आमा र छोरी 

इनेप्लिज २०८१ भदौ ९ गते १०:४५ मा प्रकाशित

छोरी,
ढोकामाथिको ऐना अनि ढोकामाथि सिउरिएका दुई थुँगा फुल,रातो टीका,तामाको भरी घडा र दहि
तिमीलाई अन्माउने दिन भनेर तिम्रैलागि सजाएका हुन्
त्यसले तिम्रो बिदाइ र यात्रालाई शुभ बोल्छ
तर
त्यो तिम्रो स्थान र मान गुमेको क्षण हो।

छोरी ,
त्यो परिवार,निजी सम्पत्ति र राज्यको उत्पत्तिसँगै
तिमीले जन्मसँग पाएको स्वाभिमान
डढाउने बिज पनि हुनसक्छ।

स्मरण रहोस्,
त्यहिदिनपछि
तिमीले अंश,वंश,गुमाएर
दान पुन्यको वस्तु बनेको क्षण पनि बन्नसक्छ।

छोरी,
अहिले मलाई हेर त !
मेरो शिर र खुट्टा
पहिचान विहिन छ।
मेरो भरिएको कोखभित्रै
मेरो अस्तित्वको भ्रुण हत्या
सहन बाध्य भएर
तिमीलाई विदा गर्न बाध्य छु ।

आमा,
हाम्रो गन्तव्य कता हो ?
तिमीले नै बताइ दऊ न!
तिमीले गरेको सोह्र श्रृङ्गार
तिम्रै सुन्दरताकोलागि हो कि ?
तिम्रो यौनिकताको अपहरणको लागि ?
किन कहिल्यै / सोधेनौं खोजेनौं ?
आफ्नै असुरक्षाको त्यो अस्त्र
सयौं पटक
तिम्रो अस्मितामा बज्रदाँ
थाहा पायौ कि पाइनौं ?

म त
तिम्रा विहान र साँझका
नित्य हुने धर्म र कर्महरु
तिम्रै विकास र उन्नतिकालागि होलान् भन्थें ,
तिम्रा निल – आहार बसेका व्रत र तीर्थहरु त
तिम्रो सह धर्मि पति इश्वर बनाउन पो रहेछन् ।

कठै!
मेरी आमा,
म अब ती कसरी गरौं ?
गर्न सक्छु भनेर पनि कसरी भनौं ?

तिमीले तिम्रो अस्तित्व सिध्याएर
जन्माएका तिम्रा सन्तानहरु
तिनै सन्तानहरु भित्रकी “म”
तिमीले मलाई हुर्काउँदा
सिकाएको सामाजिक न्याय र समानताको पाठ
मैले तिमी भित्रै नपाएपछि
न्याय खोज्न कहाँ जाउँ ?

सायद
तिमीले न्याय सिकाउँदा
यो पक्षको हेक्का थिएन कि ?
कि मेरो कन्यादानले स्वर्गको बास र पुन्यको आशतिर झुन्डियौ ?

तिम्रा यी विरोधाभास गतिविधिले
म पुनः अन्यौलभित्र छिरें
आमा !
यो अन्योलबाट कसरी निस्कियौं ?
मलाई सिद्याउन,मेरै वंशले
तिमीलाई दिएको कष्ट सहेर
तिमीले सहेको
भ्रुण हत्याको जोखिम
एक पटक मेरा पितालाई नै सोधिदेउ न !

सीता ओझा
२०८१/०५/

प्रतिक्रिया