केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त

बेद प्रसाद घिमिरे २०८१ असार ३० गते १२:०४ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ ।

राष्ट्रपति राम चन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो ।

प्रधानमन्त्री पुष्प कमल दाहालले विश्वास गुमाएसँगै राष्ट्रपतिले शुक्रबार बहुमतीय सरकार गठनका लागि प्रधानमन्त्रीमा दावी पेश आह्वान गर्नु भएको थियो ।

नेकपा एमाले र नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको मात्र दावी पेश भएको थियो । भोलि विहान ११ बजे सपथको कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गर्दै हुनुहुन्छ । असार १७ गते राति भएको सात बुँदे सहमतिले काँग्रेस–एमालेविच छैठौं सत्ता सहकार्यको ढोका खोलेसँगै ओलीले प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्न लाग्नुभएको हो ।

अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसक्नुभएको छ । नेकपा (एमाले)का वर्तमान अध्यक्ष ओली विभिन्न समयमा मुलुकको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भैसक्नुभएको छ । ओली २०७२ असोज २४ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित हुनुभयो ।

प्रतिक्रिया