विश्व चेतना बोकेर लेख्ने साहित्यकार-गोविन्द गिरी प्रेरणा

नवीन पौड्याल, कालिम्पोङ २०८१ मंसिर १५ गते १६:४५ मा प्रकाशित

नेपाली साहित्यमा गोविन्द गिरी प्रेरणा एउटा टड्कारो नाम हो। उनी साहित्यिक पत्रिकाहरूमा छाइ रहने र साहित्यिक कार्यक्रमतिर आइ रहने स्वतन्त्र लेखक हुन्। उनको पूरा नाम गोविन्द गिरी भए पनि साहित्यिक उपनाम प्रेरणा थपेर गोविन्द गिरी प्रेरणाका रूपमा नेपाली साहित्य जगतमा परिचित छन्। उनको जन्म वि.सं. २०१५ वैशाख ५ गते टेक्कर, सिस्नेरी, मकवानपुरमा भएको हो। त्यसपछि सात वर्षको उमेरमा उनको परिवार मकवानपुर जिल्लाकै हेटौंडा-४, चिसापानीमा बसाईं सरेका हुन्। त्यसपछि उच्च शिक्षाको लागि काठमाडौं गएकाहुन स्नातकसम्म शैक्षिक योग्यता हासिल गरेका हुन्। उनकी आमा विष्णुमाया गिरी र बाबु रामबहादुर गिरीको काईंलो छोराका रूपमा जन्म लिएका हुन्।

उनी हाल अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च भन्ने ठाउँमा बसोबास गर्छन्। उनी नेपाल र अमेरिकाका बीच नेपालीहरूका साँघु भएर काम गरिरहेका छन्।

उनको साहित्यको लेखन गत मूल विधा कथा, कविता, उपन्यास, नियात्रा हुन् ।

हालसम्म उनका प्रकाशित पुस्तक यस प्रकार रहेका छन् :

क. कथा संग्रह- १. सुतेको समुद्र (२०४०, साझा प्रकाशन), २. अन्तराल (२०४६, नेपाल एकेडेमी) ३. यात्रा अनन्त (२०५३, साझा प्रकाशन) ४. घोराही शून्य किलोमिटर (२०६७, रत्न पुस्तक भण्डार) ५. छड्के तिलहरी (२०६९, साझा प्रकाशन), ६. गन्तव्य गणवहाल (२०७२, साझा प्रकाशन)।

ख उपन्यासहरू- १. उत्खनन (२०४५, साझा प्रकाशन) २. पाखण्ड पर्व (२०४९, अनुभव प्रकाशन), ३. अन्तिम खाडल (२०५३, राइटर्स क्लब), ४. मात्र एक रात (२०५५, राइटर्स क्लब) ५. लिभिङ टुगेदर (२०७५. बीएन पुस्तक संसार), ६. विसर्ग (२०७६, रत्न पुस्तक भण्डार, परशु प्रधानसँग सहलेखन),

ग. कविता संग्रहहरू- १. फूलहरु केही त बोल (२०५५, राइटर्स क्लव), २. स्वप्नकथा जारी छ (२०४९, अनुभव प्रकाशन), ३. अचानक एकदिन (२०५३, वाणी प्रकाशन), ४. राजमार्गका सुन्दरीहरु (२०५६, अनुभव प्रकाशन), ५. दुई दशकका आवाजहरु (२०५६, अनुभव प्रकाशन)।

घ. यात्रा संस्मरण- १. फेरो (२०५३, उन्नयन प्रकाशन), २. टिष्टाको किनारैकिनार (२०५५, रायटर्स क्लब), ३. गुडवाई अमेरिका (२०६२, वगर फाउण्डेसन नेपाल),

ङ. निबन्ध संग्रहहरू १. पाउली बुलु (२०६०, रायटर्स क्लब), २. दुई दशकका चिन्तनहरु (२०६६, अनुभव प्रकाशन)।

च. समालोचना १. तेलको धूप (२०६२, बगर फाउण्डेसन नेपाल), समकालीन नेपाली साहित्य (सह-सम्पादन), समकालीन नेपाली कविताको रूपयात्रा (संयुक्त सम्पादक)।

छ. हास्यव्यङ्ग्य- १. प्रजातन्त्रको काफल पाक्यो हजुर (२०६१, साहित्यिक पत्रकार संघ),

ज. जीवनी- १. सुश्री पारिजात (*२०७९)

झ. पुस्तक सम्पादन- १. हेम हमालका कविता, २. वसन्त श्रेष्ठका कविता, ३. ध्रुव थापाका कविता र गीत, ४. मुरारी अधिकारीका कथा, ५. ध्रुवचन्द्रका एकाउन्न कथा, ६. घडीहरुको देशमा समय खोज्दै, ७. केही परख कदीका, ८. नेपाली कविताको रुपयात्रा (दुवसु क्षेत्रीसँग सहसम्पादन)

ञ. अनुवाद- १. इकेदाका कविता र निबन्ध, २. जापानी साहित्यको संक्षिप्त झलक ।

ट. अन्तरवार्ता- १. कमल दीक्षितसँग ईमेल वार्ता, (रत्न पुस्तक भण्डार ) ।

ठ. लेखकसम्बन्धी कृतिहरुः १, प्रश्नैप्रश्नका बीच प्रेरणा (लेखकसँग २५ जना र सम्पादकको अन्तरवार्ता सङ्ग्रह) सम्पादकः कृशु क्षेत्री), २. कविका रुपमा प्रेरणा (लेखकको कविता पक्षका समीक्षा समालोचना); सम्पादकः गोवर्धन पूजा ।

ड. लेखकका अन्य भाषामा अनुवाद १. स्वप्नकथा जारी छ (कविता सङ्ग्रह मैथिली भाषामा, अनुवादक धीरेन्द्र प्रेमर्षी), २. मात्र एक रात (उपन्यास- नेपालभाषामा, अनुवादक- शशिकला मानन्धर) ।

गोविन्द गिरी प्रेरणाले साहित्य सेवा गरेवापत सम्मानित पनि नभएका होइनन्। उनले हालसम्म पाएका पुरस्कार तथा सम्मानहरूमा- १. नारायणी वाङ्मय पुरस्कार, २०४६ (भीमचरण थापासँग “अन्तराल” कथा सङ्ग्रहका लागि), २. शिवप्रसाद उन्नयन पुरस्कार, २०५३ (फेरो नियात्रा कृतिका लागि), ३. युवा वर्ष मोती पुरस्कार, २०५४ (प्रमोद प्रधानसँग), ३. मैनाली कथा पुरस्कार, २०५५, ४. प्रतिभा युवा सम्मान २०५६), ५. वासुशशी साहित्य पुरस्कार, २०७३। ६. नई गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार (सन् २०१७) ।

उनका केही रचना अन्य भाषामा अनुवाद पनि प्रकाशित छन्। तिनमा १, हिन्दी २, अङ्ग्रेजी ३, मलाय ४, टर्किस ५, बङ्गाली ६, सर्वियाली प्रमुख रहेका छन्।

उनी गत केही वर्षदेखि विश्वपरिक्रमा नामको अनलाई वेबपत्रिकाको प्रकाशन गर्दै आइरहेका छन्। उनी साहित्य पोस्ट र समकालीन साहित्यमा जस्ता अनलाई पत्रिकाहरू पनि उत्तिकै सक्रिय छन्। त्यहाँ उनका विभिन्न सामाग्री देखा परिरहन्छन्। उनी प्रतिभाशाली सर्जक हुनाले उनको प्रति गद्य र पद्य दुवैमा झल्कनिछन्। उनीभित्रको एउटा सशक्त सर्जक प्रतिभा कहिले कविता, कहिले कथा, कहिले उपन्यास, कहिले निबनध, कहिले जीवनी, कहिले समीक्षा कहिले आलेख आदिका रूपमा प्रस्फुटित भएका पाउँछौं। उनी अरू प्रतिभालाई चिनाउन, आलोकित पार्न पनि खप्पिस छन्। उनी साहित्यलाई पेशा नबनाएर एउटा रहर, स्वान्त सुखायका निम्ति लेख्ने गरेका हुन्। साहित्य लेखेर उनले धन कमाएका छैनन्ब रू गोजीबाट रकम निकालेर भए पनि आफ्ना पुस्तक प्रकाशित गर्दछन्। उनी आफ्नै आत्म सन्तुष्टिका निम्ति लेख्छन्। उनको साहित्यिक सङ्गत नै आफुजस्तै प्रतिभाशाली साहित्यिकहरूसित रहेको पाइन्छन्। उनी भावसचेत, शैलीसचेत र युगसचेत लेखक हुन्। उनका लेखनमा जीवनका विभिन्न रङ्गहरू प्रतिविम्बित छन्।

माथिका पुस्तक सूची हेर्दा मात्र पनि उनी एक सफल कवि, एक कथाकार, एक नियात्राकार, एक निबन्धकार, उपन्यासकार हुन्। उनका केही कृति विभिन्न भाषामा अनुमा अनूदित भएको कुरा जान्दा उनी कतिको उम्दा लेखक हुन् भन्ने कुरा पाठकले अनुमान गर्न सक्नेछन्। उनी पनि विश्वजनीन चेतना लिएर लेख्ने सलेखक हुन्। उनीभित्र नेपालको भित्री गाउँका पीडा व्यथा, समस्याको अनुभव छ। यसगी उनीभित्र काठ्माडौली शहरीय परिवेशको पनि अनुभव छ। यसैगरी उनी अमेरिका निवासी भएपछि त्यहाँका शहर र गाउँका जनजीवनबारे राम्रो अनुभवी र जानिफकार हुन्। उनले नेपालको गाउँले जीवन पनि भोगेका हुन् शहरीया जीवन पनि। यसैगरी उनले गरीबीको चरण अवश्य पनि देखेका हुन् भन् शहरीया सम्भ्रान्तता पनि देखेका हुन्। उनी कमिलादेखि ब्रह्माण्डसम्म, अनुभव र संवेदनादेखि विश्व राजनितीका पनि जानकार हुन्। उनी नेपाली संस्कार र संस्कृति, चेतना, माया बोकेर अमेरिका बस्ने खाँटी नेपाली हुन्। उनी अमेरिका बसे पनि वर्षको तीन महिना नेपाल बस्छन्। उनले यहाँका कुरा पनि जान्दछन्, अमेरिकाको कुरा पनि जान्दछन्। अमेरिका जाँदा नेपाल बोकेर जान्छन् अनि नेपाल आउँदा अमेरिका बोकेर ल्याउँछन् अर्थात् उनी दुवैतिरका सामाजिक जीवनका सहभागी र सहभोगी हुन्। उनले नेपालको गाउँले दाजु-भाइका पीडा पनि बुझेका छन्, अमेरिकाका जनजीवनका आन्तरिक कुरा पनि जानेका छन्। नेपालका नेपालीका गाँस बास कपासको समस्या पनि देखेका छन् भने विदेशका नेपाली र अन्यका वास्तविक पीडा पनि देखे-जानेका छन्। यसो हुँदा उनले आफ्नो लेख्यसामग्री वैश्विक (ग्लोबल) चेतना बोकेर हिँड्ने लेखक हुन्। उनले विश्वभरिका सामाजिक, राजनैतिक, आर्थिक आदि कुरालाई वास्तविकतासित कल्पना, संवेदना, अनुभूतिको रङ्गरोगन मिलाएर, शिल्प, शैलीको कुशल संयोजन गरेर साहित्य लेख्छन्। उनी स्वतञ्त्र चेतना बोकेका लेखक हुन्।

उनको सुश्री पारिजात पुस्तकमा पारिजातको यति गहन र सघन परिचय प्रस्तुत गरेका छन् कि जीवनी साहित्यमा एउटा उत्कृष्ट र नमुना देखाइदिएका छन्।

उनले पारिजातका हरेक कुरालाई देखाइदिएका छन्। यसमा पारिजातको जीवनी, व्यक्तित र कृतित्वको सम्यक् चर्चा गरेका छन्। यसमा रहेका विषयसूची हेर्दा मात्र पाठकलाई यस पुस्तकको महत्त्व बुझ्न सजिलो पर्दछ। कुनै पनि लेखकका बारेमा यति सघन, आन्तरिक र सूक्ष्म अध्ययन ग्रन्थ पाउन दुर्लभ हुन्छ। यसमा त गोविन्द गिरीले पारिजातको जन्म, बाल्यकाल, स्वभाव, आनीबानी, स्वस्थ्य, लेखन, साथी- संगाती, राजनैतिक साहित्यिक सामाजिक विचार, सम्मान, सम्पादन, अनुवाद यादि हरेक पक्षबारे लेखेका छन्। लगभग चार सय जति पृष्ठहरूमा आबद्ध यस ग्रन्थ तयार पार्दा उनले धेरै सामाग्री सङ्कलन, तथ्यान्वेषण, अध्ययन, चिन्तन, परिश्रम र लामो साधना गरेका थिए भन्ने सावित हुन्छ। यो ग्रन्थ तयारी गर्दा उनले आफ्नो व्यक्तिगतदेखि लिएर त्रिपन्नवटा सन्दर्भ ग्रन्थ, सातवटा पारिजात स्मृति ग्रन्थ र विशेषाङ्क भएका पत्रिकाहरू, विभिन्न पत्रिकामा प्रकाशित पारिजातबारे बत्तीसवटा समीक्षात्मक लेखहरू, दैनिक अखबारहरूमा पारिजातबारे विभिन्न लेखकका सैंतालिसवटा समीक्षात्मक लेखहरू, विभिन्न दैनिक पत्रिका र सामयिक पत्रिकामा पारिजातका आफ्नै सत्तरीवटा रचनाहरू, पारिजातबारे चौवन्नजना साहित्यकारहरूका टेप वा इमेल अन्तर्वार्ता लिएर तयार पारिएको यो ग्रन्थ नेपाली जीवनी साहित्यको एउटा उत्कृष्ट कृति बनेको छ। पारिजातका केही कृतिहरूको समीक्षा पनि गरेका छन्।

उनको अन्तिम खाडल उपन्यासमा नेपाली जनजीवनका गरीबी र अनैतिकताको पराकाष्ट रूप देखाइदिएका छन्। उनका कविताहरूमा वैश्विक चेतना बोकेका हुन्छन्। उनी सहलेखनमा पनि अघि देखिन्छन्। उनी आकाश विभाजित छ, र परशु प्रधानसित रही विसर्ग नामको सहयोगी उपन्यास लेखेका छन्।

गोविन्द गिरी प्रेरणा एक दक्ष समालोचक पनि हुन्। उनका कृतिहरू जस्तै तेलको धूप (२०६२), केही परख : कदीका (२०५५), जापानी साहित्यको संक्षिप्त झलक (२०५८), कमल दीक्षितसँग इमेलवार्ता (२०६९) समकालीन नेपाली साहित्य (सह- सम्पादन), समकालीन नेपाली कविताको रूपयात्रा (संयुक्त सम्पादक)। उनी जीवनीपरक समालोचकमा पनि अग्रणी छन्। उनले विश्वसाहित्यका सर्जकदेखि लिएर नेपाली साहित्यका धेरैजना सर्जकको जीवनी, व्यक्तित्व र कृतित्वबारे समीक्षात्मक अध्ययन गरेका छन्। उनी व्यावहारिक प्रभाववादी व्यक्ति र कृतिकेन्द्री समालोचना लेख्ने गर्छन्। सम्पादनकार्य र अन्तर्वार्ताको माध्यमबाट पनि सर्जकको मूल्याङ्कन अध्ययन र विश्लेषण गरेका छन्। यसका साथै उनले जापानी साहित्यको संक्षिप्त झलक पुस्तकमा इतिहास परक समालोचनामा पनि काम गरेका छन्।

उनी एउटै विधामा मात्र नरहेर सबै विधामा बराबरी लेखि रहन्छन्। उनको प्रतिभा कहिले कथा, कहिले उपन्यास कहिले कवितामा, कहिले नियात्रा आदिमा झल्किन्छ। उनी केही न केही कृति पढिरहन्छन्, लेखिरहन्छन्, डुलिरहन्छन्, साहित्यिक, सामाजिक कार्यक्रमतिर धाइरहन्छन्। उनका प्रत्येक अनुभवलाई आफ्ना कृतिको सामाग्री बनाएका हुन्छन्। यात्राका प्रत्येक अनुभूतिलाई कागतमा उतार्छन्। एक त आफैं एक गम्भीर अध्येता, त्यसमाथि संवेदना, कल्पना, तीब्र दृष्टि आदिले साहित्य सिर्जना गरिरहेका छन्। उनले जीवन बुझेका छन् र जीवनाभूतिलाई काव्यिक रङ्ग चडाएर, बौद्धिक बनाएर, सन्देशमूलक बनाएर कविता लेख्छन्। उनका लागि “साहित्य बिकाउ माल होइन, यो त समाजको टिकाउ गहना हो”। उनी लामो कथामा पनि निकै अघि छन्। उनको गन्तव्य गणबहाल लामो कथासङ्ग्रह प्रकाशित छ।

उनका प्रत्येक अनुभवलाई आफ्ना कृतिको सामाग्री बनाएका हुन्छन्। यात्राका प्रत्येक अनुभूतिलाई कागतमा उतार्छन्। एक त आफैं एक गम्भीर अध्येता, त्यसमाथि संवेदना, कल्पना, तीब्र दृष्टि आदिले साहित्य सिर्जना गरिरहेका छन्। उनले जीवन बुझेका छन् र जीवनाभूतिलाई काव्यिक रङ्ग चडाएर, बौद्धिक बनाएर, सन्देशमूलक बनाएर कविता लेख्छन्। उनका लागि “साहित्य बिकाउ माल होइन, यो त समाजको टिकाउ गहना हो”

उनी आफैं एक वरिष्ठ सर्जक साहित्यकार भएर अरू साहित्यकारको पनि परिचयन, मूल्याङ्कन र समीक्षण गर्छन्। आफैं एक प्रतिभाशाली साहित्यकार भएर अरू प्रतिभालाई राम्ररी चिनाउँछन्। उनी जौहरी भएर हीरा चिन्छन्। उनले संसारका प्रमुख साहित्यकारदेखि आफ्नो नेपाली साहित्यका सर्जकहरू धेरैका बारेमा लेखिदिएका, बोलिदिएका, चिनाइदिएका छन्। उनी विश्वचेतना लिएर हिँड्दा उनले विश्वसाहित्यका प्रमुख साहित्यकारहरूका जीवनी व्यक्तित्व र कृतित्वको प्रकाश पारेर लेख्छन्। उनी पाश्चात्य साहित्यकार अक्टोभियो पाज, एलेन गिन्सवर्ग, चार्ल्स वुकोब्स्की, सिमोन द विभर, नावोकोभ, बासो, अबु नुवस, गाब्रियल गार्सिया मार्खेज, वोल सोयिन्का, सिमस हिनी, जोसेफ ब्रोड्स्की, केन्जाबुरो ओए, गुन्टर ग्रास, महास्वेता देवी, हेरोल्ड पिण्टर,सिल्भिया प्लाथ, जो भान आमर्स कुलर, इरिना रातुसिन्स्काया आदिको विषयमा मूल्याङ्कनपरक समीक्षा लेखेका छन्। अर्कापट्टि नेपाली साहित्य सर्जकहरू श्यामल, दिनेश अधिकारी, सरूभक्त, प्रमोद प्रधान, किशोर पहाडी, राजेन्द्र शलभ, अशेष मल्ल, फणीन्द्र नेपाल, राधेश्याम लेकाली, ध्रुव मधिकर्मी, दुवसु छेत्री, सीता पाण्डे, गोविन्दसिंह रावत, गोपाल पराजुली, प्रतीक ढकाल, श्री ओम श्रेष्ठ रोदन, विष्णुविभू घिमिरे, उषा शेरचन, हेमन्त श्रेष्ठ, नवराज कार्की, विधान आचार्य, शारदा शर्मा, वियोगी बुढाथोकी, लव गाउँले, कृष्ण धरावासी, तीर्थ श्रेष्ठ, पुरुषोत्तम सुवेदी, अविनाश श्रेष्ठ, विश्व विमोहन आदिबारे रमाइलो किसिमको फिचर लेखन गरेका छन्। यी नेपाली साहित्य सर्जकहरू प्रायः उनका दौंतरी हुनाले उनीहरूका आनीबानी, जीवनी, लेखन आदिबारे स्वतन्त्र रूपमा प्रकाश पारेका छन्। उनीहरूकाविषयमा पढ्दा हामी पाठकलाई रमाइलो लाग्छ।

त्यति मात्र नभएर उनले अग्रज पुस्ताका झण्डै सयौं लेखक साहित्यकारहरुका विषयमा पनि संस्मरणात्मक जीवनी लेख लेखेर प्रकाशित गरेका छन् । त्यस्ता साहित्यकारहरुमा शंकर लामिछाने, विजय मल्ल, ध.च. गोतामे, पारिजात, शिव प्रधान, वानीरा गिरी, वासुदेव लुईंटेल, भीम दर्शन रोका, भूपि शेरचन, बालकृष्ण पोखरेल, दौलत विक्रम विष्ट, हरिभक्त कटुवाल, ईश्वरबल्लभ, जगदीश शम्शेर राणा, केदारमान ब्यथित, मोहन कोइराला, शङ्कर कोइराला, रमेश विकल आदि छन् ।

त्यस्तै उनले पचासौं को सङ्ख्यामा नेपाली भाषाका लेखक साहित्यकारहरूको अन्तर्वार्ता लिएर प्रकाशित गरेका छन् । कमल दीक्षितसँगईमेलको माध्यमबाट लिएको अन्तर्वार्ताको त पुस्तक नै प्रकाशित छ ।

उनी प्रायः काठमाडौंका धेरै पत्र-पत्रिकामा, अनलाइन पत्रिका ‘साहित्य पोस्ट’, अनलाइन खवर डट कम शिलापत्र डटकम मा नियमित रुपमा छाएका देखिन्छन्। ‘विश्वपरिक्रमा’ त उनको आफ्नो वेबपत्रिका हो। यसको माध्यमबाट उनले नेपाली साहित्यको विकास निम्ति धेरै खटिरहेका छन्। नेपाली साहित्यलाई पनि अब प्रविधि मैत्री बनाउन, विश्वव्यापी बनाउन, युवा पुस्तामा प्रचार प्रसार गर्न, अबका मानिसलाई साहित्यतिर रुचि जगाउन यसरी आफ्नो बुताले काम गरिरहेका छन्। अहोरात्र खटिरहेका छन्। आफ्नो पेशा र साहित्य लेखन अध्ययनको सही तालमेल मिलाएर अघि बढ्दा उनको साहित्यिक सिर्जना र सेवाको उँचाइ बढिरहेको छ। उनी स्थानीयदेखि विश्व चेतना बोकेका एक सफल साहित्यकार हुन्। उनी स्रष्टा पनि हुन्, द्रष्टा पनि हुन्। उनी सम्पादक पनि हुन्, एक साहित्य कर्मी पनि हुन्। अरूलाई लेख्ने परिवेश बनाइदिने एक उत्प्रेरक हुन्। अतः उनी साहित्यका सबै हुन्।

नवीन पौड्याल, कालिम्पोङ

प्रतिक्रिया