वासिङ्टन — सोमबार, न्यू ह्याम्पशायरका एक संघीय न्यायाधीशले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता समाप्त गर्ने कार्यकारी आदेशलाई अवरुद्ध गरेका छन् ।
यसअघि दुई अन्य संघीय न्यायाधीशहरूले पनि सो आदेशलाई रोकिसकेका छन् ,जसका विरुद्ध आधा दर्जनभन्दा बढी कानुनी चुनौतीहरू दायर भएका छन्।
अमेरिकी जिल्ला न्यायाधीश जोसेफ लाप्लान्तेले संक्षिप्त सुनुवाइपछि न्यू ह्याम्पशायर इन्डोनेसियन सामुदायिक समर्थन(कम्युनिटी सपोर्ट) एलयुएलएसि र मेक द रोड न्यूयोर्कको तर्फबाट दायर गरिएको प्रारम्भिक निषेधाज्ञा निवेदनलाई स्वीकार गर्ने निर्णय सुनाए।
यी तीन संस्थाले ट्रम्पको कार्यकारी आदेशविरुद्ध पहिलो संघीय मुद्दा दायर गरेका थिए।
“निवेदकहरूले प्रारम्भिक निषेधाज्ञा पाउन आवश्यक आधार प्रस्तुत गरेका छन्,” राष्ट्रपति जर्ज डब्ल्यु बुसद्वारा नियुक्त न्यायाधीश लाप्लान्तेले भने।
उनले मंगलबारसम्म आफ्नो निर्णयको लिखित विवरण जारी गर्ने अपेक्षा गरिएको छ।
लाप्लान्तेको आदेश वासिङ्टन र मेरिल्यान्डका संघीय न्यायाधीशहरूले गत हप्ता जारी गरेका आदेशहरूको निरन्तरता हो, जसले राष्ट्रव्यापी रूपमा ट्रम्पको जन्मसिद्ध नागरिकता सम्बन्धी आदेश कार्यान्वयन गर्न रोक लगाएको थियो।
अमेरिकी न्याय विभागले तीमध्ये एक निर्णय (अमेरिकी जिल्ला न्यायाधीश जोन कफेनोरको आदेश) विरुद्ध नवौँ सर्किटको अमेरिकी अपील अदालतमा पुनरावेदन दायर गरिसकेको छ।
कम्तीमा आठवटा मुद्दाहरू देशभरका अदालतहरूमा दायर भएका छन्, जसमा ट्रम्प प्रशासनको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रयासविरुद्ध कानुनी चुनौती दिइएको छ।
प्रतिक्रिया