नेपालमा बज्जिका भाषाको पहिलो महाकाव्य ‘बुद्ध’ प्रकाशित

इनेप्लिज २०८१ जेठ १० गते २१:१९ मा प्रकाशित

रौतहट

नेपालमा बज्जिका भाषाको पहिलो महाकाव्यलाई एक समारोहमा सार्वजनिक गरिएको छ । रौतहटको गौर नगरपालिकाको प्रेक्षालयमा नगर प्रमुख शम्भु साह कानु, पूर्व प्रमुख जिल्ला अधिकारी तथा बज्जिका अभियन्ता डा. कमलेश्वर कुमार सिन्हा, नेपालमा बज्जिका भाषाको पहिलो संस्था बज्जिका भाषा विकास परिषद नेपालका संस्थापक अध्यक्ष तथा अनिता–शिव प्रतिष्ठानका संरक्षक शिवचन्द्र साह, बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष तथा चर्चित बज्जिका साहित्यकार रामचन्द्र महतो कुशवाहा र समाजकै उपाध्यक्ष शैलियादेवी ठाकुरले बज्जिका भाषाको पहिलो महाकाव्यलाई सार्वजनिक गरेका हुन् ।

नेपालमा बज्जिका भाषाका प्रथम कवि तथा बज्जिका शिरोमणि उपाधिले विभूषित सञ्जय साह मित्रद्वारा लिखित ‘बुद्ध’ महाकाव्यको लोकार्पण बुद्ध जयन्तीको अवसरमा गरिएको हो । प्रकाशन संस्था आकृति क्रियसन हेटौँडाका संस्थापक साहित्यकार राम अविकासको अध्यक्षतामा भएको कार्यक्रममा रौतहट, बारा र सर्लाहीका बज्जिका भाषाका साहित्यकारहरुका साथै डोटीका साहित्यकारहरुको पनि सहभागिता रहेको थियो ।

नेपालको छैटौँ र मधेश प्रदेशको तेस्रो ठुलो भाषाको रुपमा रहेको बज्जिका भाषामा नेपालबाट पहिलो महाकाव्य प्रकाशन भएकोमा वक्ताहरुले खुसियाली प्रकट गरेका छन् । भगवान गौतम बुद्धको जीवनीमा आधारित रहेर ५५ भागमा विभाजन गरी २४० पृष्ठमा रचित महाकाव्यले बज्जिका भाषाको विकासमा अत्यन्त महत्वपूर्ण स्थान रहने तथा बज्जिका भाषीबिच भगवान बुद्धलाई चिनाउन महत्वपूर्ण योगदान दिने वक्ताहरुले बताएका छन् । नेपाली झ्याउरे लोक छन्दमा लेखिएकोले यसको महत्व झन् बढेको वक्ताहरुले बताएका छन् ।

नगर प्रमुख साह, डा.सिन्हा, अध्यक्ष साह र कुशवाहाले महाकाव्यलाई साहित्यको उपलब्धिको शीलापत्रको संज्ञा दिएका छन् । यसै गरी अग्रज साहित्यकार बिन्दा साहनी, धर्मनाथप्रसाद जयसवाल, कृष्णकुमार सिंह, सञ्जय सुदामा, चन्द्रशेखर रस्तोगी, प्रभातकुमार झा, विजयकान्त मिश्र, महम्मद मकसुर दाँकी, मनमोहन सिंह मनोहर, अरुणकुमार यादव, राजेन्द्र ठाकुर, कृष्णप्रसाद जयसवाल लगायतले मन्तव्य व्यक्त गर्दै बज्जिका भाषा र साहित्यको लागि सर्वोत्कृष्ट ऐतिहासिक दिन भएको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कृतिकार मित्रले आफ्नो नयाँ कृति पाठकहरुलाई मन पर्ने हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली र बज्जिका भाषामा भाषा, साहित्य तथा व्याकरण, इतिहास, अनुवाद तथा अनुसन्धान र पाठ्यपुस्तकसम्बन्धी बिस ओटा कृति प्रकाशन गरिसकेका मित्रले नै नेपालमा बज्जिका भाषा हो भनेर पहिलो लेख प्रकाशित गरेका थिए । मित्र तिन दशकदेखि निरन्तर कलम चलाइरहेका छन् ।

कार्यक्रमको संचालन गर्दै बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले नेपालमा बज्जिका भाषा र साहित्यको लागि नयाँ इतिहासको आरम्भ भएको बताएका छन् ।

कार्यक्रममा मकवानपुरका मसान उपासक, साहित्यकार रेणु गुप्ता, दिनेशकुमार कर्ण, समापन अबध योगगुरु, हरिबहादुर जिसी, धनदेव जोशी, लक्ष्मण पासवान, बज्जिका पत्रकार संघ नेपालका सचिव चन्चलकुमार झा, दिलीप पाण्डेय, बज्जिका एफएमका संस्थापक दिनेश संगम, राजदेवी एफएममा बज्जिका समाचार सम्पादक रमेश सिंह, सौर्य दैनिकका राकेशकुमार यादव, हनुमतकुमार ायदव, राजनकुमार श्रीवास्तव, अरविन्द कुमार यादव, सत्येन्द्रप्रताप सिंह, बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष आरके श्रीवास्तव, चन्दनप्रसाद यादव, धिरेन्द्रकुमार सिंहसहित भाषासेवी, साहित्यकार, पत्रकार तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया