त्यसबेला म कक्षा आठमा पढ्थेँ।स्कूलको ड्रेस सेतो सर्ट,निलो फ्रक सेतो जुत्ता सेतै मोजा लगाउनुपर्थ्यो।म कक्षा आठसम्म घर नजिकैको स्कूलमा पढेर आठ कक्षादेखि नयाँ स्कुल पढ्न थालेकोले स्कूलले विद्यार्थीका लागि तय गरेको नियमसँग म अपरिचित नै थिएं।स्कूलले पनि खासै जानकारी गराएको थिएन।पुषको महिना थियो।म सेतो सर्ट, निलो फ्रक, सेतो जुत्तामा सेतै मोजा र हरियो स्वेटर लगाएर स्कुल गएं। स्वेटरबाहेकका लुगा मैले आफ्नै लगाए पनि स्वेटरचाहिँ हामी दाजुहरु र म पालैपालो लगाउँथ्यौँ भनौं साझेजस्तो थियो त्यो वस्तु हाम्रा लागि।दु:खको तराजुले हामीलाई यसरी बरोबर गरिबी बाँड्न सिकाएको थियो।
हाम्रो घरबाट विद्यालय पुग्न लगभग अढाई घण्टा लाग्थ्यो।बिहानभर घरको काम सकेर राम्रोसँग भर्सिनसमेत नपाएको तातातो भातको गाँस टिपेर स्कुल पुग्दा एसेम्ब्ली(बिहानको प्रार्थना)को समय पनि दस बार्ह मिनेट अबेर भैसकेको थियो।मलाई सजिलै भयो किताबको झोला राख्न कक्षाकोठामा नपुगी साथीहरु बसेको लाइनमा सबभन्दा पछिल्तिर बसेर गाउँछ गीत नेपाली भन्ने गीतमा स्वर मिलाउँदै थिएं।हेडसर लाइन चेक गर्दै हाम्रो छेउछाउ घुम्दैहुनुहुन्थ्यो।हामी खुब अनुशासित भएर आफ्नो काम गरिरह्यौँ।
एक्कासि पछाडिबाट कसैले काँचो छ्डीले जोडसँग मेरो ढाडमा हिर्कायो।म सहन नसकेर रुन थालें आवाज आउँनेगरि रुँदा साथीहरुले गिज्याउलाछन् ठानेर आवाज रोक्दै घुक्क घुक्क रुन थालें।लगातार ३/४ छडी हानिसक्दा पनि मैले पछाडि फर्केर मलाई कुटपिट गर्ने पात्र हेर्न सकिनं।`हरियो स्वेटर यो स्कूलको ड्रेस हो? यही हो अनुशासन,?´ यस्ता वाक्यहरुले गाली गर्दै अगाडि आएपछिमात्र मैले छडी हान्ने पात्र हेडसर नै भएको थाहा पाएँ।
कक्षाकोठामा पुगेपछि म दिनभर बसेर पढ्न नसक्ने भएं।पछाडि ढाडभन्दा तल्लो भागमा बेस्सरी सुम्ला उठेको थियो।त्यसले गर्दा मलाई बेन्चमा बस्न कठिन भयो।एकछिन त छड्के भएर बसें तर ज्वरो आएजस्तो भएर मलाई धेरै गार्हो भएको थियो।मेरो पीडा मैले कुनै साथीभाइलाई सुनाउन सकिन।आफैंभित्र आँसु लुकाएर ज्यादै कठिनले मैले चार घण्टी बिताएं।टिफिन समय भएपछि सबै साथीहरु खेल्न गए म घरतिर हिंडे।बाटोभरी बस्दै थकाइ मार्दै अबेर घर पुगें।
केटाकेटीले गरेको बिगार र गाइवस्तुले फुकेर खाएको बाली यी दुबै विषयमा विवाद गर्नुहुन्न भन्ने आमाको मान्यता थियो।आमालाई सबैकुरा नसुनाउँने निर्णय मेरो अन्तिम निर्णय थियो।त्यसकारण पनि मैले स्कूलमा भएको घट्ना घरमा आमाबुबालाई सुनाउँन सकिनं।एउटा कारण त बदमासी गरेर कुटाइ खाएको शंका गर्नुहोला भन्ने लाग्यो।अर्को महत्वपूर्ण कारणचाहिँ मैले निलो स्वेटर नलगाएको कारण पिटाइ खाँदा आमालाई अर्कोअभावको सिरेटोले चिल्लाजस्तो लाग्यो।उहाँलाई नराम्रो लाग्ला भन्ने लाग्यो।त्यसबेला हाम्रो पारिवारको आर्थिक अवस्था खासै राम्रो थिएन।निलो स्वेटर किनिमागेर भोलिबाटै पूर्णतः ड्रेस लगाएर स्कुल जाने अवस्था सम्भव नहोला र यो कुराले आमालाई हीनताबोध होला भनेर बरु दुखाइ सहेर चुपचाप बसें।बरु एक बर्ष पढाई छोड्ने सोच बनाएँ। बिहीवारको दिन थियो।हाम्रो ठाउँमा एक दिनमात्र बजार लाग्थ्यो बुधबार,त्यो पनि अब एक हप्ता कुर्नुपर्थ्यो।अर्को कुरा आमासँग पैसाको खाँचो होला भन्ने लाग्यो।एकातिर दुखाईको पीडा सहन नसक्ने हुन्थ्यो अर्कोतिर अभावको उच्छवासले गर्दा छिनछिनमा सास रोकिएजस्तो हुन्थ्यो।सबै उकुसमुकुस कसरी मभित्र अटाउन सके अहिले पनि सम्झिंदा असजिलो हुन्छ।
साँझ दाजुहरुसँग भकुण्डो खेल्न मेरो छिमेकी साथी आएछ।उ र म एउटै कक्षामा पढ्थ्यौं। साथीले दिउँसोको घटनाको सम्पूर्ण फेहरिस्त दाजुहरुलाई सुनाएछ।घट्नाको आकार चुरोटको धुवाँझैँ फैलिएर आमासम्म पुगेछ।आमाले घाउको सुम्ला हेर्न भन्नुभयो।मैले घाउ र खास दुखाइ छैन भनेर टारिदिएं।हुनपनि पछाडिपट्टि देखाउंन नमिल्ने ठाउँमा थिए सुम्लाहरु मलाई लाज लाग्यो बरु दुखेको छैन भनेर टारिदिएं।
अब आमालाई मेरो लागि निलो स्वेटरको कथाले घुमाइरहेको थियो।भनेको समयमा पैसा नहुनु,पैसा भएपनि किन्ने ठाउँ नपाउँनु,स्वेटर बिना छोरीको स्कुल जाने बाटो बन्द हुनु ।आमाको अभावको असिनाले हिर्काएको अनुहार म प्रष्ट देख्थें।एकमनले त सोच्थें पढाई छोडिदिउँ।फेरि अर्को मनले भन्थ्यो,पढ्ने उमेरमा पढ्नुपर्छ।
बेलुकी खाना खाएर सबैजनाको सुत्ने तर्खर भयो।आमा तलामाथि पसेर खत्र्याङ खुत्रुङ गर्दै केहि खोज्दै हुनुहुन्थ्यो।एकातिर दुखाइ एकातिर चिन्ता म भुसुक्कै निदाएछु।रातितिर आमाले संगिनी गाएको आवाज घरीघरी सुन्थें फेरि कोल्टे फेरेर निदाउँथें।
बिहान हामी उठ्दा आमाले निलो कलरको आधा स्वेटर बुनिसकेको देखेर म छक्क परें। बाकसमा एउटा पुरानो लामो न लामो स्वीटर थियो।आमाले त्यही स्वेटर उधारेर धागो निकाल्नुभएछ र अर्को बुन्नुभएछ।त्यस दिन खाना ठुलोबुबाले बनाउनुभयो।आमा बिहानैदेखि दिनभर रातभर बुनिरहनुभयो।शनिबार बिहानसम्म आमाले चिटिक्क परेको निलो स्वेटर बुनेर सकेपछि मलाई लगाइदिनुभयो।`अब भोलिदेखि ढुक्क भयो।निलो स्वेटरकै कारण कुटाइ खानुपर्दैन।´त्यसबेलासम्म आमाको अनुहार उदाउँदैगरेको सूर्यजस्तो उज्यालो भएर खुलिसकेको देखिन्थ्यो।
तारा पराजुली
प्रतिक्रिया