कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन: मन्त्री चौधरी

इनेप्लिज २०८१ जेठ १३ गते १४:०० मा प्रकाशित

कञ्चनपुर, १३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गर्नुभएको छ ।

जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिनुभएको हो । त्यस क्रममा नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापना गर्ने बताएको थियो ।

मन्त्री चौधरीलाई नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिका सभापति चुनामणि भट्टले ज्ञापन पत्र बुझाउँदै तत्काल धनगढीमा बालग्राम स्थापनको आवश्यकता महसुस भएको र त्यसका लागि बजेट अभाव देखिएको बताएका थिए ।

नेपाल बाल सङ्गठनको ज्ञापन पत्र बुझ्दै मन्त्री चौधरीले समस्या समाधानको लागि आफ्नो पक्षबाट हुने सबै कामको लागि आफू तत्पर रहेको बताउनुभयो । उहाँले बालग्राममा बसेका बालबालिकाहरूलाई विशेष ध्यान दिन पनि आग्रह गर्दै बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘मैले हिजो देखि यी विषय नियालिरहेको छु । तपाईँहरू पूर्ण बाल अधिकार सुनिश्चित गर्ने गरी लाग्नु होला सरकारको साथ तपाईँहरूलाई रहन्छ ।’

बालकहरूको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन पनि मन्त्री चौधरीले निर्देशन दिनुभयो । उहाँले अहिले पनि सडक बालबालिकाको विषयमा गम्भीर हुनु पर्ने अवस्था रहेको बताउनुभयो ।

नेपाल बाल सङ्गठनको सुदूरपश्चिममा धेरै संरचना रहेको तर ती संरचनाको संरक्षण हुन नसेको विषयमा पनि आफूहरू गम्भीर रहेको उहाँको भनाइ थियो ।

‘प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले पनि यो विषयमा चासो राख्नु भएको छ । ती सबै संरचना र सम्पत्तिहरू सरकारले संरक्षण गर्छ’, उहाँले भन्नुभयो । ४० भन्दा धेरै जिल्लाहरूमा संरचना र सम्पत्ति रहेको भन्दै सबै संरक्षण गर्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

स्थापना काल देखी नै अनाथ तथा असहाय बालबालिकालाई हेरचाह गर्दै आएको धनगढी बाल संरक्षण गृहमा अहिले २० जना बालकहरू रहेका छन् । उनीहरू नजिकैको त्रिनगर विद्यालयमा अध्ययन गरिरहेको बताएका थिए ।

त्यस अवसरमा अझै पनि अभिभावक विहीन धेरै बालकहरू सडकमा भौँतारिरहेको र सानैमा अभिभावक गुमाएकाहरूलाई शिक्षा स्वास्थ्य पाउन पनि सकस भएको भन्दै अझै धेरै क्षमताको बालगृह स्थापनाको लक्ष्य लिइएको भट्टले मन्त्री चौधरीलाई जानकारी गराएका थिए । ज्ञापन पत्रमा पनि प्रदेश स्तरीय बालगृह स्थापनाको लागि १० करोड रुपैयाँ माग गरिएको छ ।

‘१ बिगाह ४ कट्ठा दर्ता जमिन र ८ कट्ठा ऐलानी जग्गा सदुपयोग भइरहेको छ । प्रदेश स्तरीय बालग्रामको रूपमा अगाडि बढाउन खोजिरहेका छौँ मन्त्री चौधरीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, प्रदेश स्तरीय बालग्राम निर्माणको लागि १० करोड विनियोजन गर्न आग्रह गर्दछौँ’, ज्ञापन पत्रमा भनिएको छ ।

धनगढी उपमहानगरले सटर भत्काएको हुँदा आम्दानीको स्रोत समेत बन्द भएको गुनासो ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नियमित आय स्रोतको लागि तत्काल व्यवसायीक भवन निर्माण गर्ने र त्यसको लागि २ करोड माग गरिएको छ ।

यसैगरी नेपाल बाल संगठन कञ्चनपुरको अनुगमन गर्दै मन्त्री चौधरीले बाल संगठनको सम्पत्तिको संरक्षण गर्न निर्देशन दिँदै विभिन्न व्यक्तिले अतिक्रमण गरेका २ बिगाहा जग्गा फिर्ता लिएर राज्यको सम्पत्तिको संरक्षण गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सबैले सरकारी सम्पत्तिको संरक्षण गर्न आवश्यक रहेको भन्दै उहाँले सडकमा कुनैपनि बालबालिका बेवारिसे अवस्थामा देखिन नहुने बताउनुभयो । ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडक मानव मुक्त अभियान चलाउनुभएको थियो । बालबालिकाको संरक्षण गर्न हामी सबैको दायित्व हो । बालबालिकाको संरक्षण गर्नतिर तपाईँहरू लाग्नुस्’, मन्त्री चौधरीले भन्नुभयो ।

बालबालिकाको सर्वोपरि हितलाई ध्यानमा राखेर सबैले काम गर्नुपर्ने उहाँको भनाई थियो ।

त्यस अवसरमा नेपाल बाल संगठन कञ्चनपुरका सभापति रामबहादुर बुढाले बाल संगठनको विकास तथा बालबालिकाको संरक्षणका निम्ति धेरै काम गर्न आवश्यक रहेको बताउँदै ज्ञापन पत्र बुझाउनुभएको थियो ।

प्रतिक्रिया