जगदिश समाल र बबिना भट्टराईको युगल स्वरमा प्रेमिल गीत ‘फूल जस्ती माया’ सार्वजनिक

इनेप्लिज २०८१ वैशाख २२ गते २:०५ मा प्रकाशित

काठमाडौ : आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव संगाल्छ मनले आफ्नी मायालु प्रति । उनको हेराई पनि मन पर्छ, बोलाई पनि मन पर्छ उनले जे गरे पनि राम्रो लाग्छ । यस्तो लाग्छ उनी नै संसार हुन्, उनी नै खुसी हुन् अनि उनी नै सबै हुन् ..उनको याद विना त स्वास पनि चल्दैन, उनको साथ विना त जीवन कसै गरि अगाडि बढ्दैन, लाग्छ उनी रानी हुन् उनी नै पानी हुन् …पानीको प्यास जस्तै हो उनको माया । पानीको तिर्सनाले जसरी तड्पाउँछ त्यो भन्दा बढि छ उनको तिर्सना । उनलाई उपहार दिन सबै चिज फिका लाग्छन्, आँफू संग भएका सबै चिज उनैलाई दिउ जस्तो लाग्छ, उनलाई दिनुमा जति आनन्द र सन्तुष्टि अरु केहिमा मिल्दैन, माया होस् या उपहार सबै उनैलाई दिन मन लाग्छ, यस्तो लाग्छ सिंगो जीवन नै उनैलाई उपहार दिउ …उनी विना बाँच्नु पनि के सार छ ? उनी छिन् र त जीवन जीवन जस्तो छ, उनी छिन् त्यसैले सबैतिर रमाइलो छ, उनी छिन् त्यसैले सबै तिर घमाइलो छ, उनी छिन् र बाँच्नुको आनन्द छ । उनी विना पनि जीवन चल्छ र ? उनी विना पनि बाँच्न सकिन्छ र ? उनी विना पनि स्वास चल्छ र ? अह चल्दैन, चल्दै चल्दैन । फूल जस्तै छिन् उनी । फूल जस्तै सुन्दर अनि फूल जस्तै कोमल । अनि उनको शितलता जून जस्तै छ, उनको सुन्दरता र उनको कोमलता अनि उनको जून जस्तो शितलता मित्र आफैंलाई हराउनु अनि डुवाउनुमा जत्ति सन्तुष्टि अरु केहि पनि छैन ।

उनी संग पलभर पनि टाढिन मन छैन, उनी संगको दूरताले मन बिझाउँछ, मन कुडिन्छ, मन भक्कानिन्छ, मन दुख्छ भित्रै देखि गीतका हरफमा झै ..टाढा नजाउ मन दुख्छ ..उनीलाई उनीबाट चाह पनि केहि छैन मात्र माया, उनको स्वच्छ अनि निष्कलंक माया । यत्ति भए पुग्छ उनीलाई, अरु केहि खोज्दिनन्, केहि चाहन्नन् ।

उनलाई खुुसी दिनु नै उनको पनि चाहना हो । उनका सबै रहरहरु पुरा गर्ने चाह छ उनको पनि । तर उनीमा अरु रहर केहि छैन, उनलाई पाउनु नै सबैभन्दा ठुलो प्राप्ति हो, उनलाई पाउनु भन्दा ठुलो अरु केहि चाह छैन, उनीलाई पाएकोमा नै सर्वस्व सम्झिन्छिन् उनी । उनीलाई पाउनु नै सबै खुसी अनि सबै चिज पाउनु हो उनको लागि । आफ्नो खाली सिउँदो उनैले सजाइदिउन् र सधैंको लागि उनैको बन्न पाउँ यहि चाह छ उनलाई ।

बबिना भट्टराईको अफिसियल युट्व च्यानल र गीत इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ बाट एक साथ सार्वजानिक भएको गीत ‘फूल जस्ती माया’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराई र चर्चित गायक जगदिश समालको स्वरमा सार्वजनिक भएको छ भने ‘फूल जस्ती माया’ का मायालु भाव बोकेका शब्द तथा मधुर संगीत बबिना भट्टराईको रहेको छ । उक्त गीतको एरेन्ज साहस शाक्यले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रको रहेको छ । अकष्टिक नेपालको स्टुडियो, नक्सालमा दिल समर्पण र राजाबाबु थारु ले रेकर्डिङ गरेका हुन् । गीतको भिडियोमा गायिका बबिना भट्टराई र गायक जगदिश समाललाई देख्न पाइन्छ । भिडियो जस्केलो क्रियशनको परिकल्पना र निर्देशनमा तयार भएको हो ।

हाल अमेरिकामा रहेका चर्चित गायक जगदिश समाल नेपाल आएका बखत रेकर्ड गरिएको प्रेमिल गीत ‘फूल जस्ती माया’मा बबिना भट्टराई संग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै जगदिश समालले आफ्नो फेसबुकमा गीतको लिंक शेयर गरेका छन् । बबिना भट्टराईको विश्वास प्रति कृतज्ञ हुदै यति मीठा प्रेमिल भावका शब्दहरु गाउन पाएकोमा उनले खुसी व्यक्त गर्दै यो प्रेमिल गीत आफ्नो तर्फबाट दर्शक, श्रोताहरुको लागि उपहार भएको र गीतले दर्शक, श्रोताको माया पाउने उनले विश्वास व्यक्त गरेका छन् ।

आफ्नो जादुमय स्वर र संगीतले नेपाली श्रोताहरुको मनमा बस्न सफल गायिका तथा संगीतकार बबिना भट्टराईले पछिल्लो समय गीति लेखनमा पनि आफ्नो उपस्थिति जनाउदै आएकी छिन् । केहि समय अगाडि नै ‘फूल जस्ती माया’ बोलको गीतको स्थायी लेखेकी उनले जगदिश समाल नेपाल आएको थाहा पाए पछि उनी संग सहकार्य गर्ने रहर मनमा उब्जियो, हतार हतार गीतको शब्द तयार गरेर, आफैले गीतमा संगीत भरेर जगदिश समाल संग गाउने चाँजोपाजो मिलाइन् । आफ्नो छोटो नेपाल बसाईको क्रममा अन्य धेरै गीत सहित ‘फूल जस्ती माया’ मा आफ्नो स्वर सहित भिडियोमा पनि जगदिश समालले आँफूलाई प्रस्तुत गरे । सरल स्वभावका जगदिश समाल संगको सहकार्यमा प्रेमिल गीत ‘फूल जस्ती माया’ आफ्नै शब्द, संगीत र स्वरमा आफ्नै युट्व च्यानल मार्फत सार्वजानिक गर्न पाएकीमा आफ्नो एउटा रहर र चाहना पुरा भएको बबिना बताउँछिन् । आफ्ना अन्य गीतहरुलाई जस्तै ‘फूल जस्ती माया’ ले पनि दर्शक श्रोताहरुको माया पाउने उनले विश्वास व्यक्त गरेकी छिन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो चारु मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो चारु गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् । स्वर र संगीतको साथसाथै शब्द लेखनमा पनि उनको क्षमता रहेको ‘फूल जस्ती माया’ ले प्रमाणित गरेको छ ।

गीत
केटा : फूल जस्ति माया जून जस्ति माया
के उपहार दिउ भन तिमीलाई ….
मेरा लागि इश्वर संग मागु तिमीलाई …

केटी : माया दिए पुग्छ, टाढा नजाऊ मन दुख्छ
केहि उपहार चाहिदैन
जुनी भरी मलाई छोडि जान पाइदैन

केटी : तिमी नै मेरो खुसी हौ तिमी नै मेरो संसार
केटा : तिमी सङ्गै बसाउँछु मायाको सुन्दर घरबार
केटी : तिमीलाई चाहे
केटा : तिमीलाई पाए
केटा : अरु को छ र
केटी : ए मेरो मनको हजुर

केटा : लज्जालु त्यो हेराई राम्रो, मुहार तिम्रो चन्द्रमा
केटी : रुपको त के भर हुन्छ र ? सुन्रता हुन्छ मायामा
केटा : तिमी मेरी बन
केटी : तिमी फेरि भन
केटा : अरु को छ र
केटी : ऐ मेरो मनको हजुर…..

प्रतिक्रिया