नेपालको समृद्धिमा तगारो ट्रेड युनियन

बेद प्रसाद घिमिरे २०८१ माघ ११ गते २:०३ मा प्रकाशित

नेपालको समृद्धिमा अर्को ठूलो अवरोध ट्रेड युनियानिज्मले पैदा गरेको छ । आज विश्वको समृद्ध भनेर चिनिएका मुलुकहरू बेलायत, अमेरिका, दक्षिण कोरिया र सिङ्गाापुर लगायतले आफ्नो समृद्धिको यात्रामा एक समय ट्रेड युनियानिज्मसँग लडेर त्यसमाथि विजय प्राप्त गरेका हुन् । ट्रेड युनियानिज्मसँग परास्त हुनुपरेको भए न रुजवेल्टले अमेरिकालाई ‘डीप डिप्रेसन’ (सन् १९३० र त्यसपछि) बाट बाहिर ल्याउन सक्थे न बेलायतकी प्रधानमन्त्री मार्गरेट थ्याचरले सन् १९७९ ताक ओरालो लागेको अर्थतन्त्रलाई माथि उठाउन सक्थिन्, न पार्क चुङ हीले गरीब दक्षिण कोरियालाई समृद्ध मुलुकको कोटिमा पुऱ्याउन सक्थे । ट्रेड युनियानिज्म कायम रहँदासम्म कुनै पनि मुलुकमाथि उठ्न सक्दैन भन्ने यथार्थ घाम झैँ छर्लङ्ग हुँदाहुँदै पनि नेपालको वर्तमान संविधानमा ट्रेड युनियन बनाएर सामूहिक सौदावाजी (collective bargaining) गर्न पाउने प्रावधानलाई मौलिक हकको रूपमा समेटिएको छ ।

त्यसैगरी औद्योगिक प्रतिष्ठानहरूमा मजदुरलाई ब्यवस्थापन समितिमा समेट्न प्रोत्साहन गर्ने ब्यहोरा समेत संविधानमा लेखिएको छ । यस्ता संवैधानिक र कानूनी प्रावधान भएका मुलुकमा कहिल्यै लगानीमैत्री वातावरण बन्नेछैन । नेपाललाई सधै विपन्नतामा राखिरहनका निम्ति नियोजितरूपमै यस्ता प्रावधानहरू समेटिएका हुन् । मजदुरप्रति राज्य संवेदनशील हुने हो भने तिनको सेवा सुविधा सुनिश्चित गर्दै शिक्षा र स्वास्थ्य निःशुल्क रहने अनिवार्य ब्यवस्था गरिदिन सक्थ्यो, सक्छ । तर, शिक्षा र स्वास्थ्य निःशुल्क प्राप्तगर्ने अधिकार सुनिश्चित नगरेर किन ट्रेड युनियानिज्मलाई प्रोत्साहित गरियो भन्ने बुझेमा हाम्रो गरिबीको राज खुल्नेछ । प्रजातान्त्रिक मुलुकमा विद्यार्थी, शिक्षक, प्राध्यापक, पत्रकार, चिकित्सक र कर्मचारीका सङ्घ-सङ्गठन आवश्यक पर्दैपर्दैन, तर यहाँ पार्टीपिच्छेका सङ्घ-सङ्गठनहरू खोलिएका छन् र यिनलाई बाह्यशक्तिको लगानी र प्रोत्साहन मिल्ने गरेको छ । यसप्रकारका सङ्घ-सङ्गठनहरूले न्यायिक कार्यमा अवरोधमात्र पैदा गर्दैनन्, तनाव र अस्थिरताको स्थायित्वमा पनि यिनकै मुख्य भूमिका रहने गर्दछ । पार्क चुङ हीले देश बनाउने कदमको सुरुवात नै ट्रेड युनियनलाई तह लगाएर गरेको, अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले युनियन बनाएर हड्ताल गर्ने एघार हजार एयर ट्राफिक कण्ट्रोलर कर्मचारीलाई एक घण्टाभित्रै काममूक्त गरिदिएको, मार्गरेट थ्याचरले सडकमा गाडी राखेर हडताल गर्ने यातायात मजदुरलाई तह लगाएको घटनाको विस्तृत अध्ययन गरियो भने ट्रेड युनियानिज्म कति घातक विषय रहेछ भन्ने छर्लङ्ग हुन्छ । त्यसमा पनि कर्मचारी युनियन त राज्यका निम्ति कालकुट विषभन्दा कम नरहेको यथार्थलाई हामी सबैले आत्मसात गर्न आवश्यक छ ।

प्रतिक्रिया