झुल्के घाम

सुरभि रेग्मी २०८१ पुष २४ गते २:३७ मा प्रकाशित

झुल्के घामजसरी उदाएको 

तिम्रो उज्यालो अनुहारमा 

निसंकोेच कुनै दाग–धब्बा देख्दिनँ म 

एउटा सुन्दर पुष्पको लाली चुसेर 

राताम्मे भएका छन् तिम्रा कोमल गालाहरू

तिमीलाई थाहा छैन कि जब चिसो बिहान आउँछ

तिम्रो रूप प्रकृतिमा देखिने हिमालजस्तै

अटल र झुक्दै नझुक्ने ठान्छु म 

कसरी कालापत्थरका कोप्चामा 

जमेको सेतो हिउँले 

ती कठोर हिमाललाई जीवित तुल्याउन सकेको हो !

म आश्चर्यले भरिन्छु र 

जब चराचुरुंगीको मधुर गुञ्जनले रूखका पातहरू हलिन्छन् 

तिमी फूलबुट्टे जामा लाएर आमासँग लुटपुटिने

चञ्चल बालिका बनिदिन्छ्यौ 

मेरो सपनाको संसारमा 

तिमी कहिले पुसको चिसो हावाको वेगले रन्थनिएर  

त कहिले असारको निथ्रुक्कै रुझाउने झरी बनेर मेरा अतीतको पाना चिस्याउँछेउ 

ओस लागेका ती पानाहरू म मेरा अवचेतन मनका सपनाहरूले सेकेर

तिनमा आशाको रङ लतपत्याउँछु 

अनि मनोरम तस्बिर बनिदिन्छ

 जसमा प्रकृति, बाल्यकाल र प्रेमका विम्बले

 मेरो मातृभूमि नेपालले पालुवा फेर्छ र

त्यहाँ कर्मयोगीले ससाना बीउहरू छर्छन् 

चिटिक्क परेका मुनाहरू पलाएपछि 

यो पवित्र धर्तीमा हाँगा चारैतिर फैलाउँछन् र 

ती वृक्षले ऋतु परिवर्तनसँगै

 नवीन रूपहरू देखाउँछन् 

जुन दृष्टिगोचरका साथ 

 म प्रफुल्लित हुन्छु ।

प्रतिक्रिया