प्रतिरूपः जिन्दगीका विभिन्न रूपहरूका कथा

शंकर अधिकारी २०८१ पुष २५ गते ११:३४ मा प्रकाशित

प्रतिरूपको शाब्दिक अर्थ कुनै व्यक्ति वा वस्तुसँग आकारमा मिल्ने अर्को व्यक्ति वा वस्तु भन्ने हुन्छ । एकजना अनुहार मिल्ने व्यक्तिसँग भेट भएपछि विभिन्न व्यक्तिका जिन्दगीका पाटा खुल्ने कथाहरूले भरिएको उपन्यास नै प्रतिरूप हो । साहित्यका क्षेत्रमा विशेष गरी श्रमिक बरालका नामले कवि र गीतकारका रूपमा चिनिएका डा. खगराज बराल “प्रतिरूप” उपन्यास लिएर आएका छन् ।

साङ्ग्रिला मिडिया ग्रुप प्रा. लि. द्वारा प्रकाशित यस उपन्यास झिनामसिना ठानिने विषयवस्तुमा रुचि राख्ने व्यक्तिहरूका लागि उपयुक्त छ ।आजकल रुवाउने कथावस्तु भएका सिनेमाहरूलाई सफल मान्न थालिएको सन्दर्भमा कथामा डुबेर रुनसक्नेका लागि पर्याप्त स्थानहरू “प्रतिरूप” मा भेटिन्छन् ।

“प्रतिरूप” मा स्कुले विद्यार्थीको कथा छ, कलेज पढ्नेहरूका कथा छ, आमाबाबुले गाली गरेको झोकमा घर छाड्नेहरूको कथा छ, भारतको मेघालयका कोइला खानीमा काम गर्नेहरूको कथा छ, बाबुको पहिचानको अभावमा नागरिकता पाउन नसकेकी बालिकाको कथा छ र सबैभन्दा महत्त्वपूर्णत जिन्दगीबाट ठगिएकी प्रमुख पात्र कालीको कथा छ । काल्पनिक नै भएपनि उपन्यासकार डा. बराल यी कथाहरूबिच सम्बन्ध स्थापना गर्न सफल देखिएका छन् ।

उदयपुरको लेखानीका नवीन दाहाललाई पूर्व सहपाठी साथीले लेखेको चिठीबाट प्रारम्भ गरिएको उपन्यासको पूरै कथा उनीसँगै जोडिएको छ । राम्रो स्कुलमा पढ्ने चाहना व्यक्त गर्दा बाले लात्तीले हानेका कारण गाली गरेको निहुँमा भारतको कोइलाखानी भासिएका बाबु शम्भु उताकै खासी महिलासँग विवाह गरेर नेपाल फर्केपछिको कथा नै उपन्यासको वास्तविक प्रारम्भ हो ।

एघार परिच्छेदमा विभाजित उपन्यासको आधा भाग नवीनकै वरिपरि घुम्छ । दुःखकष्टका साथ एसएलसी पास गरेपछि पोखराको इन्जिनियरिङ कलेजबाट ओभरसियर बनेका नवीन जागिरको सिलसिलामा मर्चवार लिफ्ट इरिगेसन प्रोजेक्टमा काम गर्न भैरहवा पुगेपछि वास्तविक कथा प्रारम्भ हुन्छ ।

इरिगेसन प्रोजेक्टमा काम गर्न गएका पात्र नवीनलाई लामो समयसम्म मुख्य कामसँग जोडिएको छैन । परियोजनाकै एकजना सहकर्मीसँग फिल्ड हिँडेका नवीन विद्यालय र प्रधानाध्यापकसँगै अल्मलिएका छन् । अर्थात उनको मुख्य कामसँग यो उपन्यासको कथा जोडिएको छैन । कथामा फिल्ड हिँडेका पात्र नवीनलाई प्रधानाध्यापकको घरमा बसाइएको छ । सम्भवतः उपन्यासकार बरालले शिक्षा सेवाको कर्मचारीका रूपमा रुपन्देहीमै काम गरेकाले उपन्यासका पात्रलाई पनि विद्यालयकै सेरोफेरोमा अल्मल्याएका छन् ।

बाटोमा हिँड्दै गर्दा रिक्साबाट लडेकी एकजना महिलालाई उद्धार गरेर अस्पताल पु¥याएपछि उपन्यासको मूल पात्र कालीको प्रवेश हुन्छ। तिनै महिलाले व्यक्त गरेको कथामा उपन्यासको प्रमुख अंश आधारित रहेको छ । पोखरा भैरहवा राजमार्गको छेउमा चिया पसल गर्ने परिवारकी छोरी कालीलाई बाबुआमाले भारतको कोइला खानीमै काम गर्ने प्रबिनसँग विवाह गरिदिन्छन् । विवाहपछि छिटै फर्कन्छु भनी गएका उनका श्रीमान्प्र बिन उतै हराएपछि माइतीमा बसेकी काली भित्ताकोरेको प्रेममा पर्छिन् र गर्भवती बन्छिन् ।

भित्ताकोरे नफर्केपछि नाक जोगाउन बाबुआमाले गर्भमा रहेको बच्चासमेत स्वीकार्न राजी भएका एकजना ड्राइभरलाई जिम्मा लगाइएकी काली ड्राइभर पनि जेल परेपछि भैरहवातिरै घर भएका एक पुरुषसँग विवाह गर्छिन् र भैरहवा जान्छिन् । त्यहीँ नवीनसँग भेट भएपछि नवीनमा आफ्ना श्रीमान् प्रबिनको प्रतिरूप पाउँछिन् । यहीँनिर उपन्यासको शीर्षक सार्थक हुन्छ तर उक्त कुरा उपन्यासको अन्तिम भाग नपुग्दासम्म थाहा पाउन सकिँदैन ।

नयाँ श्रीमान्‌बाट छोरीलाई नागरिकता दिने आश्वासन पाएकी काली एसएलसी पास गरेकी छोरीलाई नागरिकता दिलाउन नसकेपछि जिन्दगीबाट विरक्तिएकी छिन् । बिई पढ्नका लागि पुल्चोक क्याम्पसमा नाम निस्केपछि जागिर राजीनामा गरेर घर गएका नवीनले कालीको कथा आमालाई सुनाउँछन् र आमाले समेत आफ्नो कथा नवीनलाई बताएपछि प्रबिननै आफ्नो बाबु भएको थाहा पाउँछन् । त्यसबेला आएर नवीनले आफूलाई कालीले प्रबिन भनेर बोलाएको अर्थ बुझ्न पुग्छन् । कोइला खानीमा थिचिएर मृत्युवरण गरेका प्रबिन र उनको आमाको प्रेमको निशानी नै नवीन रहन्छन् । नवीनलाई आफ्नो छोरा मान्न स्वीकार गरेर उनका बाबुले उनकी आमालाई लिएर नेपाल फर्केको कुरा उपन्यासको अन्त्यमा मात्र खुल्छ । सारमा प्रतिरूपको कथा यति नै हो तर बिचबिचका ससाना रोचक कथाहरू पढ्नलायक छन् ।

स्थानीय भाषाहरूको प्रयोग पनि उपन्यासको अर्को सकारात्मक पक्ष रहेको छ । उपन्यासमा दर्शन पनि छ । उपन्यासकारले प्रेमको दार्शनिक परिभाषाः प्रेम अनुभूति हो, समर्पण हो र अझै भन्नुपर्दा त्याग हो भनेर दर्शाएका छन् । काली पात्रको ‘मलाई लोग्नेमान्छे होइन, लोग्ने चाहिएको थियो । लोग्ने भएर उसले संरक्षण दिओस्, सुरक्षा दिओस् भन्ने थियो । वास्तवमा मैले लोग्नेको मायै पाएकी थिइनँ । बिहे भएपछि मेघालयको कोइला खानीतिर गएका लोग्ने उतै बिते । हुन त मेरो पनि कमजोरी,, माया देखाउने भित्ताकोरेले पेट बोकाएर हिँड्यो । छोरीको न्वारन गरिदिएको ड्राइभर हरायो ।अब, कहिल्यै नछुट्ने लोग्ने भए हुन्थ्यो भन्ने थियो मनमा भन्ने अभिव्यक्ति वास्तवमै मार्मिक छ ।

उपन्यासमा वर्णित घटनाहरू हाम्रा समाजमा पाउन सकिन्छ । यी र यस्तै घटनाहरूले भरिएको “प्रतिरूप” उपन्यास पढ्न लायक छ । उपन्यासकार आफैँले उपन्यास तीस र पचासको दशकबिचको कथानक हो भनेर उल्लेख गरेका छन् । सो समयावधिको ग्रामीण विद्यार्थीको जीवन, ग्रामीण महिलाको जीवन र भारतका कोइला खानीमा काम गर्ने व्यक्तिहरूको जीवन बुझ्नका लागि उपन्यास उपयुक्त छ । उपन्यासमा घृणा छैन, प्रेम छ । निराशा छैन, सङ्‌घर्षका लागि
उत्प्रेरणा छ । सुरुमा भनिएझैँ ससाना कथाहरूमा रुचि राख्नेहरूले उपन्यास पढ्दा हुन्छ ।

कृतिः प्रतिरूप
विधाः उपन्यास
लेखकः खगराज बराल
संस्करणः २०८१ (पहिलो)
प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि.
पृष्ठः २३८
मूल्यः रु. ४९५÷–

शङ्+कर अधिकारी

प्रतिक्रिया