अनिलभक्त खरेल
हरेक वर्ष झै यो वर्ष पनि संसारभरि छरिएका बसेका सबै नेपाली नारीहरुले धुमधामका साथ तीज आउनु १ महिना अघिदेखि नै भड्किलो रुपमा तीजपर्व मनाईरहेका छन् । तर अमेरिकाको भर्जिनिया त्यसमा पनि मनाससको २० माईल पेरिफेरिमा भने यो वर्ष तीजको रौनक छैन । विगत १५ वर्षदेखि अमेरिकी नेपाली सहयोगी समाज मनासले सामुहिक रुपमा मनाउँदै आएको यो वर्षको तीज कार्यक्रम स्थगित गरिसकेको छ । नेपाली चेली ममता काप्mलेको विभत्स हत्या आशंकामा यो क्षेत्रका नेपालीहरुको मन रोईरहेको छ, मस्तिष्क खल्बलिएको छ ।
केही हुनेखानेले वर्गले महिनादिनदेखि भोज भत्तेर गरेर यो चाड मनाउनुले तीज पर्वको नाममा एउटा डरलाग्दो बिकृति भित्र्याईरहेका त छैनन् भन्ने प्रश्न उठिरहेको छ । हैन भने यो तीज पर्व किन, कहिले र के का लागि मनाईएको हो त्यसप्रति चासो देखाउनु पर्छ कि पर्दैन ? के तीज हुनेखाने वर्गको लागि मात्र हो त ? हैन भने तीजको नाममा हुँनेखाने र हुँदा खानेको वर्ग विभाजन किन गरिदैछ ? यदि हुँदाखानेले वर्गले जस्तै सबैले यो पर्वलाई जगेर्ना नगर्ने हो भने तीज पर्व विकृतिको रुपमा मौलाउँदै जान्छ र अन्ततः तीजको रौनकता नै रहन्न । तीजको दरखानेदिनको कुरा गर्ने हो भने हुँदाखानेको घरमा मात्र दर पाक्छ भन्दा हुनेखाने वर्गलाई रिश उठ्ला र गालीको वर्षा होला तर वास्तविकता यही नै हो । के महिनादिनसम्म लखर लखर चाहारेर तीज पार्टीको फोटो र भिडिायो सामाजिक संजालमा पोष्ट गर्नेहरुले छातीमा हात राखेर भन्न सक्छन् दरखाने दिन आफनो घरमा पनि दर पाक्छ भनेर ? यसो भएपछि कसरी बच्छ त यो हाम्रो सांस्कृतिक पर्व ?
अहिलेका दिनमा आफु चर्चित हुन, पैसा कमाउन र भिउज बढाउन केही संगित सर्जक, गायक गायिकाले तीजको नाममा घर परिवारसंग बसेर हेर्न र सुन्न नसकिने रत्यौली पाराको गित समाजमा पस्किरहेका छन् । के यस्ता गीत संगितले तीज पर्वलाई बचाईराख्ला त ? पहिला हरिदेवीहरुले बचाईरहेको भावना सहितको तीजको गित बचाउने दायित्व पछिल्लो समयमा के विष्णुमाझीमा नै निर्भर रहेको हो त ? हैनभने के विष्णुमाझीले गित ननिकालेको भए यसपालीको तीजमा “मायाको पोको चोखो छ चोखो”, “बिस्ताराले पोल्यो” भन्ने गितमा नै नाच्थे त ? के तीज पर्व रत्यौली हो ?
तीज पर्व हरेक वर्ष भाद्र शुक्ल पक्ष तृतीयाका दिन मनाइन्छ । तीजको पहिलो दिन अर्थात् तीज इभलाई दर खाने दिनको रुपमा मनाइन्छ । यस दिनमा विवाहित र अविवाहित छोरी चेलीहरु एकैठाउमा जम्मा भई ब्रत बस्न दरो हुनका लागि दर खान्छन् अर्थात् दरमा दह्रो खाना हुन्छ । । यो दर खाने काम मध्यरातसम्म चालु रहन्छ । यो वर्ष अमेरिकामा सेप्टेम्बर ५ तारिखका दिन दर खाने र ६ तारिख तीज परेको छ । दोश्रो दिन तीजको मुख्य दिन हो यस दिनका कोही महिलाहरु निलाहार र कोही महिलाहरु फलाहार ब्रत बस्छन् । निलाहार भन्नाले पानी पनि नखाने र फलाहार भनेको पानी र फलफुल खाने भन्ने बुझिन्छ । यस दिनमा बिवाहित नारीहरुले लगनको पोते र सम्भव भए लगनकै सारी तथा आफुसंग जे जस्ता गर गहना छन् सबै लगाई सोह्र सिंगार पटार गरेर भगावान शिवजीको मन्दिरमा गएर पुजापाठ, नाचगान गर्छन् आफ्नो पति र परिवारको लागि प्रार्थना गर्छन् । तीजको ब्रत बसेमा खासगरी श्रीमानको लामो आयु हुने, मृत्यु पर्यन्त गाढा सम्बन्ध हुने, घरमा सुख शान्ति हुने, असल र सुयोग्य वर पाउने विश्वास गरिन्छ त्यही भएर नेपाली विवाहित त अविवाहिीत सबै हिन्दु नारीहरुले यो ब्रत बस्ने गरेको पाइन्छ । तेस्रो दिन विहान उठेर बत्ती बाल्छन्, केरा र तुल्सी पत्ताको पुजा गरेर चोखो खानेकुरा खान्छन्, यस दिनलाई गणेश चतुर्थी पनि भनिन्छ यस दिनको साँझ सानोतिनो विगो काम गते बात नलाग्ने बताइन्छ । तीजको चौथो दिन अर्थात् अन्तिम दिन ऋषि पञ्चमी हो । यस दिन विहान महिलाहरु नजिकको धारा पधेरामा गएर अघिल्लो दिन नै जम्मा गरिएका विभिन्न किसिमका सामग्रीले ३६५ पटक स्नान गरि शुद्घ भै सप्तऋषि र अरुन्धतीको पुजा गर्छन् र त्यस्को अर्को दिन घरबाट माइती आएकी चेली विदावारी गरी आप्mनो कर्म घर फर्किन्छन् ।
तीजको दरखानेदिनको कुरा गर्ने हो भने हुँदाखानेको घरमा मात्र दर पाक्छ भन्दा हुनेखाने वर्गलाई रिश उठ्ला र गालीको वर्षा होला तर वास्तविकता यही नै हो । के महिनादिनसम्म लखर लखर चाहारेर तीज पार्टीको फोटो र भिडिायो सामाजिक संजालमा पोष्ट गर्नेहरुले छातीमा हात राखेर भन्न सक्छन् दरखाने दिन आफनो घरमा पनि दर पाक्छ भनेर ? यसो भएपछि कसरी बच्छ त यो हाम्रो सांस्कृतिक पर्व ?
तीज ३ प्रकारका हुन्छन्ः १) हरियाली तीज, २) कजरी तीज र ३) हरितालिका तीज । यी मध्ये तेश्रो नम्वरको हरितालिका तीज नेपालमा प्रचलनमा छ । हुनत पछिल्लो समयमा हरियाली तीज पनि मनाउन थालिएको छ । श्रावण शुक्ल पक्ष तृतीया तीथिमा मनाउने यो पर्वलाई नेपाली नारीहरुले साउने सोमवारको रुपमा पनि मनाउन थालेका छन् । यो महिनामा हरिया चुरा, पोते, टीका, सारी लगाएर मनाउने हुनाले यसलाई हरियाली तीज भन्दा अत्युक्ति नहोला । कजरी तीज भने भारतमा बढी प्रचलनमा छ । यो हरियाली तीजको १५ दिनपछि अर्थात् श्रावण कृष्ण पक्ष तृतीया तीथिका दिन मनाइन्छ । यो पर्वमा भने गाईको पुजा गरिन्छ । कजरी तीजको १५ दिनपछि अर्थात् भाद्र शुक्ल तृतीया तीथिमा हरितालिका तीज मनाइन्छ । यो नेपाली हिन्दु नारीहरुको महान चाड हो । विश्वभरछरिएका नेपालीहरुले यसलाई बडो उल्लासमय रुपमा मनाउँदै आइरहेका छन् । ४५ दिनको वीचमा ३ तीज भएको हुदा पनि नेपाली नारीहरुले महिनौं दिन लगाएर तीज मनाएका पनि हुन सक्छन् ।
हरितालिका (हर तालिका) व्रतको आख्यान अनुसार हिमसुता पार्वती बाल्यकालदेखिनै महादेवप्रति अत्यधिक भक्तिभाव राख्दै खेल्दामा पनि बालुवाको शिवलिंग बनाई खेल्दथिन् पछि ठुली भएपछि महादेव स्वामी पाउनको उद्देश्यले कठोर तप गर्न लागेकी थिइन् । यसैवीच पिता हिमवत्ले पार्वतीको विवाह विष्णुसित गरिदिने निर्णय गरेको थााहा पाएपछि उनी आप्mना माता पितालाई कुनै सुईको समेत नदिइ घरबाट भागेर जंगल गइन् अर्थात् मातापितासंग विद्रोह गरिन् । उनले अन्न पानी समेत त्याग (भोक हडताल) गरेर तप गर्न थालिन् । आजभन्दा २ दशक अघिसम्म त हाम्रो समाजमा माता पिताको निर्णयलाई विद्रोह गर्र्न धेरै गाह्रो थियो भने त्यो बेलामा झन् कस्तो थियो होला अन्दाज लगाउन सकिन्छ । पार्वतीले निलाहार व्रत अर्थात अन्न पानी मात्र हैन कि थुक समेत ननिलिकन कठोर तपस्या (भोक हडताल) गरिन् । उनको तप(विद्रोह)को कारण स्वयं महादेव प्रकट भएर उनको इच्छापुर्ण हुने वरदान दिएको कारणले माता पिताले बाध्य भएर उनको विवाह महादेवसंग गरिदिए । उनको विद्रोहले माता पिताको मन पग्लिएर आफुले चाहेकोसंग विवाह भएको हुनाले यसलाई एउटा चाडको रुपमा मनाईएको हो भन्दा अत्युक्ति नहोला । व्रतरुपी विद्रोहले गर्दा आफुले चाहेकोसंग विवाह भएको हुनाले यसलाई पौराणिक कालदेखि निरन्तर रुपमा मनाइदै आएको हो । यदि त्यसो हैन भने रुक्मिणीको विद्रोहलाई पनि पर्वको रुपमा मनाइन्थ्यो । रुक्मिणीपनि कृष्णसंग विवाह गर्न घरबाट भागेर गएकी थिइन् । पार्वतीले सर्वप्रथम माइतीमै आप्mनो लागि सुयोग्य वरको चाहनासाथ यो व्रत तप(भोक हडताल) प्रारम्भ गरेको हुँदा आप्mनो विवाहित जीवन सुरु भैसकेपछि पनि उनीहरुले ती पुराना यादहरुलाई चिरस्थायी राख्न खासगरी यो पर्व माइतीमा नै गएर मनाउन थालिएको हो । पहिला सुयोग्य वर, पछि पतिको सुस्वास्थ्य झन् पछि परिवारको सुस्वास्थ्यको कामना लागि यो पर्व मनाइदै आएको छ
वर्षको १ पटक भएपनि साथीसंगीहरुसंग भेटघाट, नाचगान र रमाइलो गरेर मनाइने यो पर्वलाई विशेष रुपमा लिइएको छ । यस दिनमा नारीहरुले घर माइती तथा समाजमा आफुमाथि परेको अन्याय, अत्याचार, हिंसालाई गीत संगितमार्फत व्यक्त गर्दछन् । गीत संगितबाट निलाहार(भोक हडताल) बसेर पनि आगो ओकल्छन् । तर अहिले पछिल्लो समयमा तीजमा गाईने गित र रत्यौलीमा गाईने गितमा फरक नदेखिनु चिन्ताको विषय रहेको छ । जे भएपनि मान्नैपर्छ नेपाली हिन्दु नारीहरुलाई त्यस दिन । कहाँबाट आउँछ उनीहरुमा यस्तो शक्ति ? निलाहार(भोक हडताल) बसेर नाचगान गर्दा पनि उनीहरुमा रत्तिभर थकावट देखिदैनन् । धन्य छ नेपाली नारीहरुको शक्तिलाई । सम्पुर्ण नारीहरुलाई तीजको शुभकामना । अस्तु । भर्जिनिया, अमेरिका
प्रतिक्रिया