कतार, दोहा बिमानस्थलमा भेटिने सहयोगी नेपालीहरू ! 

शशी के.सी २०८१ फागुन ८ गते २२:२२ मा प्रकाशित

“ विदेश बस्ने नेपालीलाई नेपालको माया लाग्दैन भन्नु र काठमाडौं बस्नेलाई जन्मे हुर्केको गाँउको माया लाग्दैन भन्नु एकै हो । बिछ्ट्टै माया लाग्छ तर समय,काल, परिस्थिती, बाध्यता , आवश्यकता र अवसरले गर्दा आफ्नो प्यारो ठाउँ छोड्नु परेको हुन्छ । “ माया नै मारेका हुन्नन समय मिलाएर पुगि नै रहेका हुन्छन्।

कतार देशको नाम नसुन्ने नेपाली कम नै होलान र विदेश जादाँआउँदा कतार एयरलाईन्स नचड्ने पनि । लाखौं नेपाली कतारमा काम गर्न बर्षेनी गई रहेका छन् । कतारको विकासमा नेपालीको ठुलो योगदान छ ।

कतार एयरलाईन्सले आजकल संसारका विभिन्न देशमा उडान भर्छ । अमेरिकाबाट नेपाल जान पनि सजिलो भएको छ । महंगो टिकट हुंदा बाहेक अरूबेला धेरैले कतार एयरलाईन्स नै चड्छन्। अमेरिकाको बिभिन्न शहरबाट कतार एयरलाईन्स प्रत्येक दिन उड्छ । कुनैबेला १५ घण्टा बैंकक, ९ घण्टा लण्डनको हिथ्रो, ६ घण्टा कोरीया , हङकङ , टर्की , दुबई आदीका बिमानस्थलका बेन्चमा ट्रान्जिटमा अर्को प्लेन कुरेर पनि नेपाल आवतजावत गरीयो । अहिले त भर्जिनियाबाट १३-१४ घण्टा उडेर दोहा र दोहामा जम्मा दुई घण्टा त्यो पनि एक प्लेनबाट अर्कोमा जाँदाजाँदै समय ठिक्क हुन्छ र नेपाल अर्को ६ घण्टाको उडान , जम्माजम्मी २३-२४ घण्टामा नै नेपाल पुग्न सकिने भई सक्यो ।

कतारको दोहामा अहिले दुई अंन्तराष्ट्रिय बिमानस्थल बनेकोछ । म लगभग नौ पटक दोहाबाट ओहोरदोहोर गरेको रहेछु । एकप्रकारले भन्दा प्रत्येक पटक जाँदा बिमानस्थल व्यवस्थित र नँया बन्दै गएको अनुभव गर्नेमा म पनि एकजना पर्छु ।

हेर्दाहेर्दै बिमानस्थल भित्रै लोभलाग्दो बगैचा नै बनाईसके । कलकल पानी बग्ने झरना त अमेरिकाबाट गएको प्लेनबाट ओर्लेर सेक्युरीटी चेक पार गरेपछि नै आउँछ । अर्को प्लेन चढ्न कुर्नु पर्ने प्रशस्त समय छ भनेत एकछिन तेता घुमेर फोटो ,भीडियो लिएर अल्मलिंदा पनि हुन्छ। रमाईलो ठाउँ छ ।

बिमानस्थल सफा, सुविधाजनक , व्यवस्थित र यति ठुलो छ भित्रै यताउता रमझम हेरेर प्लेन कुर्ने ट्रान्जिटको समय बितिहाल्छ । हिड्न नसक्ने यात्रुहरुको निम्ति ससानो मोबाईल गाडीको व्यवस्था छ । बिना ड्राईभर कम्प्युटरको सहायताले चल्ने यात्रुबाहक ट्रेन यताउता कुदिरहेको देखिन्छ । ठाउँठाउँमा केटाकेटी खेल्ने ठाउँ छ । सुविधा संम्पन्न बाथरूम जताततै छन् । बिभिन्न थरीको खानेकुरा पाउने रेष्टुरेन्ट छन् । मुस्लिम देश हुनाले प्रार्थना गर्ने ठाउँ, परिवार केटाकेटीसँगै बस्ने ठाउँ र चुरोट पिउनेहरूको लागि छुट्टै ठाउँको पनि व्यवस्था रहेछ । सुनका गहना पसल , परफ्युम, चकलेट मिठाई ,रक्सी लगायत गुची, माईकल कोर , प्राडा , कोच जस्ता विदेशी ब्राण्डेड सामानका पसलहरू जताततै छन् । ती ड्युटी फ्रि पसलहरूमा सामानहरु सस्तो सुलभ पाईन्छ ।

अझ नेपाली भाषामा कुरा गरिरहेका नेपाली कर्मचारीहरू र नेपाली यात्रुहरू जताततै भेटिंदा त मिनी नेपालमा नै पो छु जस्तो भान हुन्छ । मलाई दोहा बिमानस्थलबाट यात्रा गर्न मन पर्नुको एउटा कारण त्यहा काम गर्ने नेपाली दाजुभाई दिदी बहिनीहरूले गर्दा पनि हो । लामो यात्राबाट पुगिएको हुन्छ । केही कुरा सोध्दा असाध्यै आत्मिय र विनम्र भावले जवाफ दिन्छन् । उहाँहरुमा हार्दिकता एवं सहयोगीपन पाईन्छ ।यो मेरो नितान्त व्यक्तिगत अनुभव हो । होला कहिलेकाहीं कामको बोझले केहीले रूखो व्यवहार गर्लान् र गरे भनेपनि माफ दिनुपर्छ ।विदेशीभुमी, घरबाट टाढा, घरपरिवार सबैका नेपालमा , के थाहा कस्तो तनावको अवस्थामा गुज्रिरहेका हुनसक्छन्।

नेपालीहरू अध्यागमन कर्मचारी, सुरक्षा कर्मचारी , पसलमा सामान बेच्ने , रेष्टुरेन्टमा खाना पकाउने, बाँड्ने देखि बाथरूम र लवी सरसफाई गर्ने, प्लेनबाट यात्रुहरूलाई ह्विलचेयरमा गुडाएर ल्याउने, ससाना मोबाईल गाडी कुदाउने कर्मचारीको रूपमा काम गरिरहेको भेटिन्छन् ।

आजकल नेपालमा पनि एक घर , एक विदेश भई सक्यो । संतान विदेश भएपछि आमाबुबा पनि घुम्न विदेश जाने त भई हाले ।विदेश बस्ने संतानलाई पनि रहर हुन्छ आमाबुबालाई आफु बसेको ठाउँ घुमाउने । उँहाहरू विदेश आउँदा/ जाँदा सँधै संतान आफै गएर ल्याउन/ पुर्याउन संम्भव हुन्न । त्यस्तोबेला कहिले एउटै प्लेनमा उड्ने नेपाली खोजेर यसो बिचार गरिदिनु न ल भनेर सहयोग माग्नु पर्छ ।

मलाई दोहा बिमानस्थलबाट यात्रा गर्न मन पर्नुको एउटा कारण त्यहा काम गर्ने नेपाली दाजुभाई दिदी बहिनीहरूले गर्दा पनि हो । लामो यात्राबाट पुगिएको हुन्छ । केही कुरा सोध्दा असाध्यै आत्मिय र विनम्र भावले जवाफ दिन्छन् । उहाँहरुमा हार्दिकता एवं सहयोगीपन पाईन्छ ।यो मेरो नितान्त व्यक्तिगत अनुभव हो ।

तर आजकल त धेरै जसोले एयरलाईन्सले दिने ह्विलचेयरको सुविधा उपयोग गर्छन् । यो सुविधा सजिलो र भरपर्दो पनि छ । सुविधा छ भन्दैमा उनीहरूको मात्र भर पर्न हुन्न । आफै अत्यन्त चनाखो भएर पठाउनेले तयारी चाहीं गरिदिनु पर्छ । कसकोमा जान लागेको हो नाम, संम्पर्क ठेगाना , फोन नंम्बर आदी लेखेको कागज राखिदिनु पर्छ । औषधी खाने गरेको छ भने त्यो कुन समयमा खाने लेखेर राखिदिनु पर्छ । ट्रान्जिटमा खानलाई केही सुख्खा बिस्कुट , भुजिया, काजु बदाम र केही अमेरिकन डलर ( जुन संसारभर सजिलै चल्छ ) राखिदिंदा भोक लाग्दा केही किनेर खान सजिलो हुन्छ । अंग्रेजी बोल्न नआउनेको हकमा कागजमा लेखेर राखिदिनु पर्छ । कमसेकम कागज देखाएर सहयोग माग्न सक्छन् ।

आजकल त धेरैले फोन बोक्छन् । फोनमा मेसेन्जर , फेसबुक , स्काईप , भाईबर, ह्वाट्सयाप आदी टाउनलोड गरिदिएर सजिलोसँग चलाउन सिकाईदिनु पर्छ । तेती गर्दा उँहाहरूले ह्विलचेयर गुडाउनेसँग बिमानस्थलको वाईफाईमा जोडिदिन मद्दत मागेर पनि संतानसँग सिधै कुरा गर्न सक्नुहुन्छ । तेसो गर्नु भनेर सिकाएर पठाउनु पर्छ ।

कसैले मसँग सल्लाह माग्छन भने बुढाबुढी आमाबुबालाई सकभर कतार एयरलाईन्सबाट यात्रा गराउनु भन्छु । एकत एयरलाईन्समा चड्ने धेरै नेपाली नै हुन्छन् । अर्को दोहा बिमानस्थलमा केही घण्टा ट्रान्जिटमा बस्नु पर्दा बिमानस्थलमा काम गर्ने नेपालीहरूसँग नेपालीमा कुरा गरेर सहयोग लिन सकिन्छ । उनीहरू अत्यन्त सहयोगी हुन्छन् । अझ बुढाबुढी नेपालीहरूलाई त अति नै सहयोग गर्ने गरेको देख्छु ।सायद बर्षौं विदेश बसिरहेका घरको आमाबुबा याद आउँदो होला । सहयोग गरेर न्यास्रो पो मेटाईरहेका हुनकी ? वरीपरी अरू आफु जस्तै ह्विलचेयरमा बसेर युरोप , अमेरिका ओहोरदोहोर गर्नेहरू देख्दा उँहाहरूको मन आत्तिदैन पनि । कुरा गर्दै समय कट्छ । खानेकुरा किन्न , बाथरूम जान एकआपसमा सहयोग हुन्छ । पहिलो पटक यात्रा गर्ने बुढाबुढीहरू त हराईन्छ की , प्लेन छुट्ने पो हो की भनेर नखाई , बाथरूम पनि नगई डरले ओठतालु सुकाएर बसिरहेका हुन्छन् ।

अझ अर्को रमाईलो किस्सा पनि छ । पटकपटक कतार एयरलाईन्स चडिरहने म जस्ता कैंयौ भाग्यमानी यात्रीहरूले त बिजनेस क्लासको सिट खाली भएको बेलामा एयरलाईन्सको कर्मचारीले प्लेन चडने टिकट चेक गर्ने ठाउँमा अंन्तिम समयमा नेपालबाट दोहा वा दोहाबाट नेपाल जाने रेगुलर क्लासको टिकट अपग्रेट गरेर बिजनेस क्लासमा पठाई दिंदा त चिठ्ठै परे जस्तो भएर “ थ्याक्यु “ भन्दै खुसीले प्लेनमा आरामको यात्रा गर्न पनि पाउँछौं । त्यो खुसीको कसरी बयान गर्नु खै । कसलाई रहर हुन्न र बिजनेस क्लासमा यात्रा गर्न ?

अन्त्यमा , कतार , विदेशीभूमीमा दुखसुख काम गर्दै , नेपालीपन जोगाई राखेका, नेपाली भेट्दा माया गर्ने ती सहयोगी नेपाली दाजुभाई दिदीबहिनी सबैलाई हृदयदेखि नै धन्यवाद !

शशी के.सी

लेखिका

प्रतिक्रिया