रामतीर्थ पानी जहाजमा पश्चिमी देशको यात्रामा हुन्छन् । यात्रामा, उनले एक जना वृद्ध जर्मन नागरिकलाई एकदमै ध्यान मग्न भएर चिनियाँ भाषा सिक्दै गरेको देख्छन् । यात्रा सुरु भएको तीन दिन बितिसकेको हुन्छ, देख्छन् ती जर्मनी बूढा मान्छे आफ्नो बचेको सबै समय चिनियाँ भाषा सिक्नमा खर्चि राखेका हुन्छन् ।
तीन दिनबाट लगातार यस्तो देखे पछि रामतीर्थले आफूलाई रोक्न सक्दैनन् र बूढा मान्छेको छेउमा पुगेर सोध्छन्, यति धेरै ध्यान मग्न भएर के पढ्दै हुनुहुन्छ ?
बुढाले जवाफ दिए, “म चिनियाँ भाषा सिक्ने प्रयास गरिरहेको छु ।” तब रामतीर्थले भने, तपाई निक्कै पाको देखिनु हुन्छ र पनि नयाँ भाषा सिक्दै हुनुहुन्छ, तपाईंको उमेर चाहिँ कति पुग्यो ?
बुढाले जवाफ दिए, “हेर, म आफ्नो काममा यति व्यस्त छु, उमेरको हिसाब राख्ने समय नै पाएको छुइन । सायद उमेरले भने आफ्नो हिसाब राख्दै होला । वास्तवमा उमेरको हिसाब गरेर पनि के नै पो हुन्छ होला र ? मृत्यु त जतिबेला पनि आउन सक्छ, यो त निश्चित नै छ । त्यसैले होला म उमेर गन्ने तिर लागिन । यद्यपि मेरो उमेर अस्सीे पुग्न लाग्यो होला ।”
बुढा मान्छेको कुरा सुनेर रामतीर्थले सोधे, तपाईंको कुरा त ठिकै हो, तर यो उमेरमा नयाँ भाषा सिकेर के फाइदा ? बुढाले जवाफ दिए, “हेर, म जतिखेर सम्म सिकिरहन्छु, त्यतिखेर सम्म म भित्र मृत्युको सोच आउने छैन । सिक्न छोडे भने सायद मृत्युको सम्झना पनि आउला । तर, अहिले त मैले मेरो जीवनलाई सिक्नमा व्यस्त राखेको छु । अहिले त म बच्चै छु, किनभने म सिकिरहेको छु । बच्चाहरु सिक्ने गर्छन् । म सिकिराखेको छु, त्यसैले म अहिले बच्चै छु ।”
बुढा मान्छे अगाडि भन्छन्, “मृत्यु त सधैं हाम्रो अगाडि उभिएको हुन्छ । जुन दिन हाम्रो जन्म भयो, उक्त दिन मृत्यु त्यतिनै नजिक थियो, जति नजिक आज छ । यदि मृत्युदेखि डराउँथे भने, म बच्चैमा सिक्न छोडिदिन्थे । सिक्नुको कुनै फाईदा नै थिएन । मृत्यु आज–भोली नै पनि आउन सक्छ । तर नब्बे सालको मेरो अनुभवले भन्छ कि मैले नब्बे साल मृत्युलाई जिते । बितेको नब्बे वर्ष सम्म त मृत्यु आएन भने भोली नै त कसरी आउँला र ? त्यही भएर सिकिराखेको छु भन्दै बुढा मान्छेले रामतीर्थ तर्फ हेर्दै सोधे, हेर्दा निक्कै तन्नेरी देखिन्छौं, तिम्रो चाहिँ उमेर कति पुग्यो ?”
रामतीर्थ बुढा भान्छेको कुराले थोरै झस्कन्छन् । उनको उमेर त भर्खर तीस मात्र पुग्दै थियो । बुढा मान्छेले रामतीर्थ तिर हेर्दै भने “तिम्रो मुहारमा झल्किएको त्रासलाई हेरेर म भन्न सक्छु कि भारत किन बुढो भयो ? तिमी जत्तिको जवान मान्छे पनि मृत्यु नजिक छ सिक्नुको के फाईदा भनेर सोच्ने गर्छ, यो त आश्चर्यको कुरा भएन र ! यस्तो सोचले तिमीलाई कहाँ जवान रहन दिन्छ ! सम्भवतः तिम्रै जस्तो सोचका कारण भारत बुढो भएको हुनु पर्छ ।
बुढो हुनुको रहस्य सायद तिमीलाई थाहा नहुन सक्छ । बुढो हुनुको पहिलो रहस्य हो जीवन नभएर मृत्युका सम्बन्धमा ध्यान दिनु । जिन्दगीको खोजी नभएर मोक्षका बारेमा कल्पना गर्नु । हामी जीवित रहेको धर्तीका बारेमा नसोचेर परलोकको चिन्ता गर्नु । फुलिराखेको फुल तिर हेरेर आनन्दित हुनुको बादलमा यो फुल अब छिट्टै ओइलाएर झर्नेछ भनेर दुःखी बन्नु ।
गुलाबको फुलको बोट नजिक पुग्दा, नजर फुलमा नभएर काँडामा पर्नु । दिन र रातका बारेमा सम्झँदा, दुई दिनका बिचमा एउटा रात नभएर, दुई रातका बिचमा एउटा दिन पाउनु । यस्तो सोचले मान्छेलाई जवानीमै बुढो बनाउँछ । यसरी त मान्छे जिउँदै मरे तुल्य बन्न पुग्छ । यो त मर्नुभन्दा अगावै खुट्टा तन्काउनु जस्तै हो ।
जवान रहन त आफु तिर फर्कनु पर्छ । जिन्दगीका तर्फ हेर्नु पर्छ । जुन दिन सुकरातलाई विष खुवाएर मारिँदै थियो, उनको मुहारमा चिन्ताको कुनै रेखा देखिदैन थियो । बरु उनी विष पिउन आतुर थिए । विषको प्याला कतिखेर आउला र पिउनु भनेर उनी उत्सुकताका साथ पर्खँदै थिए । उनको यस्तो उत्साह देखेर, उनका साथीहरु भन्छन्, हामी त्यो विष जतिसक्दो ढिलो आओस् भन्ने कामना गर्दै छौँ, तिमी भने विष पिउन आतुर छौ – तिमीलाई यो के भएको ?
साथीहरुका कुरा सुनेर सुकरात भन्छन्, तिमीहरुको कुरा आफ्नो ठाउँमा ठिकै होला । तर तिमीहरु त जान्दछौँ, म कुनै नयाँ कुरा जान्नका लागि कति धेरै उत्सुक हुने गर्छु ! मृत्यु मेरा लागि एकदमै नयाँ कुरा हो, त्यसैले म यसलाई जान्नका लागि एकदमै आतुर छु । जब सम्म म जिवित छु, देख्न चाहन्छु कि यो विष पिएर म मर्छु कि मर्दिन ?
विष पिएर मरिहाले भने त मरिहाले, यसमा केको चिन्ता । सबै कुरा त्यहीँ समाप्त हुन्छ । तर जब सम्म जीवित छु, म जीवित छु । म जीवित रहुन्जेल जीवनलाई जान्न चाहन्छु । म पहिल्यैबाट निराश बनेर, शोक गरेर, मनलाई खुम्च्याएर, मर्नु भन्दा अगावै खुट्टा तन्काएर किन बसौँ ?
हाँसी–हाँसी विषको प्याला पिउने सुकरातका लागि मृत्यु पनि मनुष्यका जीवनमा आइपर्ने कयौँ घटनाहरु मध्येको एउटा घटना जस्तै मात्र थियो । सुकरात आफ्नो जीवनको अन्तिम समय, अन्तिम पल सम्म नै प्रसन्न थिए ।
मृत्यु नै सामुन्ने किन उभिएको नहोस्, सुकरात जस्तो मान्छे कहिल्यै बूढो हुँदैन । तर हामी भने जीवनको एउटा सिङ्गो भाग अगाडि हुँदाहुँदै अर्थात जवानी मै बुढो बनेर बसेका छौँ ।
जवान रहन खोज्ने हो भने त जिन्दगीका तर्फ हेर्नु पर्छ, ध्यान दिनु पर्छ, सोच्नु पर्छ । मृत्यु त कुनै पनि दिन आउन सक्छ । जुन दिन आउनु छ त्यो दिन त आउने नै छ । अहिल्यैबाट त्यसका बारेमा के को चिन्ता । जब सम्म जीवित छौँ, सम्पूर्ण रुपमा जीवित रहौँ । मरिन्छ कि भन्ने त्रास र तनावबाट मुक्त भएर बाँचौँ । जीवनको सम्पूर्णतामा जीवनको रसलाई खोजौँ र रसको आनन्द उठाऔँ ।” बुढा मान्छेको कुरा रामतीर्थ निःशब्द बनेर सुनिरहन्छन् । (स्रोत÷प्रेरितः ओशो पुस्तक)
रमेश ढकाल
भद्रपुर–झापा (हाल दोहा–कतार)
[email protected]
प्रतिक्रिया