बाँच्नुमात्र पर्छ अनेक देख्न, सुन्न पाईन्छ भन्छन् नी नेपालका बुढापाकाहरू, तेस्तै अनुभव भयो मलाई ! काममा दुई गोरी साथीहरू एकआपसमा “ हेर न मेरो श्रीमानले मेनोपज गीफ्ट भनेर तिनचार दिन फ्लोरिडा घुम्न जाने व्यवस्था मिलाएर सरप्राईज दियो नी “ भनेको सुने । लौन म परे महिलावारी हुनु पाप हो भन्दै पंचमीपूजा गरेर पाप पखाल्ने समाजमा हुर्केको मान्छे, यिनीहरू कता महिनावारी रोकिएकोमा उपहार नै पो दिने भन्छन् । छक्कै पारे ।
हुनत पहिलो संतान जन्मिनेबेला कुनै उपहार, मुख्य केही गहना किन्न आउने गरेको त धेरै देखेको थिंए उहिले रिटेल स्टोरमा काम गर्दा तर “ मेनोपज गीफट “ दिन्छन् भन्ने पहिलो पटक सुने ।
लौ के रहेछ भनेर गुगल गरेर खोजी पनि हालें । खास धार्मिक कुरा त केही होइन रहेछ तर आधुनिक अमेरिकी समाजमा महिलाहरूको ख्याल गरेर बिभिन्न उपहारहरू घर परिवार र साथीहरूले एकआपसमा दिने / लिने चलन रहेछ । कति राम्रो चलन ल्याएछन्, मनैदेखि नै खुसी लाग्यो ।
कतिलाई “ महिनावारी “ भन्ने कुरा महिलाहरूका नितान्त निजी मामला हुन जस्तो लाग्छ । तर महिलाहरू त समाजमा नै बस्छन् । जनसंख्याको आधा भाग ढाकेका छन् महिलाहरूले, उनीहरूको मामला निजी मात्र त हुनै सक्दैन । समाजमा परिवर्तन ल्याउनु छ भने महिलाको स्वास्थमा सुधार ल्याउनु नै पर्छ ।
हाम्रो हिंन्दु नेपाली समाजमा अझै पनि महिनावारी हुनु भनेको त हाउगुजी आए जस्तो गरिन्छ । तर तेस्तो पनि हैननी , महिला भएर जन्मेपछि महिनावारी हुनु भनेको त प्रकृतिले “ तिमी संतान जन्माउन सक्ने क्षमता राख्न सक्छौ “ भनेर दिएको बरदान पो हो त ।
समाजमा परिवर्तन ल्याउनु छ भने महिलाको स्वास्थमा सुधार ल्याउनु नै पर्छ
कहिले काहीं यसो सोच्छु , सहन सक्छन् भनेर महिलालाई महिनावारीको चक्करमा पारीदिएको होला है । लगभग १०- ११ बर्षको उमेरदेखि शुरू भएर ५५ बर्षसम्म रहन्छ । झण्डै ४४ बर्ष प्रत्येक महिना ४-५ दिन महिनावारीको पिडाबाट गुज्रनु नपर्ने हो भने महिलाले अझ कति उन्नति गर्थे होलान् ? तेस्तै महिनावारी रोक्किने बेलाका केही बर्ष अझै सम्हाल्न गार्र्हो हुने रहेछ ।संतान जन्माउँदाको पिडा त जोडेकै छैन । प्रत्येक पटक संतान जन्माउँदा एकपटक मरेर बाँचेका हुन्छन् ।
मलाई त आजकल महिलाका स्वास्थ संम्बन्धी ( महिनावारी शुरू हुने देखि लिएर संतान जन्माउने / जन्मिएपछि र महिनावारी रोक्किने यानी मेनोपजका ) कुराहरू अलिक खुल्लारूपमा नै बहस हुनु पर्छ जस्तो लाग्छ ।
नेपाली रूढीवादी समाज , धेरै कुरा खुल्ला बहस गर्न नसकिएला वा घरका पुरूष सदस्य माझ भन्न धक लाग्ला तर महिलाहरूले आफै नै अग्रसर भएर आफ्नो स्वास्थको ख्याल चाहीं गर्नै पर्छ ।
आजकल धेरै नेपालीहरू आर्थिकरूपमा पनि संपन्न नै छन् । बजारमा आएका अनेक सामानहरू सजिलै किन्न सक्छन् । त्यस्तै अनुहार, कपाल , नंग सिंगार्न, सुनका सक्कली / नक्कली गरगहना , सारीहरू सेट मिलाएर पार्टी नै पिच्छे फेरी फेरी लगाउन आदीमा हजारौं रूपैंया खर्च गर्छन् । तेसरी नै बर्षको एकपटक स्त्री रोग बिशेषज्ञकोमा जचाउन खर्च किन नगर्ने ? धेरैले अझै गरिरहेका छैनन् । अरूको के कुरा प्रसिद्ध अभिनेत्री मनिषा कोईरालाले पाठेघरको क्यान्सर उपचार गरेर निको भएर फर्केपछि बिभिन्न संचार माध्यममा दिएको अंतरवार्तामा “ म यति व्यस्थ भएकी रहेछु काममा , आफ्नो स्वास्थको ख्याल नै गर्न बिर्सेछु “ भनेकी छिन् ।
तेसरी नै बर्षको एकपटक स्त्री रोग बिशेषज्ञकोमा जचाउन खर्च किन नगर्ने ?
हुन पनि स्तन र पाठेघरमा लाग्ने क्यान्सर रोग नियमित चेकअपमा पहिलो चरणमा नै पत्ता लागेमा समयमा नै उपचार गराएर निको पार्न सकिन्छ । स्वस्थ रहन नियमित बर्षको एकपटक स्त्री रोग बिशेषज्ञकोमा “ महिला स्वास्थ चेकअप” जसरी पनि गर्नुपर्छ । आजकल त गुगलमा खोजेर पनि आफ्नो उमेर अनुसार शरीरमा आउने समस्याहरूको बारेमा जान्न बुझ्न सजिलै सकिन्छ ।
विकशित देशहरूमा त स्कुलमा सानो क्लासदेखि नै बिभिन्न स्वास्थका बिषयमा पढाउने गर्छन् । घरमा आमाबुबाले केही भनि रहनै पर्दैन । नेपालमा पनि स्कुलदेखि नै जानकारी मुलक शिक्षा दिनै पर्छ । घरका अभिभावकले पनि बर्षको एकपटक स्वास्थ जाँच गर्न डाक्टरको लगेर उनीहरूको स्वास्थ संम्बन्धी जिज्ञासा केही रहे बुझादिनु होला भन्नु पर्छ । कति कुरा तेही बिषयका विशेषज्ञले राम्रो तरीकाले बुझाउन सक्छन् ।
हुन त आजकल नेपाली समाज पनि समयसंगै बदलिंदैछ पनि छ । कति घरमा पहिले जस्तो महिनावारी बार्ने चलन हटिसक्यो । तेस्तै सुत्केरीको स्याहार पहिले भन्दा अझै बढी र आधुनिक तरीकाले हुँदैछ । तर मेनोपज यानी महिनावारी रोक्किने बेलामा भोग्नु पर्ने असहज परिस्थितीको बिषयमा चाहीं तेती चर्चा गरेको कतै सुनिन्न । यो पनि उमेरसँगै महिलाहरूले भोग्नु पर्ने एक अर्को शारीरिक अवस्था हो ।
यो पनि उमेरसँगै महिलाहरूले भोग्नु पर्ने एक अर्को शारीरिक अवस्था हो
तपाईंहरूको घरमा ४५ बर्ष देखि ५५-५६ बर्ष उमेरका आमा , दिदी बहिनी , श्रीमती आदी महिला सदस्यहरू छन् भने उनीहरू प्री मेनोपज, मेनोपज र पोष्ट मेनोपज ( महिनावारी रोक्किन लागेको, रोक्किएको वा रोक्कि सकेपछिको ) अवस्थाबाट गुज्रिरहेका हुन्छन् । यो लेखको शुरूआतमा उल्लेख गरे जस्तो “ मेनोपज गीफ्ट “ नै त दिनु पर्दैन तर उनीहरूको शारीरिक अवस्थालाई बुझेर केही सहयोग गरेर जीन्दगी सहज चाहीं पारीदिन सकिन्छ । कतिलाई लाग्ला महिलाका समस्या कति हो कति , तर यसो उसो गर घर सम्हाल्ने महिलाहरूले नै हो । उनीहरू स्वस्थ नरहे , पुरै घर नै बिरामी पर्छ ।
उहिले काममा आफुभन्दा उमेर बेसी भएका महिला कामदार साथीहरूले “ म मेनोपजबाट गुज्रीरहेको छु । मसँग बेकारमा उल्झिन कोही नआउ “ भन्दा हाँस उठ्यो । के ताल होला जस्तो लाग्थ्यो ।
तेस्तै आमा, सानीआमा , काकी , भाउजु, फुपु माईजु घरका अन्य पाको उमेरका महिला सदस्यहरू ससानो कुरामा रिसाउने, बोल्दा झर्किने, सधैं चिन्तित देखिने , डराउने , हात, खुट्टा दुख्यो भन्ने, फ्रोजन सोल्डर भएर हात माथि लग्न सकिन भन्ने , खल्खल्ती पसीना आएर मुख पुछ्ने , चिटचिट पसिना आयो भन्ने, एकैछिनमा गर्मी भयो भन्ने र किताब मागेर हम्किने, पानी पिउने , फेरी जाडो भयो भन्दै टम्म सल ओड्ने , राती सुत्न सकिन भन्ने , भनेको कुराहरू छिट्टै बिर्सिने गरेको अनुभव गर्थें । कोही त थोरै खाए पनि अत्यधिक मोटाएको देख्थें ।कोही महिनावारीमा अत्यधिक रक्तश्राव भयो , कमजोरी महशुस भएर रिंगटा लाग्यो, महिनावारीको समय गडवडी भयो भनेर दिक्क मानेको सुन्थें ।
अझ हिंन्दुहरूको घरमा पूजा, सराद आदी लगाउन ठिक्क पारेकोबेला , घरको मुख्य हर्ताकर्ता महिला, महिनावारी गडबडी भएर बेला न कुबेला पन्छिएर कसले गर्ने त्यो कार्य सबै भनेर हाहाकार भएको पनि सुनिन्छ।
अहिले २० -२५ बर्ष पछि आफु पनि तेही आफैले सम्हाल्न नसकिने लगभग उस्तै शारीरिक अवस्थाबाट गुज्रिएपछि बल्ल बुझें के समस्या हुने रहेछ भन्ने । यी माथी उल्लेख गरेका समस्या थोर / बहुत सबैले अनुभव गर्ने नै रहेछन् । तेसैले आत्तिनु हुन्न । बरू आफुले कसरी सजिलोसँग यो समय गुजार्ने तेसमा ध्यान दिनु पर्छ ।
म अहिले बसिरहेको अमेरिकामा त यस अवस्थामा गुज्रिरहेका महिलालाई सजिलो होस भनेर स्त्री रोग बिशेषज्ञले बिभिन्न हर्मोन थेरापी , मसाज थेरापी, योगा ध्यान गर्नु, तौल घटाउने व्यायाम गर्नु , फिजिकल थेरापिस्टकोमा जानु देखि काईरोप्राक्टरको गएर फ्रोजन सोल्डर बनाउने सल्लाह दिने देखि हर्मोन व्यालेन्स गर्ने औषधी आदी दिने रहेछन् ।
अन्त्यमा, तर यत्रो दुख हुँदाहुँदै पनि महिलाको शरीर प्रकृतिले कति बैज्ञानिक ढंगले बनाएको रहेछ । शरीरले आफै प्रजनन् अंग पाठेघर सफा गरेर महिनावारीको माध्यमबाट फोहोर रगतको रूपमा शरीरको बिकार फाल्ने ।
शशी के.सी
प्रतिक्रिया