दुबई । सन् १९९० सालमा स्थापना भई सबैभन्दा पूरानो र जेठो समाजको दर्जा पाएको नेपाली समाज युएईले गएको १० नोभेम्बर २०२४ आईतबारका दिन दुबईस्थित अस्टोरिया होटलको क्लब एभरेष्टमा पार्षद भेला विप्रेषण साक्षरता तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । शुभ दीपावली, नेपाल संवत ११४५ र छठ पर्वको शुभकामना आदानप्रदानसंगै नेपाली समाज युएईको १५औं कार्यसमितिको कार्यकाल सकिन लागेको अवसरमा सो कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका प्रमुख सल्लाहकार गोविन्द ढकाल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्यालले गर्नुभएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरु, व्यवसायी, आजीवन सदस्य, पार्षद सदस्य र पत्रकारहरु रहेका थिए । तीन चरणमा विभाजित गरिएको कार्यक्रममा औपचारिक कार्यक्रमलाई महासचिव केदार कुंवर र सास्कृतिक कार्यक्रमलाई प्रवक्ता जीवन पंगेनीले संचालन गर्नुभएको थियो ।
प्रमुख अतिथि र अतिथिहरुको संयुक्त दीप प्रज्योलनसंगै नेपाली तथा युएईको राष्ट्रिय गानबाट थालनी भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष कमल गिरीको रहेको थियो भने शुभकामना मन्तव्य अध्यक्ष बेदप्रसाद अर्यालको रहेको थियो । समाजको हरेक गतिविधिहरुलाई समेटेर बार्षिक प्रतिवेदनको रुपमा महासचिव केदार कुंवरबाट प्रस्तुत गरिएको थियो । कुनै पनि समाजभित्र आर्थिकको ठूलो भूमिका हुने गर्दछ, त्यहि आर्थिक प्रतिवेदन कोषाध्यक्ष बाबुराम सुनारले दिनु भएको थियो । पार्षद सदस्य रमा न्यौपानेले सम्पूर्ण पार्षदहरुको तर्फबाट मन्तव्य राख्नु भएको थियो । त्यसैगरी पार्षद भेलाको सम्बन्धमा पार्षद अध्यक्ष राम मोक्तानले प्रकाश पार्नु भएको थियो ।
युएईस्थित ३४ बर्ष ईतिहास बोकेको नेपाली समाज युएईमा ६३ वटा संस्थाहरु आवद्ध रहेका छन् । जस्मा २६९ जना पार्षद सदस्यहरु र १९० जना आजिवन सदस्यहरु जोडिएको पाईन्छ । यो १५औं कार्यसमिति ८ जनवरी २०२३ मा चयन गरिएको थियो । उक्त कार्यसमितिको २ बर्षे कार्यकाल सकिन लागेको हुनाले सो पार्षद भेला आयोजना गरिएको हो । आगामी नयां कार्यसमिति निर्वाचन गर्ने जिम्मा नेपाल पत्रकार महासंघ शाखा युएईले पाएको छ । निश्पक्ष र सहज रुपले निर्वाचन हुनेमा सबैजना ढुक्क भएको देखिन्छ ।
कार्यक्रमलाई सांगीतिक माहौलमा तताउनका लागि स्थानीय कलाकारहरुको ठूलो भूमिका रहेको थियो । नेपाली मौलिक परिकार सेलरोटी र अचारको स्वादसंगै स्टेजमा लोक गायिका निरुता गैरे, लोक गायक कमलजंग कार्की, नृत्यङ्गना सूशिला नेपाली, र्यापर शिशिर सापकोटा र नरेन सापकोटा उत्रिएका थिए । जस्मा हल नै संगीतमय भएको आभास हुन्थ्यो ।
प्रतिक्रिया