यात्राको तयारी गर्न एक वर्ष लाग्यो। यात्रा गर्ने सोच भने तीन वर्ष अघिदेखि बनिरहेको थियो। उपयुक्त समय छान्न दोधार भैरहेको थियो।
घर परिवारसँग
२०८१ को दशैं र तिहार नेपालमा मनाउन हामी तीनजना अक्टोबर ७, २०२४ मा सिन्सिनाति विमानस्थलबाट उड्यौ। न्यूयोर्कबाट कतारको दोहा पुग्दा रातको नौ बजिसकेको रहेछ स्थानीय समय अनुसार। नेपालको लागि कतार एयरवेसको विमान छुटीसकेछ। हामीलाई त्यहीं राख्ने बन्दोवस्त गरेछ विमान सेवा कम्पनिले; यसरी नेपाल पुग्ने समय लक्ष्यमा पुरै बाह्र घण्टा ढिलो भयो।
गाउँ -घरमै दशैं तिहार मनाउने धोको पूरा भयो यो पालि। सम्पूर्ण परिवार र आफन्तजनसँग आनन्दित मनले भेटघाट गर्न पाइयो। दशैँको टीका जमरा भरि आशिर्वाद थाप्न पाइयो।
काठमाडौँबाट झापा पुगुन्जेल आँखाभरि हरिया धानखेत र कोदोबारी, कतै उखुबारी र केराघारीको दृश्य भर्दै भर्दै चौध घण्टा पछि साँझ जयपुर घर पुगियो।
हेटौडाबाट पूर्व चुरेको फेदीमा कुदेको मदन भण्डारी राजमार्ग पहिलोपल्ट सफर गर्ने मौका भयो। साना साना बस्ती, अनगन्ती खोला र खोल्सा, ठाउँ ठाउँमा गएको मनसूनी बाढीले सडकमा थुपारेको माटो र ढुङ्गा, खोला बगरभरि सेतै फुलेको काँसघारी र लोभलाग्दा धानका बाला देखेर हामी यात्रा भरि रमाईरह्यौं। महशप्तमिको दिन परेकाले ती साना बस्तिभरि दशैँको शिकार तयार हुँदै गरेको देख्न सकिन्थ्यो। अमेरिकामै जन्मेकी हाम्री छोरीलाई यो दृश्य अनौठो लाग्यो।
यात्रामा देखेका र भेटेका नयाँ वस्तु, प्राणी, वनस्पती, मानिस वा प्राकृतिक परिवेशहरूको अनुभव र अनुभूति नगर्ने हो भने, यात्रा नै निरस र निर्जीवन लाग्छ। यस्ता अनुभूतिहरू जीवनको समय सारिणीमा उपयोगी हुन्छन्। आफूले बाँचीरहेको जीवन शैलीभन्दा फरक तरिकाले बाँचीरहेका अरूको शैली पनि कतै काम लाग्ने हुन्छ वा प्रेरणादायी हुन्छ। कति यस्ता अनुभवले भित्री आँखा खोलिदिन्छन् र मनको सोचदिशा नै परिवर्तन गरिदिन्छन्।
हिमालय पर्वतमालाको फेटा गुथेको नेपाल प्राकृतिक सौन्दर्यको खानी हो। जैविक, साँस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण नेपाल देश जति घुमे पनि कहिले अघाइन्न। मलाई यो सालको भ्रमणले नेपालप्रति अति गहिरो मोह र सम्मान जगाइदियो। हुन त कलेजको शैक्षिक भ्रमणमा पश्चिम महाकाली देखि उत्तरको गोसाईकुण्ड सम्म पुग्ने मौका मैले पहिले लिइसकेको छु। यसपाली भने हिमाल पारीको मुक्तिनाथ धामसम्म उक्लने र तराईको पुण्यभूमि लुम्बिनीसम्म झर्ने रोमान्चक यात्रा जुर्यो। बिचमा पर्ने चुरे र महाभारत पर्वत शृंखलाका अनेकन डाँडालाई छिचोल्दै सफर गर्नाले मन मस्तिस्क अति हलुङ्गो भएको र नयाँ उर्जाले भरिएको आभास भयो।
जम्मा ३० दिनको छुट्टी मिलाएर उम्किन सकेको म जस्तो सरकारी कर्मचारीलाई कामले कर्मथलो फर्किने जिकिर गरिहाल्छ। तेसैले पनि जति देख्न सकिन्छ, जति ठाउँ पुग्न सकिन्छ तिनको बारे भरपूर जान्न र स्मृतिमा अटाउन चेष्टा गर्नु मनासिब हुनेरहेछ। यात्रा भरि नबिर्सीकन यो प्रयास गरिरहें मैले ।
मुक्तिनाथ दर्शन यात्रा
मुक्तिनाथ वा मुक्तिक्षेत्र हिन्दु र बौद्ध धर्म अनुयायीका लागि ध्यानमग्न भएर, सांसारिक माया बन्धनबाट मुक्त हुने बाटो खोज्ने एउटा उत्तम ठाऊँ हो रहेछ। यहाँ हावा पातलो छ-मनभरि मडारिने दुषित छाललाई पातलो पारिदिन्छ ; यहाँ पानी बरफिलो छ – मस्तिष्कको तातो रवाफलाई चीसो तुल्याई दिनेछ। दिनभर मुक्तिनाथ घुम्न पाए, कागबेनीमा कालिगण्डकी नुहाउन सके, मनको मैलो पखालिने रहेछ। तर यात्रामा निस्किहाल्नु पर्ने, बाटो छिचोल्नु पर्ने , समयको सिमिततालाई ख्याल राख्नु पर्ने वाध्यता भएपछि, मनको सानो आर्त उतै छोडेर फर्किनु पर्दो रहेछ। मैले केहि अंशमा आफूलाई उतै बिसाएको बहाना गरें।
पोखराबाट बिहान सबेरै यात्रा शुरु भयो – बाग्लुङ्ग राजमार्गमा हाम्रो महिन्द्रा स्कोरपियो गाडी हालेपछि । अन्नपुर्ण हिमश्रिङ्खलाका हिमालहरु सेतै टल्किरहेका थिए, पोखरा उपत्यकालाई मोहनी लगाउँदै। हामी त पहाड छिचोलेर हिमालतिरै हुँइकिन निस्केका यात्री, मन फुरुङ्ग हुने नै भयो। अनेकन कौतुहलपूर्ण जिज्ञासा थिए , आँखा प्रकृतिका सबै दृश्य खिच्न र मनभरी तस्विरका कलेवर बनाउन आतुर थिए।
बाग्लुङ जिल्लामा पर्ने गलेश्वर धाममा केहि समय बिताउने हेतु हामी रोकियौं। फैलिएको सिङ्गो चट्टानमाथि गलेश्वर मन्दिर बनेको रहेछ। यो धाम पौराणिक कथा अनुसार सतिदेवीको गला पतन भएको ठाऊँ मानिएको रहेछ। यहाँ मैले एक जोडी अनेपाली विदेशी पर्यटक पनि दर्शन गर्न लाम लागेको देखें। केहि माथि डाँडामा शालिग्राम संग्रालय र एउटा मन्दिर बनेको रहेछ। हजार भन्दा बढी खालका, विभिन्न आकृतिका शालिग्रामहरु एकै ठाऊँमा यहाँ देख्न पाइन्छ। सम्भवत : यो संग्रालय कुनै भूगर्भविद वा आदिम जीवजन्तु अध्ययन गर्नेका लागि चाख लाग्ने ठाऊँ हुन सक्छ जस्तो लाग्यो।
नेपाल तेसै पनि अनुसन्धान र खोजकर्ताका लागि कन्चन, उर्वर भूमि हो। अनेकौं विषय छन् खोज अनुसन्धान योग्य। टोनी हेगनले यस्तो सम्भावनालाई उहिले देखेका रहेछन्।
म्याग्दी जिल्लाको बेनी बजार पुग्दा दिउँसो एक बजिसकेको थियो। खाना खान रोकियौं। मिजासिलो सत्कारसँगै नेपाली परिकारका स्वाद भरिएको खाना खान पाइयो। बजारमा डोकाभरी पहाडका रसिला अम्बक (अम्बा ) र सुन्तला किन्न पाइयो। विशेष त ती रसिला अम्बक नै भए – एक दानोले भोक टार्ने। हामी विदेशमा बस्नेका लागि यो दुर्लभ फल थियो। तेसैले बोक्न सक्ने जति किनेर बोक्यौं।
म्याग्दीकै तातोपानी अर्को रोकिने ठाऊँ रहेछ। यहाँ प्राकृतिक तातो पानीका पोखरी बनाइएको रहेछ। मेरो लागि भने तातोपानीको आकर्षण भन्दा यहाँ वरिपरिको भौगोलिक बनावट, वनस्पति, अग्ला चट्टानी पहाडबाट हाम्फाल्ने छाँगा र नजिकै गीत गाउँदै झर्ने कालिगण्डकी बढी रोमान्चकारी थिए।
कालिगण्डकीको तिरैतिर हिँडेको साँगुरो बाटो पहाडका भीमकाय चट्टान काटेर खोलिएको रहेछ। ठाऊँ ठाऊँ कालो पत्रे गरिएको, धेरै ठाऊँ काटिएका चट्टानमाथि गाडीका पाङ्ग्रा निकै सकसले मात्र गुड्न सक्थे। हाम्रा चालक कृष्ण धेरै सतर्क भएर गाडीलाई हाँकीरहेका थिए। उनको शान्त सौम्य मिजास हामीलाई यात्रामा चाहिने गुण थियो।
रुप्से झरना अर्को आकर्षण मुक्तिनाथ जाने बाटोको। मुस्ताङ जिल्लामै पर्ने यो झरनाले पानीको विशाल मुस्लो कालिगण्डकीमा खसाउँदोरहेछ। निकै उचाईबाट खसेको यो झरना हेर्न सबै यात्रुहरू गाडीबाट निस्केको देखियो। हरेकले आफ्नो मोबाइलको क्यामेरामा यो झरनाको पल पल गुरुत्वआकर्षण गति कैद गर्न खोजेको देखिन्थ्यो। बाटोको साँगुरो घुम्तीमा यो झरनाले मेला महोत्सव जस्तै बनाइदिएको थियो।
पहाड चिर्दै बाटो जति उत्तरतिर घुस्रिन्थ्यो तेती हिमालका चुचुरा पछाडी छोडिएको भान हुन्थ्यो। कालिगण्डकी खोलाको बगर फिजारिएको थियो, समथल भू-बनावटमा जस्तै। जोमसोम पुग्दा हिमालका अग्ला चुचुरा सकिएर, सुक्खा साना होचा पहाडको मरुभूमि भेटिने रहेछ। हिमाली मरुभूमी- मनसुनी वर्षालाई हिमालले छेकेको यो भेग जहाँ केहि होचो भागमा मात्र हरियो देखिने रहेछ | मार्फामा फल्ने स्याउ र फापर थोरै समथल जग्गामा सिमित रहेछ। पर्यटन यहाँको आम्दानीको मुख्य श्रोत ; हामी जस्ता बाहिरी र आन्तरिक पर्यटकलाई सेवा दिने सबै वर्गका होटेल र आवास यहाँ पाइनेरहेछ। पुग्नु अघि नै बन्दोवस्त गर्दा अझै राम्रो।
बाग्लुङको प्रसिद्ध कालिका भगवती मन्दिर र कालिगण्डकीमाथि झुन्डिएको झोलुङ्गे पुल (स्वर्ण झुला) यात्रामा रौनकता थप्ने मानव निर्मित आकर्षण हुन्। पर्वत र बाग्लुङ जिल्ला जोड्ने पाँचवटा झोलुङ्गे पुल डरलाग्दो उचाइमा टाँगीएका छन्। झन्डै छ सय मिटर लम्बाई र करिब दुइ सय फिट अग्ला ती झोलुङ्गे पुल निर्माण कसरी सम्भव भयो होला भन्नेमा खुल्दुली हुने रहेछ। बानी नपरेका हामीलाई त्यस पुलमा वारपार गर्न डर लाग्दो, तर अनुभव चाहिं रोमान्चकारी।
हामीले कालिका मन्दिरको दर्शन मुक्तिनाथबाट फर्केर गर्यौं। नेपाली सेनाले व्यवस्थापन गरेको यो मन्दिर सालको सानो जङ्गलभित्र रहेछ – सफा, प्राकृतिक र मनको मैलो पखालिने ठाऊँ।
पाइला पाल्पातर्फ
पोखराको लेकसाइड होटेलमा बास बस्न पुग्दा बेलुकाको सात बजेको हुँदो हो। बिहान फेवातालमा डुङ्गा चढेर तालबाराही मन्दिर घुम्ने र पताले छाँगो (डेविस फल ) हेर्न जाने कार्यक्रम भयो। प्रकृतिले पोखरालाई साँचीकै पर्यटन नगरी बनाइदिएको छ। फेवातालमा डुङ्गा चढेर जलसफर गर्दै माछापुच्छ्रे र अरू हिमाल हेर्दै मोहित हुनु , पताले छाँगो गर्जिदै जमिनमुनि भासिएको हेर्नुको आनन्द चीरकाल रहिरहोस जस्तो लाग्यो। पश्चिमी दुनियाँको एकोहोरो दैनन्दिनीबाट उम्केर यी रमणीय दृश्य हेर्न पुग्दा रहेछन् पर्यटकहरू ।
हामी सात दिनको यात्रामा निस्केका यात्री, रोकिने समय साह्रै छोटो; तेसैले बिहानको चिया नास्ता गरेर पोखराबाट निस्कियौं पाल्पातर्फ। रानी महल हेर्ने रहर हाम्रो। तर सोचेको र अरु यात्रीले युट्युबमा राखेको तस्विर भन्दा फरक देखें मैले चाहिं। रानी महलको महक खस्किदो अवस्थामा रहेछ। इतिहासको यो एउटा टुक्रा संरक्षण र मर्मत सम्हारको व्याकुल प्रतिक्षामा रहेछ।
तानसेन उक्लेर डाँडाको अर्को पाटोमा खोला सम्म झर्ने कालोपत्रे बाटो नागबेली घुम्ती काट्दै झर्दो रहेछ – पाखाको घना जङ्गलमा डोरो राखेसरि। वनस्पतीका अनेक प्रजातिहरू पाइने ठाऊँ रहेछ यो, वनस्पती अध्ययन गर्नेका लागि उपयुक्त।
रानीमहल र वरिपरिको विचरण पछि, नजिकै गण्डकीमा मिसिने सानो खोल्साको सङ्लो पानीमा खुट्टा चोबलेर आनन्द लिएपछि हामी उकालो लाग्यौं तानसेन बजारतिर। “तानसेन घमाइलो” गीतमा झलकमान बा’लाई सम्झदै हामी हतार हतार बुटवल (बटौली ) झर्यौं , बास बस्न । तानसेन साँचै घमाइलो देखिएको थियो त्यो बेला।
बुटवल वा भैरहवासम्म पुगेर बास बस्दा भोलिपल्ट हामीलाई लुम्बिनी दर्शनमा धेर समय बिताउने सुविधा हुनेथ्यो | नभन्दै होटेलको खोजीमा गुड्दा गुड्दै हामी भैरहवा पुग्यौं। भैरहवामा होटेल बन्दोवस्त गर्दा झन्डै दस बजेको थियो। तराईको न्यानो वाफमा एक रात बिताउन हामीलाई वातानुकुलित कोठा चाहियो, नभए मच्छडसँग रातभर युद्ध लड्नु पर्थ्यो।
लुम्बिनी दर्शन
लुम्बिनी विश्व सम्पदा सूचिमा परेको क्षेत्र हो। सिद्धार्थ गौतमको जन्मस्थल। विश्वका बौद्धमार्गीका लागि पवित्र तिर्थस्थल। एशियाका बौद्ध धर्म प्रमुख मान्ने देशहरूले यहाँ आ-आफ्ना शैलीका आकर्षक भवन र गुम्बा बनाएका रहेछन्। थाइल्याण्डले धेरै ठाऊँमा योगदान गरेको देखियो। जापान सरकार र विश्व सम्पदा सँस्था (युनेस्को) को सहयोगमा लुम्बिनी विकास कोषले पुरातत्व विभागसँगको सहकार्यमा विस्तारित लुम्बिनी क्षेत्रमा उत्खनन र संरक्षणका काम गरेको रहेछ। २१०० वर्ग किलोमिटर क्षेत्रफलमा यो सम्पदालाई पर्खालले घेरिएको रहेछ। पर्खालमा नौ वटा प्रवेश द्वार राखिएका रहेछन्।
लुम्बिनी गुरुयोजनामा के छ, मलाई थाहा छैन। जब हाम्रो गाडी लुम्बिनी विकास कोषको कार्यालय भवन छेउ रहेको धुलौटे विश्रामस्थलमा रोक्यौं, त्यहाँ यो सम्पदाको संरक्षण र विकास गर्ने कुनै सँस्था छ भन्नेमा पत्यार लागेन। सानो, फोहोर मैलायुक्त उद्यानमा यु थाँत को प्रतिमा उभिएको थियो – लुम्बिनी विकासको साक्षी बनेर। यी १९६७ ताका लुम्बिनी भ्रमण गर्ने संयुक्त राष्ट्र संघका महासचिव थिए । यिनकै कारण लुम्बिनी विकास गुरुयोजना थालिएको रहेछ। तर तिनै महासयलाई खिल्ली उडाउने गरि कार्यालय वरिपरिको क्षेत्र लापरबाही प्रयोग भएको देखियो। केही स्थानीय मानिसहरुको बोलिमा बुद्ध बोली पाइएन।
यो क्षेत्र एक दिनमा घुमेर नसकिने र यहाँका पुराना वस्तु वा लिखतलाई बुझेर नसकिने पक्का छ। आधा दिनको घुमाइले त के पो थाहा हुन्छ र ? केहि तस्विर खिच्न र बनेका भवनको कलात्मक शैली हेरेर दङ्ग पर्नु बाहेक के पो जानिन्छ र बुद्ध जन्मस्थलको विराट इतिहास बारे। मायादेवी मन्दिरभित्र भगवान बुद्धको असली जन्मस्थान भनेर राखिएका उत्खननबाट निस्केका ईटा देख्न पाइयो। भित्र प्रहरीको पहरेदार टोली बस्दो रैछ। बाहिर ठाडो राखिएको अशोक स्तम्भमा के लेखिएको थियो, हामीले बुझ्ने कुरा भएन। उता बोधी वृक्ष मुनि भिक्षुहरू लहरै बसेका थिए , भिन्न भिन्न भाषाका बौद्ध ग्रन्थ फिजाएर। हामीले सकेको केहि भिक्षामा दान गयौं।
नयाँ पर्यटकका लागि बाटो देखाउने, गाडी राख्ने बिसौनी वा अन्य सूचना र जानकारी भएका कुनै सूचनापाटि वा कागजी सूचना पर्चिहरू पनि पाइएन। हामी त नेपाली बोल्न जान्ने पर्यटक, तर अनेपाली वा विदेशी पर्यटकका लागि सूचना र जानकारीमुलक पाटि नराखिएको देख्दा, लुम्बिनी विकास कोषले केहि साना काममा ध्यान नपुर्याएको बुझियो। हामी एउटा प्रवेश द्वारमा पुगेर फर्किनु पर्यो र प्रवेश शुल्क तिर्ने कार्यालय सम्म सोध्दै खोज्दै पुग्नु पर्यो। लुम्बिनीसँग जोडिएको बौद्ध दर्शन, ज्ञान र अध्यात्म चेतलाई नेपाल सरकारकै अपनत्वमा र अगुवाईमा फैलाउने र त्यस क्षेत्रका मानिसहरूको कल्याणका लागि प्रयुक्त गर्नुले लुम्बिनी क्षेत्रको महत्ता बढ्ने छ जस्तो लाग्यो।
मलाई चाहिं समयको लामो नापछडी लिएर भविष्यमा पुन: फर्किन मन लागेको छ।
पूर्वतिरको महेन्द्र राजमार्गमा
अब हाम्रो गाडी पूर्व मोडिने बेला भयो। हामीले चिताएको भन्दा एक दिनले लम्बियो यात्रा।
पूर्व लागे पछि दुइवटा हेर्न लायक ठाऊँ -जनकपुर धाम र चितवन राष्ट्रिय निकुञ्ज- नछुटाउने रहर छ। चितवनको टाँडी बजार पुग्दा बेलुकाको चार बजेको थियो। राष्ट्रिय निकुञ्ज घुम्ने यो अबेर समय हो र पर्याप्त होइन भन्ने जानेरै पनि हामी सौराहातिर हानियौं। हात्ती प्रजनन् केन्द्र र केहि वरपरको दृश्य हेर्न हामी त्यस दिनको अन्तिम टोली भएछौं। जीपमा एक निकुञ्ज सहयोगी लिएर हामी एफ फन्को छेउछाउ घुम्न भ्यायौं। एक ठाऊँ गाऊँ नजिकै झाडीमा गैंडा देख्न पाइयो र बाटो छेउ जङ्गली कुखुरा वा लुइचेको बथान चरीरहेका भेटिए।
घाम डुब्ने तयारीमा थिए , छेउको बुढी राप्तीमा रातो टाटो छायाँ पर्न थालेको थियो। हामी अँध्यारो भएपछी मात्र टाँडीबाट पूर्वतिरको महेन्द्र राजमार्ग खण्डमा गुड्दै थियौं। धेरै खण्डमा राजमार्ग बढाउने निहुँमा खोतलेर छोडेको रहेछ – गाडीका पाङ्ग्रालाई हिड्न सकस। तेसै ढिलो हुने भयो, भत्काएको बाटोका कारण।
हेटौडामा बास बस्नु पर्ने भयो तर भनेजस्तो होटेल पाइएन। भोलिपल्ट लोकसेवाको जाँच परेको रहेछ। निकै खोज्दा नभेटे पछि हामीलाई एक सहयोगीले राप्ती खोला पश्चिमको एउटा होटेलमा बास मिलाइदिनु भयो। हामीले यो होटेल देखेर पनि, अलि पूर्व तिरको बजारमा पाइने आशले बाटो काटेका थियौं।
पथलैयाबाट पूर्व लागेपछि हामीलाई बाटो काट्नेमा हतार थियो तथापि दुई घण्टाको लागि मात्र भए पनि हामी जनकपुर धाम निस्किने भयौं। मालिक र चालक कृष्णले नै तेताको बाटो तिर गाडी मोडे। मुगल शैलीको यो विशाल जानकी मन्दिरको साँस्कृतिक महिमा अपार छ। तर व्यवस्थापन भने पर्यटन मैत्री पटक्कै लागेन। अथवा मानौं जनकपुरधामलाई पर्यटकीय गन्तब्यको दर्जामा अलिक निम्न मापन गरिन्छ। प्रदेश सरकारले यो क्षेत्रको महिमालाई जानेर पर्यटकीय पूर्वाधारहरू थप्ने र आवत जावत व्यवस्थापनमा ध्यान दिओस। राजा जनकजस्ता जीवनमुक्त राजर्षी अनि श्री रामजस्ता अवतारको कथासँग जोडिएको यो ठाऊँ त्यति भद्रगोल होला भन्ने लागेको थिएन मलाई चाहिं। बाहिर केहि तस्विर खिचेर हामी महेन्द्र राजमार्ग तर्फ हुइकियौ।
दिउँसोको खाना खान हामी लाहान पुग्यौं। लाहान बजारमा अहिले खाने बस्ने राम्रा होटेलहरू बनेका रहेछन्।
मदेश प्रदेशभरि हिड्दा यस्तो लाग्यो – यहाँका जनताले गरेको आन्दोलनले केही नेतालाई केन्द्रमा त पठायो, तर जीवनस्तर उकास्ने काम र भौतिक विकासको काम भने लथालिङ्ग छोदिदिएछ।
बुधबारे गाऊँपालिका भवनसँगै जोडिएको मेरा साडु दाइको घर पुग्दा पाँच नाघीसकेको थियो। हामी तीन जनाका लागि त जयपुर घर पुग्न अझ बाँकी यात्रा रह्यो – पाँच किलोमिटर जति पश्चिम तर्फ।
तिहारको रमाइलो घरमै बित्यो। गाई पूजा, लक्ष्मी पूजा र भाइटिका उल्लासमय बित्यो। छोरीलाई भने गाई पुज्ने यो पहिलो अवसर भयो।
चन्द्रगढी काकाघरमा भाइटिका सकेर हामी एयरपोर्ट आयौं – काठमाडौँ उड्नका लागि। यति एयरलाइन्सको विमान सधै जस्तो लगभग तीन घण्टा ढिलो मात्र उड्यो।
काठमाडौँमा दुई दिन भेटघाट र केहि किनमेल गर्नमा बित्यो। विशेष त साथी दीपक भट्टको बालकोटस्थित डेरामा सपरिवार भेट र खानाको सत्कार मिल्यो। साथी अन्जु र सुजन उनीहरुका दुई छोरा छोरी लिएर हामीलाई भेट्न बत्तिस्पुतली आए। म,अन्जु र दीपक त्रिचन्द्र कलेजका सहपाठी र छब्बीस वर्ष अघिदेखि हालसम्म मित्रताको साइनो आलै राखेका प्राणीहरू। त्रिचन्द्रका दिन देखि पछिसम्मका धेरै कुरामा कुराको पोयो फुक्यो। कती धेरै साझा सवाल छन् बाँकी, हामी त्रिचन्द्रका अनन्य पाँच मित्रबीच।
छिमेकी दाजु र मेरा नेपाली शिक्षकका छोरा शरद न्यौपानेले बिहानको खाना खान बोलाउनु भयो, सुकेधारा वहाँको घरमा। वहाँसँग यो पहिलो प्रत्यक्ष भेट हो तर चिनजान पुरानो।
सुकेधारामै मावली जेठानको आतिथ्य स्मरणीय रह्यो। काठमाडौँबाट उड्ने अघिलो बेलुका जेठानको परिवारसँग मिठो खानामा बस्न पाइयो।
नोभेम्बर ८, २०२४ का दिन हामी लुइभिल आफ्नो घर आइपुग्यौं, यात्राका अनगिन्ती स्मृति र हलुका मन लिएर।
अन्तमा केहि सुक्ष्मदर्शन भएका विषय
धेरै जसो खाजा, चमेना वा खानाको सेवा दिने होटेलमा थकाली भान्छाघर लेखेको पाइयो। ती सबै थकालीका थिएनन्। कतिमा फलानो होटेल, लज एण्ड गेस्ट हाउस लेखेको थियो तर चिया वा दुइ चार पोका पाउरोटी, तेलमा पाकेको डुनट, प्याजी र जुलेबी मात्र बाहिर थुपारेको थियो।
यस्तै एउटा “गेस्ट हाउस” लेखेको चिया घरमा हामीलाई दुई घुट्की चिया जाने काँचका प्यालामा औंला चोब्दै चिया दिएको थियो कामदारले। हामीले खान नमानेपछि अर्को पकाएर थालमा राखेर दिए। त्यस “गेस्ट हाउस” पछाडी फोहोरी दुर्गन्धित सौचालय थिए ।
धेरैवटा सूचनापाटिमा, भित्तामा, बिजुलीका खम्बामा नेपाली लिपिमा अंग्रेजी भाषाका शब्द लेखिएका थिए। यसको मतलब अंग्रेजीमा मात्र तिनको अर्थ लाग्छ वा नेपाली भाषामा लेख्दा ती कुरा बुझिदैन। यति कम्जोर हो र नेपाली भाषा जस्तो लाग्यो।
अहिले बग्रेल्ती खुलेका डिपार्टमेन्ट स्टोर भनिने बजार, निजी विद्यालयहरू र साना साना ग्रामिण उद्यममा समेत नेपाली लिपिलाई अंग्रेजी भाषाको नाम लेख्न प्रयोग गरिएको रहेछ। भाषा बिग्रेको र भाषामा पाइने शब्द भण्डार मासिएको अनुभव भयो मलाई।
घर घरबाट विदेशमा पैसा कमाउन हिडेका छोरा वा छोरीले पठाएको रेमिटान्स पैसाको प्रभाव प्रस्ट देखियो। प्रभाव घर जग्गा जोड्ने वा उद्दम गर्नमा मात्र होइन, गफको शैली, विचारको भू-मण्डलीकरण र वाकपटुता छाँट्नेमा पनि छताछुल्ल रहेछ। कतिपय यस्ता भू-मण्डलीकृत विचारहरू नेपाल र नेपाली समाजलाई होच्याउने वा हिनतावोध गराउने खालको पनि सुनियो।
प्रतिक्रिया