डिसी क्षेत्रमा १९७४ एडीका सम्पूर्ण पुराना कलाकारहरुद्वारा २२ बर्ष पछि एकैसाथ सांगीतिक प्रस्तुति गर्दै

इनेप्लिज २०८१ वैशाख २४ गते २२:३१ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा १९७४ एडीका सम्पूर्ण पुराना कलाकारहरुको सङ्गीत मण्डल (म्युजिक ब्याण्ड )ले २२ बर्ष पछि एकैसाथ सांगीतिक प्रस्तुति गर्ने भएका छन् ।

यस पटकको अमेरिकाको सांगीतिक यात्रामा १९७४ एडीका सबै सङ्गीत मण्डलका ६ जना चर्चित कलाकारहरुको बेजोड प्रस्तुति हुनेछ। दुई दशक भन्दा बढी समय पछि यसरी सम्पूर्ण टोली सदस्यहरु एक जुट भै अमेरिकाका बिभिन्न राज्यहरुमा प्रस्तुति गर्ने भएका छन् ।

१९७४ एडीका चर्चित कलाकारहरुमा फिरोज स्याङ्गडेन ,एड्रियन प्रधान , संजय श्रेष्ठ ,मनोज केसी ,मनोस सिंह तथा निराकार याक्तुम्बा रहेका छन् । स्मरण रहोस ,फिरोज स्याङ्गडेन न्यूयोर्कमा बसोबास गरेता पनि अमेरिकाको बिभिन्न राज्यहरुमा आफ्नो प्रस्तुति गर्दै आएका छन् । अत्यन्तै लोकप्रिय म्युजिक ब्याण्ड(सङ्गीत मण्डल)को अझै पनि बिश्वभरि यसका प्रशंसकहरु रहेका छन ।

यसका कालजयी गीतहरु मन पराउने नेपालीहरु यत्र तत्र सर्वत्र भेटिन्छन । यस पटक डिसी महानगर क्षेत्रको भर्जिनियामा १९७४ एडी -यो मन त नेपाली हो कार्यक्रम जुन १ दिन शनिबार हुने भएको छ ।

कार्यक्रम भर्जिनियाको फल्स चर्चको प्रसिद्ध क्रेसेन्डो स्टुडियोमा हुनेछ । यो कार्यक्रमको प्रस्तुति अनेष्ट रियल स्टेटले गर्नेछ भने कार्यक्रमको आयोजना थ्री इन्टरटेन्टमेन्टले गर्ने छ ।

साथै यस पटक यो कार्यक्रम अमेरिकाको पूर्वीय क्षेत्र अन्तर्गत डिसी महानगर क्षेत्रको भर्जिनियामा मात्र कार्यक्रम गरिने आयोजकले ईनेप्लिजलाई बताए ।

आयोजकले बताए अनुसार कार्यक्रम ७ बजे साँझ सुरु हुनेछ भने यो सांगीतिक कार्यक्रम बहिरङ्ग अर्थात् आउट डोर हुनेछ । कार्यक्रमको टिकट दर साधारण तर्फ ३५ डलर छ भने भिआईपी टिकट दर १०० डलर राखिएको छ ।

प्रतिक्रिया