कोलगेटको विज्ञापनले पेशागत रुपमा मानर्मदन गरेको भन्दै एक डाक्टरको आपत्ति

इनेप्लिज २०८१ जेठ १ गते २२:३६ मा प्रकाशित

कोलगेट भन्छ – पेशागत समुदायप्रति अनादर गर्नु हाम्रो उदेश्य होईन

काठमाडौँ, ३० चैत । कोलगेट नेपालको नयाँ विज्ञापन तपाईँले हेर्नु भएको छ ? कस्तो लाग्छ ?

विज्ञापनमा एक जना पुरुष डाक्टर विहानै ढाडमा बिस्तारा बाँधिएको अवस्थामा अप्रेसन थिएटरमा पुगेका हुन्छन् र केही रिपोर्ट हेर्दै मिर्गौला प्रत्यारोपण भनेर महिला सहकर्मीसंग सोध्छन् ।

महिला डाक्टरले एपेन्डिक्स भनेर जवाफ दिन्छिन् ।

सोही समयमा उनले अप्रेसनका लागि तयार गरेर राखिएका सबै सामान यत्र तत्र खसाल्छन् । यत्तिकैमा महिला डाक्टरले उनलाई कोलगेट म्याक्सफ्रेस जेल दिदै भन्छिन्, ‘जवसम्म कोलगेट म्याक्सफ्रेस जेलले ब्रस गरिदैन, निन्द्राले पिछा छोड्दैन ।’

ब्रसपछि भने डाक्टर एकदम फ्रेस हुन्छन् र बिरामीका लागि समेत तयार हो भनेर सोध्छन् ।

विज्ञापन त विज्ञापन नै हो । मान्छेको ध्यान खिच्नका अनौठा खालका प्रचार गरिन्छ । तर यो विज्ञापनले डाक्टरको पेशा, बिरामीप्रतिको उनीहरुको ध्यान, लगावबारे हलुका ढंगले प्रस्तुत गरेको भन्दै एक जना डाक्टरले अपत्ति जनाएका छन् ।

राप्ती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर सन्देश लम्सालले कोलगेट नेपालले सार्वजनिक गरेको उक्त भिडियोले डाक्टर र डाक्टरी पेशाप्रति अपमान गरेको आरोप लगाएका छन् । उनले यस्ता भिडियोले चिकित्सा पेशालाई नै गलत ढंगले प्रस्तुत गर्ने र डाक्टर बिरामीबीचको विश्वासलाई खलल पुरयाउने बताएका छन् ।

उनले पछिल्लो समय डाक्टरहरुमाथि आक्रमण हुने गरेका घट्ना बढी रहेको बेला यस्ता गलत अर्थ दिने विज्ञापन बनाएर कोलगेटले डाक्टर बिरामीबीच झनै शंका बढाउन मद्धत पुराएको आरोप लगाएका छन् । उनले डाक्टरमाथि हिंसा झन् बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

डा लम्सालले कोलगेट नेपालको इन्स्टाग्राम र फेसबुक पेजबाट समेत उक्त भिडियो हटाउन तथा सार्वजनिक रुपमा माफी माग्न माग गरेका छन् । कोलगेटले इन्स्टाग्रामबाट उक्त भिडियो हटाएको त छैन, उनको बिरोधपछि कोलगेटले भिडियोमा तलपट्टी यो विज्ञापन तथ्यमा आधारित नभएको एक नाटक मात्रै हो भन्दै आफूहरुको उदेश्य कुनै पनि पेशागत समूह वा समुदायप्रति अनादर गर्नु नरहेको भनेर लेखिएको छ ।

डाक्टरको पेशागात मानमर्दन हुने गरी विज्ञापन प्रशारित भएको सन्दर्भमा डाक्टरबाट विरोध भए पनि उनीहरुको पेशागत संस्था नेपाल चिकित्सक संघले भने अहिलेसम्म केही बोलेको छैन।

‘सायद यस तर्फ ध्यान नगएर हो कि विज्ञापन त हो भनेर छाडिदिएको हो थाहा भएन, तर पेशागत मानमर्दन हुने र डाक्टरप्रति हिंसा बढाउन मद्धत गर्ने यस्ता विज्ञापन रोक्नका लागि संघले माग गर्नु पर्दथ्यो,’ अर्का एक डाक्टरले भने ।

-नेपाली हेल्थ बाट

प्रतिक्रिया