प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले उपसभामुखमाथि छानबिनको माग

बेद प्रसाद घिमिरे २०८१ साउन ६ गते १२:१६ मा प्रकाशित

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्नुहुने सांसदहरुले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा छानबिन गर्न माग गर्नुभएको छ ।

केही युवालाई अमेरिका पठाउन उपसभामुख रानाले संसद्को लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र पठाएको र यसबारे संसद्लाई जानकारी नभएका विषयमा छानबिन गरिनुपर्ने माग सत्तापक्षले उठाएको छ ।

प्रतिपक्षमा रहेका दलहरुले भने उपसभामुख इन्दिरा रानासँग जोडेर आएको विषय संवैधानिक परिषद्मा सत्तापक्षले खोजेको सहजतासँग जोडेर आएको र सत्तापक्षले मिडिया ट्रायल गरेको आरोप लगाएको छ । साथै पर्याप्त छानविन र वास्तविकता पहिचान नगरिकनै मानव तस्करीजस्तो जघन्य अपराधमा उपसभामुख रानाको नाम मुछिएकोप्रति प्रतिपक्ष दलका सांसदहरुले आपत्ति जनाएका हुन् ।

आजको बैठकमा आकस्मिक समयमा बोल्नुहुँदै सांसद रामहरी खतिवडाले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले आफ्नो पदको दुरुपयोग गरेर केही युवालाई अमेरिका पठाउन खोजेको आरोप लगाउनुभयो । यस्तो गम्भीर आरोपबारे छानबिन समिति गठन हुनुपर्ने तथा उपसभामुखले नैतिकताका आधारमा संसद बाहिर रहेर अनुसन्धानलाई सघाउनुपर्ने उहाँको भनाइ छ ।

“संसद् सचिवालयलाई थाहै नदिइ उपसभामुखको लेटरप्याडमा कसले कुन प्रयोजनका लागि सिफारिस गरेको हो भनेर छानबिन गरिनुपर्छ । यसका लागि उपसभामुख संसद्भन्दा बाहिर बसेर छानबिनका लागि सघाउनुपर्छ”, खतिवडाले भन्नुभयो, “यस्तो अवस्थामा उपसभामुखले संसदको कमाण्ड सम्हाल्न सुहाउँछ कि सुहाउँदैन ? यो गम्भीर प्रश्न हो ।

प्रतिक्रिया