विश्व शिक्षक दिवसको अवसर पारेर आज परोपकारी संस्था हेड्स नेपालले काठमाडौँको बनस्थलीमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । बडादशैँ लगायत चाडपर्वहरुको समयमा शैक्षिक संस्था लामो समय बन्द भएकोले बालबालिका तथा यूवाहरुको निरन्तर सिकाईलाई प्रभावकारी बनाउन अभिभावकलाई प्रशिक्षित गर्न कार्यक्रम आयोजना गरिएको संस्थाका महासचिव दिव्यराज पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा अभिभावकहरु, हेड्स नेपालका सदस्यहरु र समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।
श्रोत व्यक्ति शिक्षाविद् शरण अर्यालले बालबालिका र यूवा विद्यार्थीहरुलाई अभिभावकले गर्ने प्रश्न नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो : “विद्यार्थीलाई के बन्ने नसोध्नुहोस बरु कस्तो मान्छे बन्ने भनेर अन्तरक्रिया गर्नुहोस, चाडबाडमा आफन्तहरु भेटहुँदा गर्नुपर्ने व्यवहार सिकाउनुहोस्, दशैँ तिहारका परिकार बनाउन सिकाउनुहोस् र स्वस्थ्य व्यवहार अपनाउन उत्प्रेरित गर्नुहोस् ।”
स्वास्थ्य, शिक्षा, कृषि र विपद् जस्ता क्षेत्रमा परोपकारितामा सक्रिय हेड्स नेपालले चाडपर्वको सिलसिला सुरु भएको सन्दर्भमा आजै शुभकामना आदानप्रदान कार्यक्रम पनि सञ्चालन गरेको छ । समाजसेवा र परोपकारितामा जुनसुकै बेला सक्रिय भई सहयोग गर्न, हुनेले नहुनेलाई चाडपर्वको समयमा पनि सहयोग गर्न, संस्थाका सदस्यहरु र समुदायका अगुवालाई बाढी पहिरो लगायत मनसुनी विपद्को समयमा पनि प्रेरित गर्न शुभकामना कार्यक्रम लक्षित रहेको संस्थाका अध्यक्ष दिलीप देवकोटाले बताउनुभयो ।
सामुहिक सङ्कल्प र स्थानीय स्रोत व्यवस्थापनले नै हेड्स नेपालको परोपकारिताको अभिलाषालाई परिपूर्ति गरिरहेको बताउँदै महासचिव दिव्यराज पौडेलले समुदाय र सरकारबाट थप सहयोगको अपेक्षा राख्नुभयो । शिक्षा समितिका संयोजक रामकृष्ण शर्माले दुवै कार्यक्रमको समीक्षा गर्नुभएको थियो ।
दुवै कार्यक्रम हेड्स नेपालका अध्यक्ष दिलीप देवकोटाको संयोजकत्वमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया