बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेसंग अन्तरक्रिया

इनेप्लिज २०८१ माघ १८ गते २२:२४ मा प्रकाशित

लन्डन । बेलायतस्थित नेपाली व्यवसायी तथा एनआरएन अभियन्ताहरुले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरेसंग अन्तरक्रिया गरेका छन् ।

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष कुल आचार्यले विषय प्रवेश गर्दै गैर आवासीय नेपाली नागरिकता सविधानमा व्यवस्था गरे पनि अहिले सम्म त्यसको कार्यान्वयनमा जटिलता रहेको बताए। उनले एनआरएन नागरिकता पाउने आफु पहिलो व्यक्ति भएकाले पनि एनआरएन नागरिकताको वितरण सहज र प्रभावकारी बनाउन आफुले पहल गरिरहेको जनाए। उनले गैर आवासीय नेपाली नागरिकता प्रदान गरि सके पछि फेरी आफ्नै नागरिकलाई भिसा लगाउ भन्नु संविधानको मर्म विपरित हुने भन्दै उक्त प्रावधान सच्याउन आग्रह गरे। होली काउ ग्रुपका अध्यक्ष पनि रहेका आचार्यले नेपालमा लगानी गर्न यहांको नेपाली डायष्पोरा आफैं सक्षम रहेको बताउंदै नेपाल तथा बेलायतबीच सिधा हवाई सम्पर्क कायम गर्न र दोहोरो कर हटाउने सम्झौता गर्न पहल गरि दिन राजदूत घिमिरेलाई आग्रह गरे ।

अन्तरक्रियामा व्यवसायी तथा पेशेवरहरुले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएका जटिलता र नेपालमा वैदेशिक लगानीका प्रशासनिक झण्झट, बेलायत–नेपाल सम्बन्ध जनस्तरमा थप प्रगाढ बनाउन बेलायतस्थित नेपाली डायस्पोराको भूमिका, नेपालको आर्थिक समृद्धिमा नेपाल सरकारको अपेक्षा, भूतपूर्व गोर्खा समस्या आदि विषयमा धारणा राखेका थिए ।

नेपालले विदेश बस्ने नेपालीलाई नेपाली भनेर स्वीकारेन भने त्यो देशका लागि घाटा हुने सहभागीहरुको तर्क थियो ।

सोलार नेपाल प्रा लिका संचालक समेत रहेका वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट एल एन पाण्डेले बेलायतका लगानी कर्ताहरु मिलेर खोलेको उक्त कम्पनीले सन् २०२१ मा तनहुँको शुक्ला गण्डकी नगरपालिका – ५ मा ५ मेगावाट सौर्य विद्युत उत्पादन गरी नेपाल विद्युत प्रधिकरणलाई आपूर्ति गरिरहेको बताए। उनले आफ्नो कम्पनीले कोशी र लुम्बिनी प्रदेशमा थप सौर्य उर्जा आयोजना विकास गर्न काम गरिरहेको जनाउँदै स्वच्छ उर्जा उत्पादकहरुलाई थप सहुलियत दिन नेपाल सरकारलाई आग्रह गरे। उनले नेपालमा कम्पनी खोल्नदेखि अरु काम गर्न कर्मचारीतन्त्रबाट निकै सास्ती झेल्नुपरेको अनुभव सुनाउँदै एनआरएन तथा विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न सरकारले प्याकेज घोषणा गर्नु पर्ने सुझाव दिए । व्यवसायी उत्तम नेपालले विविध असहजताका कारण आफ्नो फेशन उद्योगका लागि जनशक्ति र कच्चा पदार्थ समेत नेपाल छाडेर अन्यत्रबाट ल्याउनु परेको जनाए ।

एनआरएन अभियन्ता तथा व्यवसायी दयानिधि सापकोटाले नेपाल जांदा आउंदा विमानस्थलमा कर्मचारीहरुले दिने सास्तीदेखि अन्य व्यवसायिक झन्झटबारे तीतो अनुभव सुनाए ।

रेमिटेन्स व्यवसायी कमल पौडेलले गैर कानूनी हुण्डी बढिरहेको बताउंदै कानूनी रुपमै नेपालबाट बेलायत पैसा ल्याउन मिल्ने व्यवस्था भए सरकारलाई समेत राजस्व प्राप्त हुने धारणा राखे ।

सहभागीहरुका जिज्ञासाको जवाफ दिंदै राजदूत घिमिरेले नेपाल र नेपालीका लागि लाभ हुने गरि आफूले राजनीतिक, आर्थिक एजेण्डा लिएर आएको उल्लेख गर्दै व्यवसायीहरुलाई नेपालमा लगानीको सहजीकरण गरिदिने प्रतिवद्धता जनाए । उनले बेलायत र नेपाल दुवै पक्षबाट उच्चस्तरिय भ्रमण, लामो समयदेखि थाती रहेको भूतपूर्व गोर्खा समस्या समाधानमा पहल गर्ने आश्वासन दिए । उनले अब मातृभूमिका लागि डायष्पोराले संवेदनशील भएर काम गर्नुपर्ने बेला आएको समेत बताए ।

कार्यक्रममा दूतावासका प्रथम सचिव उद्धव न्यौपानेले अध्यागमन ऐनबारे प्रष्टयाउंदै लन्डन दूतावासबाट अहिले तुरुन्तै भिजा दिने व्यवस्था र कन्सुलर सेवा दिइने उल्लेख गरे ।

क्यानरी वार्फस्थित होली काउ फाइन डाइनमा आयोजित अन्तरक्रिया कार्यक्रममा विश्वआदर्श पण्डित, राजन कंडेल, डा. बच्चु कैलाश कैनी, विकास नेपाल, कमल भण्डारी, संगीता मरहट्ठा, सूर्य गुरुङ (पिपल मोर्गेज) लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया