकल्प पनि छैन म संग। काका-काकीहरुलाई फोन गरेर सान्त्वना दिने शब्द नै मसंग छ नत फोनगर्ने हिम्मत नै जुटाउन सकेकोछु। यो बिषयले पनि मलाई भित्र भित्रै झम्टी झम्टी चिथोरीरहेकोछ।

यी सबै कुरा सम्झिंदा अस्ति कुराकानीको शिलसिलीमा मेरी साथीले भनिन् “ यो ट्रम्प सरकारले हामी सबै आप्रवासीहरुलाई तिमीहरु सबै आ-आफ्नो देशमा फर्क भनेर पठाए भने मात्र हामी आफ्नो देशमा फर्कन्छौं। पठाएपनि हुन्थ्यो।”

यसो विचार गर्दा मलाई पनि उनको कुरा ठीक लाग्यो “ जबसम्म ट्रम्प सरकारले ईज्जतका साथ तिमी आप्रबासीहरु सबै आफ्नो देशमा फर्क आ-आफ्नो झिटी गुण्टा बोकेर” भनि उर्दी जारी गर्दैन तबसम्म कोही आफ्नो देशमा फर्कने वाला छैन। यो हरियो डलरको लोभले कसैलाई छोड्नेवाला छैन। अरुको कुरा छाडौं मेरै कुरा गर्दा पनि छोरी त आत्म निर्भर बनिसकी अब छोरालाई पढाउनुछ। उसको पढाई नसकिंदै छोरा-छोरी प्रति आफ्नो कर्तव्य पूरा नगरी हिंड्ने कुरा पनि आएन। तर आफ्नो जन्मस्थान फर्केर देशको केही सेवा गर्नुपर्छ भन्ने सोंचाईले मनमा जरा नगाडेको त कहाँ हो र? तै तै अब छोराको कलेज सकिएपछि आफ्नो देश फर्किनु पर्छ। मनमा एउटा अठोट लिन्छु। यस्तै कुराहरु मनभरी खेलाउँदै सन्चो नभएर टाउको गह्रुंगो भै ३/४ दिन देखि राम्ररी हेर्न नसकेको फेसबुक पल्टाउँछु।

ओहो! देशमा त ओली सरकारले फेरी कुलमानलाई बाँकी रहेको ४ महिनाको अबधि पनि पुरा हुन नपाउँदै बिद्युत प्राधिकरणबाट बाई-बाई पो गरिसकेछन् बा! के अचम्म हो यो?

ओली सरकारको बिरोध गर्न माईतीघर मण्डलामा ठुलो र्याली पो निस्केकोरहेछ। अर्कोतिर गणतन्त्रको रक्षा गरौं भन्दै युवा संघको जुलूस। हे भगवान! अस्ति समाचारमा पढेकी थिएँ बिभिन्न उद्योगले तिर्नुपर्ने करौंडौ करोड राजस्व नतिरेकोले बिद्युत लाईन काटीदिएकाले कुलमानलाई सरकारले जोडीदेउ भन्दा जोड्न नमानेकोले निकाल्न खोज्दैछन् भनेर। आखिर निकालेरै छोडेछन्।

त्यसैले “सतिले सरापेको देश” भनेको त त्यसै हैन नि! हाम्रो नेपाललाई। देशलाई टुक्रा टुक्रा पारेर बेचेर सक्न लागिसके। अब आमाको करंगबाहेक शरिरमा केही बाँकी नभैसकेको अबस्थामा बाँकी रहेको एउटा राम्रो उद्योग बिद्युत प्राधिकरण पनि मासेर आफ्नो दमाहा जत्रो भूँडीमा यि दुष्ट भष्माशुरहरुले न हशुरी शान्तिको स्वाँस फेर्ने भएनन् यो सरकारले। देखा- देख कस्तो लाज पचाउन सकेको यो सरकारले। कतै ति ब्यापारीहरुसंग चन्दा हशुरेको त छैन, अस्ति ब्यापारीसंग जग्गा उपहार लिएको जस्तै। नत्र सरकारलाई तिर्नु पर्ने राजस्व तिर अनि लाईन जोडीदिन्छु भन्दा किन यत्रो नाटक यो? राजस्व तिर भनेर सरकारले उद्योगहरुलाई दबाव दिनु त कता हो कता?

भ्रष्ट नेता हो, समय निकै घर्कीसकेको छ। तर अझै पनि तिमीहरुमा अलिकति पनि लाज-सरम बाँकी छ ?

उल्टो पो एउटा प्रतिभाशाली ईमान्दार कर्मचारीलाई सरकारले पदबाट हटाउन “ चाडैं खाउँ जल्दी मरुँ झैं गर्छ”। धिक्कार छ तिमीहरुजस्ता देश बेचुवा पापी भ्रष्टहरुलाई। आफ्नो ब्यक्तिगत फाईदामा लुप्त भएर तिमीहरु यत्ति लोभी-पापी बनेर आफ्नो आमा र आफ्नो आत्मालाई पनि बेच्न सक्ने, घृणा गर्न पनि घिन लाग्ने भ्रष्ट कुपुत्र भएर निस्कन्छौ भनेर आमालाई भनक मात्रै परेको भए आमाले तिमीहरुलाई कोखमा नै तुहाईदिन्थिन् होला। देश र जनताको लागि केही गर्छु भनेर राम्रो काम गर्न अघि सर्ने युबाहरु त तिमीहरुलाई आँखाको कसींगर झैं हटाउन हत्तार भैहाल्छ। हटाउने मात्र हो र सकेसम्म साम, दाम, डण्ड भेद अपनाएर जरा उखेल्न नै खोज्छौ नि!

यस्तो तन्त्रलाई पनि गणतन्त्र भन्छ छिःछिः यसलाई त तानाशाही तन्त्र भन्नुपर्छ। मर्न लागेको कमिलाले पनि पखेटा उचाल्छ रे नि! अनि बिनाश काल बिपरीत बुद्धी भनेको यही हो।

भ्रष्ट नेता हो, समय निकै घर्कीसकेको छ। तर अझै पनि तिमीहरुमा अलिकति पनि लाज-सरम बाँकी छ भने करौंडौ जनताको भविष्यमाथि फुटबल खेल्न छाडेर देश र जनताको हकमा जनताको काँधमा काँध र कदममा कदम अघि बढाएर देशको समुन्नत्तिमा अघि बढ। यसमै सबको कल्याण छ। बिदेशमा थुपारेको खरबौं-खरब पैसा ल्याएर आफ्नो देशमा उद्योग धन्दा खोली जनतालाई गरीखान रोजगारीको सृजना गर।

निमुखा नेपाली दाजु-भाई, दिदी-बहिनीहरुलाई बिदेशको अलकत्रा पग्लिने गर्मी खान बिबस नबनाउ। परिवारको बिचल्ली नपार। नत्र तिमीहरुलाई ति निमुखा जनताको सराप लाग्नेछ। अकुत धनले तिमीहरुलाई पोल्नेछ।

याद राख, नत्र भोलि त्यो कालो धनले तिमीले एक प्रहर निन्द्रा पनि किन्न सक्नेछैनौ।

यो पनि याद राख कपुतहरुहो, अब जनता जागीसकेकाछन्। तिमीहरुका केही चम्चाहरु बाहेक नेपाली जनताहरु अब चुनाबमा मासु, भात, मदिरा, सुरा, सुन्दरीमा बिक्नेवाला छैनन्।

जय आमा नेपाल।

लक्ष्मी श्रेष्ठ
सुन्दरीजल, काठमाडौं
हालः न्युयोर्क, यु. एस. ए.

प्रतिक्रिया