“पूर्ण बहादुरको सारंगी”को चर्चा यति चुलिएको छ कि सिनेमाले जो कसैलाई पनि हलमा गएर फिल्म हेर्न बाध्य बनाएको छ भने आम मानिसहरु बीच अचेल सामान्य भेटघाट र कुराकानीको क्रममा चर्चा गर्ने विषय पनि बनेको छ।
सामाजिक सञ्जालमा चलचित्र हेरेर रुँदै हलबाट निस्किने दृश्यले फिल्म प्रति जनचासो यति बढाई दियो कि फिल्म पूर्णबहादुरको सारंगी नेपालमा अझै हाउसफुलकासाथ चलिरहेको छ भने बिदेशतिर शो थपेको थप्यै गर्नु परेको छ।
फिल्म यस्तो छ कि नरोई घर फर्कने कोही भेटिन्न, फिल्मले हेर्न बसेदेखि नउठ्दासम्म रुवाएको रुवायै गर्छ भन्ने भाष्य कै कारण मानिसहरु आफुले आफैलाई कति संबेदनशिल छु भनेर जाँच्न पनि हलमा पुग्नै पर्ने माहोल तयार गरिदिएको छ।
अहिलेसम्मको स्थितिमा फिल्म पूर्णबहादुरको सारङ्गीले नेपाली चलचित्रको इतिहास नै रचेको र आम्दानीको हिसाबले पनि अहिलेसम्म कै सवैभन्दा धेरै कमाउने श्रेणीमा आफ्नो नाम राख्न सफल भएको छ ।
बक्स अफिसका अनुसार नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले आज सम्ममा करिव ५६ करोडको व्यापार गरिसकेको छ । त्यसअघि बनेको ‘छक्का पञ्जा ५’ ले १४ करोड र ‘१२ गाउँ’ ले १९ करोडको व्यापार गरेको थियो। फिल्म रिलिज भएयताका ५०० भन्दा बढीका सबै शो नै ‘हाउसफुल’ हुनु र रिलिजको एकै दिन ३ करोड ९० लाखको कीर्तिमानी व्यापार गर्नु “पूर्णबहादुरको सारंगी” को ऐतिहासिक किर्तिमान हो।
स्वदेशमा मात्र हैन बिदेसमा पनि फिल्म पूर्णबहादुरको सारंगीले अपार सफलता पाएको छ। फिल्म हेर्न दर्शक यसरी ओईरिएका छ्न् कि शोहरु थपेको थप्यै गर्नु परेको छ र टिकटहरु अर्ली सोल्ड आउट भैइरहेको अबस्था छ। मुलुकमा केही भएन भन्ने सर्वत्र निरासाका बीचमा नेपाली चलचित्र क्षेत्रले थोरै भएपनि आशाको सञ्चार गर्न सफल भएको छ। पूर्णबहादुरको सारंगीको अपार सफलताले नेपाली चलचित्रको ओरालो लाग्दै गरेको अबस्थामा आशाको दियो बालिदिएको छ।
पूर्णबहादुरको सारंगीको अपार सफलताले नेपालभित्रै उच्च व्यापार गर्दै आईरहेको भारतीय चलचित्रको ब्यापारलाई खुम्चाईदिएको छ । भारतीय चलचित्रको दवदवा र एकाधिकार अन्त्य गर्दै मनोरञ्जनको नाममा नेपाली पैसा विदेश जाने क्रमलाई कम पनि गरेको छ, यो वास्तव मै खुसीको कुरा हो।
विगतकै कुरा गर्ने हो भने नेपाली चलचित्रप्रति नेपाली दर्शकहरु त्यति सन्तुष्ट भएको अबस्था थिएन, अलि हेय भावना राख्ने र गुणस्तरिय भएन भन्ने गुनासो गर्ने गरेको सुनिन्थ्यो। नेपाली चलचित्र राम्रो हुँदैन भन्दै भारतीय चलचित्र हेर्ने प्रचलन बढेको थियो तर अहिले पूर्णबहादुरको सारंगीले त्यो भाष्यलाई फेरिदिएको छ ।
नेपाली चलचित्रले बजार पाउन सिनेमाको हिरो सुकिलोमुकिलो चटक्क जिउडाल परेको, पाखुरा र छाती फुलेको, कथाले मागे पनि नमागेपनि हिरोईनले छोटा पहिरनमा सजिएर अंग प्रदर्शन गरेको, गुण्डा र हिरो बीच लडाई परेको, हिरो हिरोईन गीत गाउँदै चोचोमोचो मिलाएर जंगल जंगल डुलेको आदी इत्यादी देखाउनै पर्छ भन्ने पूरातनबादी मान्यतालाई पनि पूर्णबहादुरको सारंगीले तोडिदिएको छ।
नेपाली गाउँ समाज अनि आफ्नै माटोको भोगाई र परिवेश भित्रको एउटा भुँईमान्छेको कथाले पनि नेपाली दर्शकहरुको मन लोभ्याउन सक्छ भन्ने सन्देश पूर्णबहादुरको सारंगीले दिएको छ। सिनेमाको कथा राम्रो हुने हो भने सधैं सहायक भुमिकामा देखिने विजय बराललाई हिरो बनाउँदा पनि र कसैले नामै नसुनेको नयाँ कलाकार अन्जना बराईलीलाई हिरोईन खेलाउँदा पनि सिनेमा चल्छ भन्ने तथ्यलाई छर्लङ्ग पारिदिएको छ।
हो, कमाईका हिसाबले सिनेमा चल्यो। ब्यवसायिकताका हिसाबले हेर्दा यस अघिका सबै रेकर्ड पनि तोड्यो। अभिनयका हिसाबले कलाकारहरुको प्रस्तुति पनि अब्बल र प्रशंसनीय रह्यो। पूर्णबहादुरको बियोगान्त कथा र ब्यथाले हलमा जाने सबै दर्शका आँखा रसाए, मन कटक्क काट्यो पनि तर नेपाली ग्रामीण परिवेशमा अभिभावकको दुःख, परिश्रम र पीडा बटुलेर पर्दामा उतारेको यो चलचित्रले नेपाली समाजको यथार्थ बिषयवस्तु र गन्धर्व जातिको समग्रतालाई कथामा पस्कने मामिलामा कति सफल भयो त ? भन्ने कोणबाट फिल्मलाई कसैले पनि अलि घोत्लिएर चर्चा गरिएको भने देखिएन। सबै भावनामा बगेर फिल्मको वाहवाही गरेर एकोहोरो कोलाहल मच्याएको मात्र देखियो।
पूर्णबहादुरको सारंगी सिनेमाको प्रमुख पात्र पूर्णबहादुर, नेपाली समाजको अत्यन्त पिँधमा पारिएका दलित समुदायको प्रतिनिधित्व गर्ने पात्र हो। उसलाई सिनेमाले एउटा निम्छरो पात्रको रुपमा पस्किएको छ। कठै बिचराको संवेदनालाई भजाउने काम गरेको त छ तर पात्रमाथि न्याय भने गरेको छैन। पूर्णबहादुरलाई समाजले किन हेप्यो भन्ने प्रश्नको उत्तर चलचित्रले अन्तसम्ममा पनि दिन सकेको छैन।
चलचित्रले पूर्णबहादुरलाई फगत एउटा मगन्ते बनाएको छ। सिनेमाले पूर्णबहादुर मगन्ते होइनन्, उनी एक अब्बल र कर्मशील कलाकार हुन्, सृजना सुनाएर आय अर्जन गर्छन् भनेर साबित गराउनु पर्नेमा एउटा दयाको पात्र बनाएर आँशुको ब्यापार गर्न मै मदमस्त देखियो। न्याय र मुक्त्तीको क्रान्तिकारी र बिद्रोही धारलाई फिल्मले भुत्ते देखायो। पूर्णबहादुरलाई सामन्ती समाजमा एउटा दयाको पात्रको रुपमा मात्र प्रस्तुत गर्यो।
यो यथार्त हो कि पूर्णबहादुर जस्ता सारंगी बजाउने, आरनमा बसेर औजार बनाउने, लत्ताकपडा सिलाउने कालिगढको कडा मेहनत र परिश्रम गर्ने श्रमजिवी जनताको कामको मान र सम्मान नेपाली समाजले कहिले गर्नै जानेन। बरु उल्टै उनीहरुलाई अछुत र पानी नचल्ने निम्न कोटीको श्रेणीमा स्तरिकरण गरिदियो। समाजको त्यही यथास्थितिलाई फिल्मले पूर्णबहादुर जस्ता श्रवजिवी जनताले भोग्नु परेको अपमान र विभेदलाई पस्कने काम त गरेको छ तर त्यो सामन्ती शोषण र दमनका बिरुद बिद्रोह नगरेर पूर्णबहादुरलाई एउटा निरिह पात्रको रुपमा छोडिदिएको छ।
शिक्षा आर्जन गरेपछि सामाजिक सम्मान स्वतः पाइन्छ भन्ने फिल्मी सन्देशमा केही सत्यता भएतापनि दलितले मानवीय सम्मान पाउन डाक्टर, मास्टर वा इन्जिनियर नै बन्नुपर्ने हो त प्रश्न पनि खडा गरिदिएको छ। कोही मान्छे उच्च जातका भएकैले समाजमा शिर ठाडो गरेर हिंड्ने अनि पूर्णबहादुर जस्ता पात्रहरु दलित भएकै कारण आफ्नो मान र शान पाउन डाक्टर, मास्टर, इन्जिनियर नै हुनु पर्ने परिस्थितिको वकालत सिनेमाले नजानिदो किसिमले गरेको छ।
शिक्षालाई अँगाल्नु पर्छ भन्ने सन्देश आफैंमा प्रशंसनीय नै छ तर के औपचारिक शिक्षा नलिएकै आधारमा दलितलाई विभेद गर्न पाईने हो त भन्ने सवालको जवाफ भने सिनेमा दिन सकेको छैन। यस अर्थमा सिनेमाले समाजमा चली आएको विभेद र आमानविय याथास्थितिबादी ब्यबहारको नजानिदो किसिमले पक्षपोषण गरेको देखिन्छ।
दलित समुदायका मानिस जुन र जस्तो अवस्थामा छन्, उनीहरुले जे जस्ता पेशा र ब्यबसाय अगालेका छ्न, त्यही अवस्थामा उनीहरूले पनि अन्य जातका मानिससरह मानवीय र सामाजिक, सांस्कृतिक सम्मान पाउनु पर्छ भन्ने संदेश दिनबाट भने सिनेमा नराम्रोसंग चुकेको छ।
सुक्ष्म रुपमा केलाउने हो भने पूर्णबहादुरको सिनेमा बाहिर प्रचार गरिए जस्तो गन्धर्व जातिको कथा हो भन्न सकिने ठाउँ छैन। यदी यो गन्धर्व जातिको कथा हो भने खै त सिनेमामा उनीहरुले गाउने गाना र भाकाको प्रयोग भएको ? उनीहरुले प्रयोग गर्ने भाषा खै राखिएको ? खै उनीहरूको मौलिक गीत र संगीतले ठाउँ पाएको ? खै उनीहरुको “आखर कर्खा” घटना वा कृष्ण चरित्र ? कहाँ देखाईयो गन्धर्वका रहनसहन, संस्कृति र परम्परा ? गन्धर्व भनेको सारंगी र सारंगी भनेको गन्धर्व भन्ने मात्र बुझाईमा सिनेमा अलमलियो।
समाजको त्यही यथास्थितिलाई फिल्मले पूर्णबहादुर जस्ता श्रवजिवी जनताले भोग्नु परेको अपमान र विभेदलाई पस्कने काम त गरेको छ तर त्यो सामन्ती शोषण र दमनका बिरुद बिद्रोह नगरेर पूर्णबहादुरलाई एउटा निरिह पात्रको रुपमा छोडिदिएको छ।
लैंगिक कोणबाट हेर्ने हो भने सिनेमा पितृसत्तात्मक समाज कै पक्ष पोषणमा लागेको देखिन्छ। हो, एउटा छोरोको भबिष्य सपार्न बाबुले अनेकन दुख: कष्ट र ब्यबधानको डटेर सामना गर्छ तर के आफ्ना सन्तानको सुनौलो भबिष्य निर्माणमा आमाको कुनै भुमिका नै हुन्न त ? बा को संघर्षले हलमा ताली पाउने अनि आमा आफ्नो ब्यक्तिगत शुखकालागी लाहुरेसंग पोईल जाने सिनेमाको कथाबस्तुले मातृ शक्तिप्रती अन्याय गरेको छ र उनीहरूको नारी अस्मिताको अपमान गरेको छ।
पूर्णबहादुरकी श्रीमती बाटुली छोरोलाई उसका बाबु जस्तो ‘गाइने’ र गरिब नहोस् भन्ने चाहन्छिन्। उनको त्यो बिद्रोही भावलाई सिनेमाले थप उजागर गर्नु पर्नेमा परपुरुषको पछी लागेर शहर भाँसिएको देखाउँदा उनी भित्रको क्रान्तिकारीतालाई सिनेमाले न्याय गर्न नसकेको देखिन्छ।
जहाँ सम्म सिनेमाको गीत संगीतको सवाल छ, ती झ्वाट्ट सुन्दा मीठो र हेर्दा राम्रो अनि फिल्मको कथासंग मेल खाएको देखिएता पनि त्यो गीतले दिन खोजेको सन्देशले भने समाजमा निराशा नै पस्किएको हेक्का कसैले राखेको देखिएन।
‘इस्टकोट आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो’ भनेर गीतले दलित भाग्यकै कारण दलित भएका हुन् भन्ने भाष्यलाई जबर्जस्त स्थापित गर्न खोजेएको देखिन्छ। के कोही दलित हुनु भनेको भाग्यको खेल हो र ? कर्म खोटो भएर वा भाग्यले ठगेर दलित हुने हो त ? समाजका उपल्ला जातिका शोषक र सामन्त वर्गले जबर्जस्ती लादेका जातिप्रथा र राज्यको विभेदकारी कानुन र नीतिका कारण एउटा मान्छे दलित बन्यो, शदियौं सम्म गरिएको भेदभाव र शिक्षा-सम्पत्ति आर्जनबाट वञ्चित गरेकाले त्यस्ता मानिसहरुलाई जबर्जस्ती दलित बन्न बाध्य पारियो भन्ने सामाजिक यथार्थतालाई सिनेमाले उजागर गर्न सकेन। त्यस अर्थमा सिनेमाका गीतले भाग्यवादको पक्षपोषण गर्ने सन्देश सम्प्रेषण गरेको देखियो।
सिनेमामा जसरी पूर्णबहादुर र सारंगीलाई देखाईएको र बुझाईएको छ, त्यसबाट गन्धर्वहरु सारङ्गीबाट नटाढिए सम्म प्रगति गर्न सक्दैनन् भन्ने अर्थ लाग्छ। उनीहरूको अबस्था परिवर्तन हुन नसकेको कारण बाउबाजेले थमाईदिएको सारंगी नै हो भन्ने सिनेमाले देखाउन खोजेको भाष्य, अहिलेको आधुनिक समय र समाजसंग पटक्कै मेला खाँदैन। त्यो किनभने गाउँघरमा देखिने सुनिने सारंगी अचेल शहर बजारका दोहोरी साँझ, गजल रेस्टुरेन्ट, मेला महोत्सव, रेकिर्डिङ स्टुडियो लगायतमा अनिवार्य भएको छ । लोक, आधुनिक तथा फ्युजन गीतमा सारङ्गीको प्रयोग बढेर गएको देखिन्छ। गन्धर्व समुदायका मात्र हैन गैर दलित समुहका मानिसहरू पनि सारङ्गी बजाएरै देशविदेश घुमेको स्थिति तपाईं हामी सामु छर्लङ्ग नै छ।
जिविकोपार्जन गर्न गन्धर्वहरुलाई पहिलेजस्तो घरघर डुल्नुपर्ने बाध्यता अहिले छैन । सारङ्गी गतिलो पेसा बनिसकेको छ। अहिले, सारङ्गी गन्धर्वहरुलागि हीनताबोध होइन, पहिचान बनिसकेको छ। सिनेमा पूर्णबहादुरले अहिलेको यो बिकसित नयाँ घटनाक्रम तर्फ भने आँखा चिम्लिएको छ।
यसो भन्दै गर्दा चलचित्रको सिमा र सिमिततालाई पनि बुझ्नु पर्ने हुन्छ। समाजका सबै पक्ष र दृष्टिकोणहरुलाई समेट्न र सम्बोधन गर्न तीन घन्टाको समयसीमा आफैंमा अपर्याप्त हुन सक्छ। तर चुरो कुरो के हो भने कथाको भाव मर्न दिनु हुँदैन र लक्षित समाज र समुदायको मौलिकतालाई नजरअन्दाज गर्नु हुँदैन भन्ने नै हो।
जे होस सिनेमाले व्यावसायिक सफलता पाएको छ। हाम्रा आफ्नै कथा, ब्यथा र परिवेश सिनेमाको गतिलो कन्टेन्ट बन्न सक्छन् र गाउँघर डाँडाकाँडा, गाउँ बस्तीका ल्याण्डस्केपले पनि बजार गतिलै गरि तताउन सक्छ भन्ने यथार्थलाई पूर्णबहादुरको सारंगीले प्रमाणित गरिदिएको छ।
प्रश्न सिने निर्माता र कथा, पटकथा लेख्नेहरुलाई मात्र हैन, तपाईं हामी दर्शकहरु प्रती पनि तेर्सिएको छ। त्यो के भने – दलित समुदायको कथाले सिनेमा हलमा गएर क्वाँक्वाँ रुने तपाई हामी दर्शकहरुले सिनेमा हेरी सकेपछि अब समाजमा फर्किएर अरु धेरै त्यस्ता पूर्णबहादुरहरु माथि समाजले शदियौंदेखि गर्दै आएको चरम शोषण र विभेद विरुद्ध पनि त्यसैगरी मन दुखाएर उनीहरु माथि न्याय गर्छौं कि पुरानै सामन्ती प्रथा र प्रवृत्ति कै तावेदारी गरेर हिंड्छौ त ?
मदन बस्नेत, टोरोन्टो !
प्रतिक्रिया