क्यानेडियन नेवाःगुठि द्वारा “ईन्द्रजात्रा (येँया पुन्हि) तथा समेबजि” कार्यक्रम भब्यरुपमा सम्पन्न गुठि

इनेप्लिज २०८१ भदौ २७ गते १०:४७ मा प्रकाशित

ब्राम्प्टन, क्यानेडियन नेवाः गुठि द्वारा प्रत्यक बर्ष मनाइने “ईन्द्रजात्रा (येँया पुन्हि) तथा समेबजि” कार्यक्रम यस बर्ष ब्राम्प्टन स्थित चिन्गुकुजि पार्कमा भब्यरुपमा सम्पन्न गरेको छ।कार्यक्रमका प्रमुख अतिथि ब्राम्प्टन नगरका मेयर पाट्रिक ब्राउनले परम्परागत रुपमा राखिएको” समेबजि “को अनाबरण गरेर उदघाटन गरेको थियो। उदघाटन पछि बोल्नुहुदै उहाँले नेपाली समुदायको क्यानेडियन नेवाः गुठिले ब्राम्प्टन नगरको बहुसास्कृतिक बिबिधतामा थप सुन्दरता थप्न योगदान गरेको बताउनु भयो। साथै उहाँले नेपाली समुदायको सक्रियतामा सगरमाथा उद्यानको ब्यबस्थापन गरिएको बताउनु भयो। मन्तब्य पछि उहाँले कुमारी संग पनि तस्बिर खिच्न लगाउनु भयो।

कार्यक्रमको शुरुमा स्वागत मन्तब्य दिनु हुदै कार्यक्रम संयोजक तथा गुठिका द्वितिय उपाध्यक्ष सुरेन्द्र लाल श्रेष्ठले नेवाः संस्कृतिको संरक्षण तथा संबर्द्दनको लागि गुठिले बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनु हुन्दै यस बर्षको कार्यक्रममा नेवाः सस्कृतिका थप प्रस्तुति गरिएको बताउनु भयो। कार्यक्रमको महत्व बारे बोल्नु हुदै गुठिका प्रथम उपाध्यक्ष बिमलमान श्रेष्ठले ईन्द्रजात्राको बारे प्रकाश पार्नु को साथै नेवाः संस्कृतिको संरक्षण र प्रबर्द्दनको लागि गुथिले स्थापनाकाल देखि बिभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो।

सो कार्यक्रममा प्रा. डा. टम ओ नीलले गुठि र ब्रोक बिस्वबिद्यालयको संयुक्त आयोजनामा नेपाली आप्रबासिहरु बारे अनुसन्धान गरेको स्मरण गर्नु हुदै सस्कृति संरक्षणमा गुठिको क्रियाकलाप प्रशंसनिय रहेको बताउनु भयो भने नेवाः बौद्ध धर्ममा पिएच.डी. बिद्यार्थी इयन टर्नरले नेवाः समुदायको जात्रा, पर्बहरु को साथै खानपिनहरु स्वादिस्ट, स्वास्थ्यबर्धक र बिज्ञान सम्मत हुने हुनाले आफूलाई मन पर्ने बताउनु भयो। त्यस्तै गरि गुठिअन्तर्गत युबा समितिका आयुश्ना श्रेष्ठ तथा प्रतिक प्रधानले नेवाः संस्कृतिलाई युबा समुदायमा पुस्तान्तरणगर्ने उद्देश्यले “नेक्स्ट जेन” कार्यक्रम संचालम गर्दै आएको र युबा समुदायलाई यसमा आबद्द हुन अनुरोध गरे। कार्यक्रममा क्यानेडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष प्रा.डा. तुल्सी धरेलले नेवाः समुदायको खानाको अन्तरराष्ट्रिय स्तरमा परिचय गराउन काउन्सिलको कार्यक्रममा प्रस्तुतिको लागि प्रस्ताब गर्नु भयो।

कार्यक्रममा अफ्नो मन्तब्य ब्यक्त गर्नु हुदै गुठिका अध्यक्ष उत्तम माकःजुले नेवाःसंस्कृतिको निरन्तरताको लागि युबाबर्गको संलग्नता अपरिहार्य रहेको प्रसंगमा यस बर्षको कार्यक्रमको नारा “ब्रिजिङ जेनेरेसन विथ समेबजि”राखिएको बताउनु हुदै यसको लागि सबैको सहयोगको अपेक्षा गर्नु भयो। पहिलो चरणको कार्यक्रममा धन्यबाद मन्तब्य ब्यक्त गर्नु हुदै गुठिका महासचिब डा. प्रज्वल लाल प्रधानले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने ब्राम्प्टन नगरपालिका, प्रायोजक तथा सहभागि सबैलाई हार्दिक आभार ब्यक्त गर्नु को साथै भबिष्यमा पनि सहयोगको आशा गर्नु भयो।

कार्यक्रमको शुरुमा कुमारीलाई पुजा गरि नेवाः मौलिक बाजा धिमेको तालमा लाखे तथा पुलुकिसि प्रदर्शन गरिएको थियो भने नेपाल, क्यानडा तथा नेवाः राष्ट्रिय धून बजाइएको थियो । साथै सो हि कार्यक्रममा रन्जना सैन्जुको समूह बाट सिटारमा मंगल धून प्रस्तुत गरिएको थियो भने “नेवाः तथा संस्कृत मणीशील महा अवदान” मा पिएच.डी. गर्नु भएका डा. अम्बर लाभान्डरले बज्रयोगिनि नृत्य प्रस्तुत गर्नु भयो। त्यसपछि उहांकै निर्देसनमा प्रशिक्षित समूहले चर्या नृत्य प्रस्तुत गरेका थिए। पहिलो चरणको कार्यक्रम पछि मौलिक नेवाः खाना समेबजिद्वारा पाहुनाहरुलाई सत्कार गरिएको थियो।

समे बजिको कार्यक्रम पछि धिमे बाजाको तालमा लाखे र पुलुकिसी नाच प्रस्तुत गर्दा पाहुनाहरु रमाई रमाई नाचेका थिए भने आकाश भैरबको मुख बाट प्रसाद स्वरुप जाँड झार्दा (हाथु हायकुगु) पाहुनाहरु तँछाड मछाड गरि प्रसाद थप्न पुगेका थिए। त्यस्तै गरि मिसा पुचः को तर्फ बाट अरुणा प्रधान, यसोदा श्रेष्ठ, गायत्रि कायष्ठ , सबिना शाक्य,नीलम श्रेष्ठ, मनिषा पाण्डे र सुजिता मल्लको समूहले प्रसिद्द नेवाः गीत “सालुगु गाःचा साले मते”मा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेवा सम्पदा सम्बन्धि सामुहिक हाजिरी जवाफ कार्यक्रको साथै नेवाः समुदायमा खेलिने खेलहरु “क्वाः कासा” “हां लिना-मां लिना” र नेवाः गीत प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अन्त्यमा गुठिका सचिब मधुर राजभण्डारीले कार्यक्रमको सफलताले गुठिलाई अझ उत्साह थपिएको जनाउन्दै सहयोगि सबै धन्यबाद ब्यक्त गर्नु भयो। स्थानिय ब्रामटन नगरपालिका र क्यानेडियन नेवा गुठिको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रममा करिब चारसय पैंतिस जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया